१७ मंसिर, काठमाडौं । प्रकाश नढलेका भए यतिबेला कतारमा हुने थिए । तर तीन महिनायता उनी ट्रमा सेन्टरको शय्यामा छन् । २३ भदौपछि प्रकाशको प्रकाश नै बदलियो । ‘यसले देशको माया मान्यो । रगत बगायो,’ आमा नन्द बोहराले सुनाइन् । दैलेख नारायण नगरपालिका–८ का प्रकाश बोहरा पनि २३ भदौमा जेनजी आन्दोलनमा होमिएका थिए । नयाँ बानेश्वरमा गोली लागेर ढलेका थिए । आन्दोलनमा रक्ताम्य भएको जुत्ता प्रकाशको थियो ।
जुत्ता जेनजी आन्दोलनको आइकन बनिरहँदा उनी भने अस्पतालको शय्यामा आशा र निराशाको दोसाँधमा देखिए । ‘तीन महिना पुग्न लाग्यो । खुट्टा राम्रोसँग चलेको छैन,दायाँबायाँ हुदैन । थेरापीले ठिक हुन्छ कि,’ उनी मलिन सुनिए ।

प्रकाशको मेजर र माइनर गरेर चार वटा अप्रेसन भयो । अब डिस्चार्ज हुने तयारीमा छन् । ‘१४ दिन आईसीयू । त्यसपछि एचडीयू हुँदै अहिले क्याबिनमा छु । अब डिस्चार्ज हुने योजना छ,’ उनले भने ।
त्यसपछि जीवनको लय कता मोडिने हो अनिश्चयमा छन् प्रकाश । खुट्टामा रड हालेको छ । हड्डी भाँचिएको छ । ‘खुट्टा जोगाउन अप्रेसन गरेर रड राखेको छ । डेढ वर्षपछि अर्को अप्रेसन गर्नुपर्छ । नसा तान्न मिलेको छैन । खुट्टा छोटो भएको छ,’ परिवर्तनका लागि गोली खाएकोमा मन ठूलो बनाउँछन् प्रकाश ।

र, २३ भदौमा फर्किन्छन् उनी ।
आन्दोलन अघि सामाजिक सञ्जालमा नेपोबेबी अभियान चलिरहेको थियो । देशको बेथिति देखेर प्रकाशलाई भित्रैदेखि रिस उठ्थ्यो । बेथितिविरुद्ध प्रकाश र उनको सालो भाइ विप्लव १२ बजेतिर माइतिघर पुगे । बाइक पार्किङ गरेर नयाँ बानेश्वरतर्फ लागे । नारा जुलुसमा सहभागी भए । बानेश्वर पुग्दा अश्रुग्यास प्रहार भइरहेको थियो । उनी फर्किएर बिजुलीबजारतिर आए । ‘फेरि फर्किएर बानेश्वरतर्फ नै गएँ,’ उनले भने ।
कोही युवा संसद् भभवनको पर्खालको इँट्टा निकालिरहेका थिए । कोही रेलिङ तानिरहेका थिए । एउटा रेलिङ झुन्डिरहेको थियो । त्यो रेलिङ तान्न प्रकाश अगाडि सरे । ‘ड्वाङ् गोली चल्यो । मेरै खुट्टामा लागेछ । सर्न खोजेको सकिन,’ उनीसँगै गएको उनको सालो भाइले खिचेको भिडियो देखाउँदै उनले भने ।

एकजानले गोली लागेको खुट्टामा लगाएको जुत्ता खोल्देउ न भनेको उनलाई याद छ । त्यही जुत्ता बानेश्वर चोकमा थियो । जुन जुत्ता आन्दोलनको आइकन बन्यो । उनको त्यो जुत्ता हामीले कैद गरेका थियौं । अस्पताल पुग्दासम्म उनी होसमै थिए । ‘अप्रेसन थियटरमा लगेपछि केही थाहा भएन,’ उनले भने ।
८ दिनपछि सालो भाइ प्रकाशलाई भेट्न अस्पताल पुगे । ‘भिनाजु जुत्ता त भाइरल छ नि,’ बल्ल प्रकाशले थाहा पाए । खुट्टामा गोली लागेको छ । उनले खासै वास्ता गरेनन् । तर ११औँ दिनमा अस्पतालको सिस्टरसँग मोबाइल मागेर उनले सामाजिक सञ्जाल खोले । जहाँ उनको रक्ताम्य भएको जुत्ता भाइरल भएको थियो । ‘यसो हेर्छु त जुत्ता त मेरै छ । जतातै भाइरल छ,’ उनी आश्चर्यमा परे ।
उनको रक्ताम्य जुत्ताको शालिकदेखि पोस्टरसम्म बनेको छ । आन्दोलनको बलमा सरकार बनेको पनि ९० दिन पुग्न लाग्यो । ‘तर हामीले चाहेको जस्तो काम भएको छैन । देशका लागि गोली खाएकोमा गर्व लाग्थ्यो । तर अहिले निराशा छाएको छ । सुशासन होला । पहिला नचाख्न पाएको स्वाद पाइएला कि भन्ने थियो, त्यो भएको छैन,’ अस्पतालको शय्यामा उनी सुशासन पर्खिरहेका छन् ।
रुसी सेनाबाट फर्किएका थिए
प्रकाशलाई सानैदेखि आर्मी बन्ने रहर थियो । उनले इन्डियन आर्मीमा पनि गए तर उनको इच्छा पूरा हुन सकेन । एचए अध्ययन गरेका प्रकाशले केही समय प्रोजेक्टमा काम गरे । यहाँ भविष्य नदेखेपछि उनी सन् २०२३ मा विद्यार्थी भिसामा रुस पुगे । जहाँ रुस र युक्रेन युद्ध चलिरहेको थियो । रुस पुगेपछि उनी रुसी सेनामा भर्ती भए । साढे १७ महिना उनी रुसी सेना भएर काम गरे । उनीसँगै भर्ती भएका कति नेपाली साथी त्यतै ढले । कति अंगभंग भए । तर उनी सकुशल काम सकेर नेपाल फर्किए । ‘उता ज्यान जोगियो । नेपाल आएर गोली खाइयो,’ उनले भने ।
अझै उनको ४–५ वर्ष उपचारमै जाने छ । साथमा परिवार छ । तर कसरी चलाउने भन्ने चिन्तामा छन् प्रकाश । ‘मेरो करिअर बनाउने समय थियो । बुनेको सपना एकातिर छ । तर टुटेको महसुस भएको छ । हिँड्न सक्छु कि सक्दिन भनेर मन आत्तिन्छ,’ उनी भन्छन्, ‘डाक्टरले खुट्टा चल्न नि सक्छ नचल्न नि सक्छ भन्नु भएको छ । मनोबल बेलाबेला गिरेको जस्तो हुन्छ ।’
तर उनीसँगै अस्पतालमा आमा, श्रीमती र १७ महिनाको छोरा साथैमा थिए । आमा नन्दले प्रकाशलाई ढाडस दिन्छिन् । ‘हाम्रो आधार नै यही हो । बाबा पनि औषधि खाएर बाच्नु हुन्छ । तिमी सन्चो हुनपर्छ,’ छोरलाई ढाडस दिँदै गर्दा आमाका आँखाबाट आँसु झरे ।
प्रकाश हिँड्न सक्ने हो कि होइन भनेर आमा नन्दलाई पिरोल्छ । ‘लामो उपचार छ । बुबा आमालाई केही गर्ने सोचेको थियो होला । सानो १७ महिनाको छोरो छ । उसलाई पढाउनु पर्ने छ । भोलिका दिनमा के हुने होला । सरकारले हेर्नुपर्ने त हो,’ आमा नन्द सरकारप्रति आशा गर्छिन् ।
फेरि छोराको खुट्टामा जुत्ता लगाउने दिनको प्रतीक्षामा छिन् आमा । ‘गोली खाएर छोराको जुत्ता रक्ताम्य भयो । फेरि खुट्टामा जुत्ता लगाएर हिँड्ने दिन आओस्,’ उनी प्रतीक्षा गर्छिन् ।
आश्वान मात्र कहिलेसम्म ?
आश्वासनको पोका बोकेर सरकारी निकायका मान्छेहरू प्रकाशलाई भेट्न अस्पताल पुग्छन् । गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री पुग्नु पर्ने सबै पुगिसकेका छन् । उनले जेनजी आन्दोलनको घाइतेको कार्ड पनि पाएका छन् ।
तर त्यो कार्डले के काम गर्छ ? सरकारी निकायलाई प्रकाश प्रश्न गर्छन् । तर स्पष्ट जवाफ पाएका छैनन् । ‘म दैलेख घर जान्छु । घर नजिकै जिल्ला अस्पताल छ । त्यहाँ यो कार्डले मेरो उपचार हुन्छ त ? यसबारे सरकारले स्पष्ट भनेको छैन,’ प्रकाश गुनासो गर्छन् । कार्डको औचित्य स्पष्ट पार्न सरकारलाई उनको अनुरोध छ । प्रकाश आफ्मात्र होइन, जेनजी आन्दोलनका शहीद र घाइते सबैको आवाज बोल्छन् ।
‘घाइते र मृत्यु भएकाको परिवारलाई योग्यता अनुसारको सरकारले जागिर दिनुपर्छ । यसमा सरकारले निर्णय गर्नुपर्छ । हाम्रै बलमा बनेको सरकारले केही गरेन भने पहिलाको सरकारकोभन्दा नराम्रो असर पर्छ,’ उनी शय्याबाट सरकारलाई झकझकाउँछन् ।
सरकारलाई प्रश्नैप्रश्न
कतै सरकारले बाटो बिराउँदै गएको त होइन भन्ने संशय छ प्रकाशलाई । ‘आन्दोलनको उपलब्धि खतरामा परेको त होइन ? जेनजीले तपाईंलाई प्रधामनन्त्रीको कुर्सीमा पुर्याए । अहिले बिर्सन भएको त होइन ?,’ उनी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्छन् ।
आन्दोलनको दोस्रो दिन २४ भदौमा कार्कीले दिएको अभिव्यक्तिले प्रकाशको मन बलियो भएको थियो । तर अहिले प्रधानमन्त्री कार्कीको बोली फेरिँदै गएकोमा उनी निराश छन् ।
‘आन्दोलनमा गोली चलाउनेलाई किन कारबाही हुँदैन ? पहिला भ्रष्टाचार पाँच दिनमा रोक्न सकिन्छ भन्नु हुन्थ्यो । अहिले तीन महिना भयो खोइ के भयो ?,’ प्रकाशसँग यतिबेला प्रश्नैप्रश्न मात्र छन् । उनी सरकारसँग सुशानको अपेक्षा राख्छन् । ‘हाम्रो बलिदान यतिकै खेर नजाओस् । अझैं आशा मरेको छैन,’ प्रकाश कुराको बिट मार्छन् ।
प्रतिक्रिया 4