+
+
WC Series
Won जनकपुर बोल्ट्स 2025
180/4 (17.3)
VS
Janakpur Bolts won by 6 wickets
चितवन राइनोज 2025
176/4 (20)
Shares

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक भोलि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १४:५७

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टीले २६–२८ पुसमा महाधिवशेन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठ बस्न लागेको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।

उनले बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको पनि बताए ।

‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उद्दारतालाई तलसम्म पुर्‍याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ नेता रसाइलीले भने ।

उनले समितिले अहिलेसम्म क्रियाशील सदस्यताबारे भएका कामहरूलाई लिपीवद्ध गर्ने र त्यसको प्राविधिक पाटोलाई सहज गरेर व्यवस्थापन गरिने पनि बताए ।

कांग्रेसले आसन्न १५ औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो ।

व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

महामन्त्री थापाले १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति समक्ष पेस गरेको प्रतिवेदनअनुसार झन्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन् ।

केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट तीन लाख नौ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको उनको प्रतिवेदनमा उल्लेख थियो ।

जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत् प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ ।

महामन्त्री थापाले बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको थियो, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएकेको छ ।’

२७ जिल्लामा (केही वडाबाहेक) तहगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अर्थात् ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ,’ महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘सिस्टममा इन्ट्री गर्न बाँकी छ ।’

१६ वटा जिल्लामा (केही वडाबाहेक) वडाबाट क्रियाशील सदस्यता नवीकरण भएर तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काममा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गरेका थिए । उनका अनुसार अहिले ती जिल्लाहरूमा वडाबाट विवरण संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?