+
+
Shares

बालेनका पिता डा. शाह थिए एक अब्बल आयुर्वेद चिकित्सक

आयुर्वेद विभागमा निमित्त महानिर्देशकको रूपमा र नरदेवी आयुर्वेद अस्पतालमा पनि उनले केही समय सेवा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १८:०६

१५ मंसिर, काठमाडौं । लामो समयदेखि मधुमेह र पिसाबसम्बन्धी जटिलताबाट पीडित वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण शाहले सोमबार मध्यान्ह अन्तिम सास लिए ।

उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता हुन् । मेयर बालेनका बुवा भएकाले   धेरैले  सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलीका शब्द व्यक्त गरे ।

तर, बालेनका पिताको परिचयभन्दा धेरैमाथि उनी नेपालको आयुर्वेद क्षेत्रका एक अब्बल आयुर्वेद चिकित्सक र संस्थागत विकासमा महत्वपूर्ण योगदान दिने व्यक्ति पनि थिए ।

डा. शाहले उच्च शिक्षा भारतको गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरबाट पूरा गरेका थिए ।  उनले काय चिकित्सा विषयमा एमडी गरे । चिकित्सा आयुर्वेदको आन्तरिक रोगसँग सम्बन्धित महत्त्वपूर्ण शाखा हो, जसमा शरीरका विभिन्न प्रणालीका रोगहरूको उपचार गरिन्छ ।

वि. सं  २०४३ बाट उनले सरकारी सेवामा प्रवेश गरेका थिए ।  त्यतिबेला आयुर्वेद विभाग भर्खरै संस्थागत हुँदै गरेको समय थियो ।  नन–ग्रेजुएट पदबाट सुरु गरेपनि उनले आफ्नो योग्यता र समर्पणले क्रमश: माथिल्लो पदसम्म पुग्ने अवसर पाए ।

डा. शाहले आफ्नो सेवाकालमा विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे ।  उनी आयुर्वेद वैद्यखानाको प्रबन्ध निर्देशकको रूपमा करिब चार वर्ष कार्यरत रहे ।

त्यसैगरी आयुर्वेद विभागमा निमित्त महानिर्देशकको रूपमा र नरदेवी आयुर्वेद अस्पतालमा पनि केही समय सेवा गरेका थिए ।

डा. शाहसँग आयुर्वेद वैद्यखानामा करिब डेढ वर्ष सँगै काम गरेका आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. श्याममणि अधिकारी उनको कार्यशैलीको प्रंशसा गर्छन् ।

डा. अधिकारीले शाहको कार्यशैलीको सम्झना गर्दै भने, ‘उहाँमा जहिल्यै पनि संस्थालाई सुधार गर्नुपर्छ भन्ने भावना थियो ।’

वैद्यखानाका निर्देशक डा. प्रदीप केसी शाहलाई सच्चा आयुर्वेद प्रेमी भएको बताउँछन् ।

‘उहाँ आयुर्वेदको एकदम हिमायती हुनुहुन्थ्यो । आयुर्वेदको उन्नति र प्रगति होस्, यसलाई सही बाटोमा हिंडाउनुपर्छ भन्ने धारणा थियो,’ डा. केसीले भने ।

निष्ठापूर्वक काम गर्ने डा. शाह वैद्यखानाका लागि फर्निचर र अफिस सामग्री आफैं डिजाइन गरेका थिए ।

‘उहाँले २०५८–५९ सालमा बनाउनुभएका फर्निचर आज २४ वर्षपछि पनि हामी प्रयोग गरिरहेका छौं,’  डा. केसीले भने, ‘उहाँले आफैं काठका मिस्त्रीलाई लिएर कुर्सी, टेबुल, सोफा र दराज बनाउनुभएको थियो ।  त्यो गुणस्तर आजको युगमा दुर्लभ छ ।’

मधुमेह र पिसाबसम्बन्धी समस्याले डा. शाहको स्वास्थ्यमा असर पारेको थियो ।  आयुर्वेद चिकित्सामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका शाहको ७७ वर्षमा निधन हुँदा आयुर्वेद जगतले एक महत्वपूर्ण स्तम्भ गुमाएको छ ।

चार दशकभन्दा लामो समय सरकारी सेवामा रहेर, विभिन्न महत्त्वपूर्ण पदमा बसेर आयुर्वेद विभागलाई अघि बढाउन उनले गरेको योगदानको स्मरण भइरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?