१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्यका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएको छ ।
३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले यस्तो बताएका हुन् ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यसका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक रुपले समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने लक्ष्य लिएको छ ।
अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै उनीहरूलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने संविधानको मर्म भएको उल्लेख गर्दै अर्यालले भनेका छन्, ‘तर, व्यवहारिक कार्यान्वयनको पाटो अझै फितलो छ ।’
यसमा सुधार गर्दै राज्यका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा रास्वपाका कार्यवाहक सभापति अर्यालको जोड रहेको छ । उनी लेख्छन्, ‘हामी चाहन्छौं– राज्यका हरेक नीति–निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता होस् ।’
शिक्षा, स्वास्थ्य र रोजगारीमा उनीहरूको सहज पहुँच स्थापित गर्न र उनीहरूमा अन्तर्निहित प्रतिभालाई राष्ट्र निर्माणमा उपयोग गर्न पार्टी सदैव प्रतिबद्ध रहेको पनि भएको छ । विशेष गरी प्रविधिको प्रयोगमार्फत् अपांगता भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउन र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड रहेको छ ।
प्रतिक्रिया 4