१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।
‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई सोमबार परिपत्र गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारकोे बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देश गर्ने भनी गरेको निर्णयअनुसार प्रतिनिधिसभा लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि परिपत्र गरिएको मुख्य सचिव पौडेलले बताएका छन् ।
प्रतिक्रिया 4