+
+
Shares
चित्रबहादुर केसीको नजरमा एमाले महाधिवेशन :

‘ओली आउँछन् कि को आउँछ भन्नेमा नजाऊँ, एमालेको नीति उही हो’

केही गरी ओली नआएर ईश्वर पोखरेल आए पनि त्यही बहुदलीय जनवादकै नारा लगाइराखेका छन्, त्यसकारण जो आए पनि खासै असर पर्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ९:२१

नेकपा एमालेको नीति र नेतृत्वलाई आलोचनात्मक रूपमा हेर्ने एक कम्युनिस्ट नेता हुन्– चित्रबहादुर केसी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसी जनताको बहुदलीय जनवाद (जबज) लाई सोभियत नेता निकिता ख्रुश्चेभको संशोधनवादी नीतिबाट प्रभावित विचलन भन्छन् । नाम कम्युनिस्ट राखेर पनि एमालेले पूँजीवादी तथा साम्राज्यवादी शक्तिहरूको एजेन्डा कार्यान्वयन गर्दै प्रतिगामी शक्ति (राप्रपा) सँग सहकार्य गरेको उनको आरोप छ ।

लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र कम्युनिस्ट चरित्रलाई कडाइका साथ लागू नगरुन्जेल एमालेबाट नयाँ जनवादी क्रान्ति सम्भव नहुने, बरू यो देशभक्त प्रजातान्त्रिक शक्तिका रूपमा मात्र रहने केसीको बुझाइ छ।

केसी त एमालेमा कम्युनिस्ट चरित्र नै नरहेको टिप्पणी गर्छन्। ‘व्यवहारबाट जनताले कांग्रेस र एमाले फरक हुन् भनेर महसुस गर्न सक्नुपर्छ’ भनेर बताउने उनै केसीसँग एमालेको ११औं महाधिवेशन केन्द्रित रहेर अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानी:

 एउटा ठूलो कम्युनिस्ट पार्टी एमालेको महाधिवेशनलाई कसरी हेर्नुभएको छ ?

सबैभन्दा पहिले, कम्युनिस्ट पार्टी भन्नुभयो, यसकारण यसबारे स्पष्ट हुन आवश्यक छ। विश्व कम्युनिस्टमा ख्रुश्चेभले पूँजीवादको बाटो समातेपछि संसारभरका कम्युनिस्ट पार्टीहरूमा त्यस खालको प्रभाव पर्‍यो, जो नेपालसम्म पनि आयो। यस अन्तर्गत हामी एमालेलाई लोकतन्त्रको लागि, गणतन्त्रको लागि लडेको एउटा देशभक्त प्रजातान्त्रिक शक्ति भन्छौं। तर, कम्युनिस्ट पार्टी हो भन्दैनौं। नाम राखेर मात्रै कुनै पार्टी, कुनै व्यक्तिहरू कम्युनिस्ट हुँदैनन्। कम्युनिस्ट हुनलाई उनीहरूको आचरण, चरित्र त्यस अनुसार हुनुपर्छ।

जतिबेला ख्रुश्चेभले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त त्यागे, पूँजीवादी बाटो समाते, त्यसपछि त्यसलाई मानेर अगाडि बढ्नेहरू अहिले पनि आफूलाई समाजवादी, कम्युनिस्ट भन्न छाड्दैनन्। यसभित्रकै एउटा पार्टी हो– एमाले। तैपनि नेपालको सन्दर्भमा लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा यसको भूमिका छ। लोकतन्त्र, गणतन्त्रको लागि लड्यो, यो राम्रो पक्ष हो, सकारात्मक पक्ष हो।

 एमाले कसरी कम्युनिस्ट होइन ? समय अनुसार नीति र सिद्धान्तहरूलाई व्याख्या गर्दै अगाडि बढ्नु कम्युनिस्ट नै नहुनु हो र ? मार्क्स, लेनिनको समय र अहिले धेरै कुरा बदलिइसकेका होलान् ?

यही त कुरा छ। एमालेको सकारात्मक कुरा– लोकतन्त्र, गणतन्त्रको लागि उनीहरू लडे। यो राम्रो पक्ष हो। तर, कम्युनिस्ट आन्दोलनबाट उनीहरू विचलित भएको त धेरै पहिले हो। मदन भण्डारीकै पालादेखि कम्युनिस्ट आन्दोलनबाट विचलित भएका हुन्, अहिलेको एमालेमा रहेका नेतृत्वलाई मात्रै भन्ने कुरा छैन। त्यो बहुदलीय जनवाद भनेको संसदीय प्रणालीबाट समाजवाद हुँदै साम्यवाद ल्याउने कुरा हो। यो भनेको ख्रुश्चेभको लाइन हो। संसद्बाट बहुमत प्राप्त गरेर समाजवाद, साम्यवाद ल्याउने भनेपछि कम्युनिस्ट आन्दोलनको आधारभूत सिद्धान्त कहाँ रह्यो त? यो कम्युनिस्ट आन्दोलनबाटै विचलन हो।

 मदन भण्डारीले अगाडि सारेको जबजले एमालेलाई राज्यशक्ति वरिपरि राख्दै निरन्तर अगाडि बढायो । तपाईंले नेतृत्व गर्नुभएको पार्टी सत्तामा हस्तक्षेप गर्न सक्ने अवस्थामा छैन। अब कुन लाइन ठीक ?

सत्ताको कुरा छैन। कम्युनिस्ट आन्दोलनको आधारभूत सिद्धान्तको कुरा हो। यसबाटै विचलित हुने कुरालाई ठीक र बेठीक भन्ने कुरा नै रहेन। यो त कम्युनिस्ट आन्दोलनबाटै विचलन हुनु हो।

मदन भण्डारीसँगै पनि यो विषयमा बहस हुन्थ्यो होला ! कस्ता थिए उनका तर्क वा व्याख्या ?

उहाँसँग दुई तीन राउण्ड नै छलफल भयो। मदन, जीवराजसित म सँगै पनि बसेको छु। हामी संयुक्त पनि बसेका छौं, मिलेका विषयमा सहकार्य पनि गरेका छौं। टनकपुर सम्झौताको बारेमा म, मदन, जीवराज, निर्मल लामा, रोहितहरू सँगै बसेका छौं।

 ती बसाइहरूमा मदन भण्डारीले जबज यसकारण ठीक छ भन्थे होलान् नि ?

लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट ख्रुश्चेभ पतन भएसँगै त्यसको असर संसारभरकै कम्युनिस्ट आन्दोलनमा पर्‍यो। कमरेड माओले चाहिं बाँचुन्जेल संशोधनवादको विरोध गरे। त्यसको असर चिनियाँ कम्युनिस्ट पार्टीमा पनि पर्‍यो, भारतको कम्युनिस्ट पार्टीमा पनि पर्‍यो। संसारभरका कम्युनिस्ट पार्टीले पूँजीवादी बाटो पक्रिहाले। रूसले पूँजीवादी बाटो, उदारवादी बाटो समातेपछि त्यतै गए। मदन पनि त्यसबाटै प्रभावित हुनुभयो। भेटमा त्यही कुरा हुन्थ्यो। म संशोधनवाद गलत हो भन्थें।

तपाईंको शब्दमा मदन भण्डारीले ख्रुश्चेभको लाइन लिए, एमाले एउटा शक्ति सहित नेपालको राजनीतिमा स्थापित छ । तर आफ्नो उद्देश्य अनुसार राज्यका संयन्त्रहरू परिचालन गर्ने सन्दर्भमा शक्तिका हिसाबले तपाईंहरू कमजोर अवस्थामा हुनुहुन्छ। यसलाई कसरी तुलना गर्नुहुन्छ ?

धेरै मान्छे जम्मा भएको देख्ने र त्यसलाई मात्रै मान्ने हो भने कांग्रेस छँदैछ नि, किन चाहियो अर्को पार्टी? नाम कम्युनिस्ट राख्ने, काम कांग्रेसको नीति अनुसार गरेर त भएन नि!

पार्टीको शक्ति र चुनावको कुरा गर्नुहुन्छ भने पार्टी खोलेको चार महिनामा रास्वपा सङ्घीय संसद्मा चौथो पार्टी भएर आयो। त्यो किन आयो भन्ने प्रश्न होइन र? कि प्रश्न कति ठूलो पार्टी छ भन्ने मात्रै हो?

यसकारण कति सिट ल्याए, संसद्मा कस्तो उपस्थिति छ भन्ने प्रश्नले अर्थ राख्दैन। जब कम्युनिस्टको आधारभूत सिद्धान्तबाट पतन भइन्छ, तब त्यसको अर्थ हुँदैन। नाम कम्युनिस्ट पार्टी राखेर पूँजीवादी बाटो हिंड्ने हो भने त्यो पूँजीवादी शक्तिभन्दा कसरी फरक भयो त? यही कुरा नेपालले भोगिरहेको छ– लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट पतन भए, तर नाम कम्युनिस्ट पार्टी राखिरहे। उनीहरू पूँजीवादी बाटो हिंड्ने हो र साम्राज्यवादी, पूँजीवादीहरूको एजेन्डा कार्यान्वयन गर्ने हो।

 सरकारमा पुगेर जनता केन्द्रित कार्यक्रम ल्याएर एमाले आफू स्थापित छौं भन्छ। जनतालाई यो वा त्यो सिद्धान्त भन्दा अवस्था परिवर्तनको कुरा ठूलो हुने रहेछ, होइन र ?  

बढी कुरा गरिरहनै पर्दैन। एमालेहरू सुधारवादीहरू हुन्। यसकारण उनीहरूले लोकप्रिय कुरा ल्याउनु स्वाभाविक हो। तर, उनीहरूबाट नयाँ जनवादी क्रान्ति हुने कुरा छैन। साम्राज्यवाद, सामन्तवादको विरोध गर्न सक्ने खुबी उनीहरूसँग छैन। कतिपय एनजीओ/आईएनजीओबाट परिचालित छन्, यो त सबैले देखे, भोगेको छ।

तपाईंले के आधारमा एमालेलाई संशोधनवादी भन्नुभएको ? 

एमाले झापा आन्दोलनको पृष्ठभूमिमा स्थापना भएको पार्टी हो। उनीहरूले उग्र गतिविधि गरेका थिए। त्यो लामो समय टिकेन। झापामा भएको उग्र वामपन्थी गल्तीलाई उनीहरूले दश वर्षपछि स्वीकार गरे। यही कुरा प्रचण्डहरूले भने स्वीकार गरेका छैनन्। यसकारण एमालेको एउटा सकारात्मक कुरा– झापामा नक्सलवादीको नक्कल गर्नु उग्रवामपन्थी भड्काव नै हो, गल्ती हो भनेर स्वीकार गरे।

यो महाधिवेशनबाट तेस्रो कार्यकालका लागि केपी शर्मा ओली नै दोहोरिन खोजिरहेका छन् भने ईश्वर पोखरेल उनीसँग प्रतिस्पर्धामा उत्रँदैछन् । नेतृत्वमा को आउँदा एमाले कता जान सक्छ ?

नेतृत्व को आउँछ भन्ने प्रश्नभन्दा ज्यादा कस्तो नीति लिएका छन् र व्यवहार कस्तो छ हेर्नुपर्छ। राप्रपा जस्तो प्रतिगामीलाई त पटक–पटक बोकेर हिंडेका छन्। २०५१/५२ सालमा कांग्रेसले सूर्यबहादुरलाई बोक्यो, एमालेले लोकेन्द्रबहादुरलाई बोक्यो र प्रधानमन्त्री नै बनाए। व्यावहारिक पृष्ठभूमि यस्तो छ।

भदौ २४ मा जुन ध्वंस भयो, त्यसमा राजावादीहरू पनि छन्। यो प्रतिगामी शक्तिको संरक्षण गर्ने को त ? २०७९ सालको चुनावैमा पनि त एमालेले राप्रपा बोक्यो। यो अवसरवादी बाटो हो। जसले बारम्बार नेपाली जनतामाथि सामन्ती शासन गर्‍यो, उही कम्युनिस्टको सहकर्मी दल ? २०१७ सालमा तत्कालीन राजा महेन्द्रले संसद् खाइदिए, कु गरे। प्रतिगामीहरूलाई मलजल गर्ने र उनीहरूलाई संरक्षण गर्ने काम एमालेहरूले गर्दै आएको छ।

खासगरी लोकतन्त्र र गणतन्त्रको लागि कांग्रेस, एमाले, माओवादी र हामीहरू सबै लडेका थियौं। त्यही लडेर ल्याएको लोकतन्त्रविरोधी, गणतन्त्रविरोधी राप्रपासित सहकार्य गर्नु राष्ट्रवादी हो त ?

कांग्रेस, एमाले, माओवादीहरू नेपालमा लोकतन्त्रका लागि लडे । इतिहासमा यो योगदान छ । तर, राप्रपा जस्तो प्रतिगामी पार्टी बोकेर हिंड्ने, सक्दा र शक्तिको लागि जे पनि गर्न थाले, यो गल्ती हो । दलहरूको यही गल्तीको असर नेपालमा परिराखेको छ।

एमालेले नबोकेको भए राप्रपा टुङ्गिसकेको थियो। एमालेले नै उनीहरूसित सहकार्य गर्‍यो र राप्रपा बढाउन भूमिका खेल्यो।

 संसद्मा एमाले नेताहरूसँग सवालजवाफ गरिरहनुभएको हुन्छ। कस्ता कुराले बढी छुन्छ र विरोध गरौं वा सम्झाउँ भन्ने लाग्छ ?

उनीहरूले राम्रो गर्दा स्याबास् भन्नेमा मै अगाडि हुन्छु। तर, मुलुकलाई गम्भीर असर पर्ने नै कुरा पनि आउँछन्। कम्युनिस्ट भन्ने र व्यवहार त्यस्तो नहुँदा के गरेको भन्छु र भन्दै आएको छु।

उदाहरणका लागि केपी ओलीले दुई पटक संसद् विघटन गर्नुभयो। आफ्नो पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न नसकेर त्यो गरेको हो। नैतिकता, कम्युनिस्ट आचरण, प्रवृत्ति कहाँ छ त खै ? त्यतिसम्म त नगरे हुने नि !

पार्टीभित्रको समस्या अन्यत्र पोख्ने हो, होइन नि ! अर्को दलभन्दा फरक हुनको लागि अर्कोले जे गर्‍यो त्यो गर्न हुँदैन। गिरिजाप्रसाद कोइरालाले कांग्रेसभित्रको समस्या समाधान गर्न नसकेर एकचोटि संसद् विघटन गरे। त्यही कुरा ओलीले गर्नुभयो।

अब अहिले प्रतिनिधिसभा विघटन कसले गर्‍यो ? सीआईएले गर्‍यो, सीआईए र रअले मिलेर सरकार बनाएको छ। यस्तो वातावरण कसरी बन्यो भन्दा कांग्रेस र कम्युनिस्टको व्यवहार एकै हुनु, सबै पार्टी एकै जस्तो हुनु, आन्तरिक समस्या आफैं समाधान गर्न नसक्नु पनि त हो।

कांग्रेस, एमाले, माओवादीहरू नेपालमा लोकतन्त्रका लागि लडे। इतिहासमा यो योगदान छ। तर, राप्रपा जस्तो प्रतिगामी पार्टी बोकेर हिंड्ने, सक्दा र शक्तिको लागि जे पनि गर्न थाले, यो गल्ती हो। दलहरूको यही गल्तीको असर नेपालमा परिराखेको छ।

एमालेलाई राष्ट्रवादी पार्टीको रूपमा लिनेहरू पनि छन्। खालि नकारात्मक पक्ष हेरेर मात्रै सही निचोडमा पुगिन्छ त?

सकारात्मक पक्षहरू पनि भनें त ! लोकतन्त्र, गणतन्त्रका लागि लडेका देशभक्त प्रजातान्त्रिक शक्ति हुन्। झापामा भएको उग्र वामपन्थी गल्तीलाई स्वीकार गरे, यो पनि राम्रो कुरा हो। राष्ट्रियताको बारेमा बीच–बीचमा अडान पनि लिएका छन्। तर, एमसीसी बोके।

त्यसो भएर मैले भनेको– वामपन्थीहरूले साम्राज्यवादीहरूको एजेन्डा बोक्दैनन्। जे गफ गरे पनि साम्राज्यवादीहरूको एजेन्डा बोकेर कम्युनिस्ट भइँदैन। साम्राज्यवादीहरूको एजेन्डा बोक्न कांग्रेस छँदैछ नि ! किन चाहियो अरू पार्टी ?

 तैपनि कुन नेतृत्व आउँदा तुलनात्मक रूपमा अलि राम्रो होला भन्ने लाग्छ ?

जो आए पनि उस्तै हो। एमालेको नेतृत्वमा माधवकुमार नेपाल देखियो, झलनाथ पनि देखियो। एमाले सहितको नेकपामा प्रचण्ड र बाबुराम सबै देखियो। अबको एमालेको सन्दर्भमा पनि जो आए पनि बहुदलीय जनवादको माला जपिराखेकै छन्।

एमालेले बुझ्नुपर्छ– लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई कडाइपूर्वक कार्यान्वयन नगरेको भए भियतनामबाट अमेरिका लखेटिने थिएन । जबज जस्तै नीति भियतनाममा हो चि मिन्हले बोकेको भए, माओत्सेतुङले बोकेको भए, किम जोङले कोरियामा बोकेको भए अमेरिका लखेटिने थिएन ।

केही गरी ओली नआएर ईश्वर पोखरेल आए पनि त्यही बहुदलीय जनवादकै नारा लगाइराख्ने छन्, त्यसकारण जो आए पनि खासै असर पर्दैन । व्यक्तिगत रूपमा केही तल–माथि हुने कुराले नीति बदलिने देखिंदैन। नीति नबदलेपछि उनीहरूले शक्ति राष्ट्रहरूका एजेन्डा नै कार्यान्वयन गर्ने हो।

एउटा कम्युनिस्ट नेताको रूपमा तपाईं कस्तो एमाले होस् भन्ने सोच्नुहुन्छ?

एमालेहरूले सङ्गठन विस्तार गरेका छन्, जसको सही सदुपयोग जनताको हितमा गर्न सकिन्छ। तर, यसमा ठूलो रकम लगानी भएको छ। एनजीओ/आईएनजीओको कुरा छ। सिद्धान्त र नीतिलाई तिलाञ्जली दिएर काम गर्दा कांग्रेस र एमालेमा हामीले भिन्नता के पाउने ? नेपाली जनताले कांग्रेस र एमालेमा भिन्नता पाउन सके त्यो मुलुकको हितमा हुन्छ। भ्रष्टाचार गर्नेमा प्रतिस्पर्धा छ। एनजीओ/आईएनजीओबाट रकम लिएर पार्टी विस्तार गर्ने कुरामा प्रतिस्पर्धा नै छ। भनेपछि त मुलुक त अप्ठ्यारो स्थितिमा छ।

एमालेसँग लामै संगत भयो। त्यसो भएर हामी एमालेलाई देशभक्त जनतान्त्रिक शक्ति भन्छौं। कतिपय कुरामा कांग्रेसको समकक्षीकै रूपमा हामीले एमालेलाई राखेका छैनौं। व्यवहारबाट जनताले कांग्रेस र एमाले फरक हुन् भनेर महसुस गर्न सक्नुपर्छ।

तर, हामी एमालेलाई कम्युनिस्ट होइनन् भनेर खुलेआम भन्छौं। लेनिनवादी संगठनात्मक सिद्धान्तलाई उनीहरूले तिलाञ्जली नै दिए। नाममा लेनिनवादी राखेर झुक्याउने काम गरिरहेका छन्। यो जनतालाई बेवकुफ बनाउने कुरा हो।

एमाले लोकतन्त्र, गणतन्त्रको लागि लड्यो। यदाकदा राष्ट्रियताको बारेमा पनि उनीहरू लड्छन्। लेनिनवादी संगठनात्मक सिद्धान्तलाई कडाइपूर्वक कार्यान्वयन गर्नेतिर जानु नै कम्युनिस्ट आन्दोलनको हितमा छ।

एमालेले बुझ्नुपर्छ– लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई कडाइपूर्वक कार्यान्वयन नगरेको भए भियतनामबाट अमेरिका लखेटिने थिएन । जबज जस्तै नीति भियतनाममा हो चि मिन्हले बोकेको भए, माओत्सेतुङले बोकेको भए, किम जोङले कोरियामा बोकेको भए अमेरिका लखेटिने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?