+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कांग्रेस संस्थापनका ‘७ भाइ’ माथि सभापतिको साझा उम्मेदवार खोज्न दबाब

सभापतिका आकांक्षीमध्येका ‘सात भाइ’ माथि एक जनालाई उम्मेदवार बनाएर महाधिवेशनमा जान संस्थापन पक्षका  केन्द्रीय सदस्यहरूले भेला गरेरै दबाब  दिएका छन् ।

केशव सावद केशव सावद
२०८२ मंसिर १७ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पुस १६ देखि २८ गतेसम्म आठ तहमा नयाँ नेतृत्व चयन गर्ने १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
  • संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले पूर्वपदाधिकारीहरूलाई सभापतिको साझा उम्मेदवार छिटो टुंग्याउन आग्रह गरेका छन्।
  • सभापति शेरबहादुर देउवाले सहमति गरेर ल्याएको नामलाई आफूले नकाट्ने वचन दिएका छन् र सबै आकांक्षीलाई सहमति गर्न सुझाव दिएका छन्।

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस डेढ महिना लामो आन्तरिक रस्साकस्सीपछि अन्ततः १५ औं महाधिवशेनमा होमिएको छ । पुस १६ गतेदेखि वडा हुँदै पुस २८ गतेसम्म केन्द्रीय कार्यसमितिसम्मका आठ तहमा नयाँ नेतृत्व चयन गर्ने गरी कांग्रेस महाधिवेशनमा होमिएको हो ।

गत सोमबार (१५ मंसिर) मा केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत कार्यतालिका ल्याएसँगै नेताहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यद्यपि, उनीहरूले उम्मेदवारी र सम्भावित पदबारे मुख भने खोलिसकेका छैनन् ।

केन्द्रीय कार्यसमितिको हकमा नेताहरूको पूर्वतयारी हेर्दा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका देखिन्छन् ।

संस्थापन पक्षबाट पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, प्रकाशमान सिंह र प्रवक्ता डा. प्रकाशशरण महत यस अघिदेखि नै कसरतमा थिए ।

यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि १५ औं महाधिवशेनमा सभापतिका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

कांग्रेसमा पछिल्लो समय ‘सात भाइ’को परिचय बनाएका पूर्वपदाधिकारी र कार्यवाहक सभापति खड्कालाई सभापति शेरबहादुर देउवाका ‘उत्तराधिकारी’का रूपमा हेर्ने जमात कांग्रेस वृत्तमा छ ।

यी आठ जना नेताहरूमध्ये कसले बाजी मार्छन् भन्ने अहिले नै अनुमान गर्न भने मुस्किल नै छ । त्यस्तै महाधिवेशनका लागि उम्मेदावरी दर्ता गर्ने दिनसम्म ‘सात भाइ’ एक ठाउँमा रहन्छन् कि रहँदैनन् अथवा कार्यवाहक सभापति खड्कासहित एउटा टिम बन्छ कि बन्दैन भन्ने प्रष्ट चित्र बनिसकेको छैन ।

छलफलका क्रममा पूर्वपदाधिकारीहरूबाट सभापतिको उम्मेदवार बन्ने नेताको नाम छिटो टुंग्याउन आग्रह गरिएको बत्तिसपुतली बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

तर, यतिबेला सभापतिका आकांक्षीमध्येका ‘सात भाइ’ माथि एक जनालाई उम्मेदवार बनाएर महाधिवेशनमा जान दबाब परिरहेको छ । संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूबाट उनीहरू माथि सभापतिका लागि सहमति गर्नुपर्ने दबाब सिर्जना भइरहेको हो ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सभापतिका आकांक्षी पूर्वपदाधिकारीको समूहलाई मंगलबार बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा बोलाएर साझा उम्मेदवार तय गर्न आग्रह गरेका थिए ।

छलफलका क्रममा पूर्वपदाधिकारीहरूबाट सभापतिको उम्मेदवार बन्ने नेताको नाम छिटो टुंग्याउन आग्रह गरिएको बत्तिसपुतली बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

‘हिजो (मंगलबार) हामीले उहाँहरूलाई छलफलमा बोलाएका थियौं,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘तपाईंहरूबाट सभापतिको उम्मेदवार कसलाई बनाउने हो, छिटो सहमतिमा पुग्नुस् भन्यौं ।’

अर्का केन्द्रीय सदस्यले पनि सात जना पूर्वपदाधिकारी मध्ये कुनै एक जनाको नाममा सहमति जुटाएर अगाडि बढ्न आग्रह गरिएको जानकारी दिए । ती नेताका अनुसार केन्द्रीय सदस्यहरूले उनीहरूलाई एक जनालाई सभापतिको उम्मेदवार बनाउन र बाँकी रहेका शीर्ष नेताले पदाधिकारीमा दाबी नगर्न पनि आग्रह गरेका छन् ।

‘हामीले उहाँहरूसँग दुईवटा कुरा शर्तका रूपमा राख्यौं । पहिलो कुरा, एक जनालाई सभापतिको उम्मेदवार बनाउनुस् भन्यौं,’ ती केन्द्रीय सदस्यले भने, ‘दोस्रो कुरा, सभापतिको उम्मेदवार बनाइसकेपछि अन्य पद (पदाधिकारी) मा तपाईंहरू कोही पनि उम्मेदवारी नदिनुस् । पदाधिकारीमा हामीभित्रैबाट अर्को पुस्ताले उम्मेदवारी दिन्छौं ।’

केन्द्रीय कार्यसमिति बैठक अघि सोमबार निधि–सिटौलासहितका नेताहरूसँगै महाराजगञ्ज पुगेका एक नेताका अनुसार सभापति देउवाले सहमति गरेर ल्याएको नाम आफूले नकाट्ने वचन नै दिएका थिए ।

छलफलमा पूर्वपदाधिकारीहरूले आफूहरू मध्येबाट कुनै एक जना सभापतिको उम्मेदार बन्ने प्रतिवद्धता जनाएका छन् । ‘हामीले सभापतिको उम्मेदवार छिटो निश्चित गर्न आग्रह गरेपछि उहाँहरूले आफूहरू मध्ये एक जनाको नाममा सहमति गर्ने वचन दिनुभयो,’ ती नेताले भने ।

बत्तिसपुतलीको छलफलमा केन्द्रीय सदस्यहरूले पूर्वपदाधिकारीहरूलाई सभापतिको उम्मेदवार बन्ने व्यक्ति प्रधानमन्त्री नहुने आपसी सल्लाह र समझदारी गर्नसमेत सुझाव दिएका छन् ।

‘उहाँहरूलाई हामीले सभापतिको उम्मेदवार बन्ने व्यक्ति प्रधानमन्त्री नहुने, अन्य पदमा बस्नेलगायतका विकल्पमा पनि विचार गर्नुस् भनेका छौं,’ कांग्रेसको एक भ्रातृ संगठनको जिम्मेवारी निर्वाह गरी सकेका केन्द्रीय सदस्यले भने ।

ती नेताका अनुसार संस्थापन पक्षले पूर्वपदाधिकारीहरूलाई सहमतिमा उम्मेदवार टुंगो नलगाए आफूहरू विकल्पमा जान सक्नेसम्मको चेतावनी पनि दिएको छ ।

छलफलमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए । समूहमै रहेका पूर्वमहामन्त्री डा. शशांक कोइराला उपत्यका बाहिर रहेका कारण अनुपस्थित थिए । त्यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ स्वास्थ्यका उपस्थित थिएनन् ।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले सात भाइमध्ये एक जनालाई सहमतिमा उम्मेदवार बनाउन आग्रह गरेको एक दिनअघि सभापति देउवाले पनि आकांक्षी पूर्वपदाधिकारीहरूलाई सहमति गर्न सुझाव दिएका थिए ।

केन्द्रीय कार्यसमिति बैठक अघि सोमबार निधि–सिटौलासहितका नेताहरूसँगै महाराजगञ्ज पुगेका एक नेताका अनुसार सभापति देउवाले सहमति गरेर ल्याएको नाम आफूले नकाट्ने वचन नै दिएका थिए ।

‘तपाईंहरू जसलाई भन्नुहुन्छ म उसैलाई साथ दिन्छु । मेरो कुनै स्वार्थ छैन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंहरू मिलेर आउनुस् । जसलाई भन्नुहुन्छ म उसैलाई सहयोग गर्छु ।’

आशन्न प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन आयोजना गर्ने गरी कार्यवाहक सभापति खड्काले ल्याउने भनिएको कार्यतालिका ‘फेल’ गराउने सूचना पाएपछि सभापति देउवाले उनीहरूलाई छलफलका लागि बोलाएका थिए ।

छलफलका क्रममा संस्थापन पक्षबाट भावी सभापतिको उम्मेदवारबारे कुरा उठेपछि सभापति देउवाले आपसमा सहमति गरेर आउन भनेको ती नेताको भनाइ छ ।

सोमबार महाराजगञ्ज छलफलमा सहभागी नेताहरूमध्येका अर्का एक जनाले सभापति देउवाले दिएको सुझाव पूर्वपदाधिकारीसँगै कार्यवाहक सभापति खड्काको हकमा पनि भएको भएको प्रतिक्रिया दिए ।

‘सभापतिज्यूको कुरा पूर्वपदाधिकारीलाई मात्र भनिएको होइन,’ उनले अनलाइनखबरसँग भने, ‘संस्थापन पक्षका सबै आकांक्षीलाई भन्नुभएको हो । त्यसमा कार्यवाहक सभापति पनि पर्नुहुन्छ ।’

ती नेताले आफूहरूको चाहना कार्यवाहक सभापति र पूर्वपदाधिकारीहरू मध्येबाट कुनै एक जनालाई सर्वसम्मत समूहबाट सभापतिको उम्मेदवार बनाउनुपर्ने रहेको पनि बताए ।

कार्यवाहक सभापति र ‘सात भाइ’ मध्ये एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउन प्रयासरत संस्थापन पक्षले हाल आफ्नो समूहमा ७५ जना केन्द्रीय सदस्यहरू रहेको दाबी गरिरहेको छ ।

जसमध्ये एक दर्जन केन्द्रीय सदस्यहरू बुधबार पनि नयाँ बानेश्वरमा भेला भएका थिए । उनीहरूले समूहलाई एकजुट र एकतावद्ध बनाइराख्न आफूहरू निरन्तर छलफल र भेलाहरू गर्दै आएको बताएका छन् ।

गत सोमबार नै बसेको केन्द्रीय कार्यसमिति बैठकले २६–२८ पुसमा काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकबाट सर्वसम्मत पारित भएको कार्यतालिकाअनुसार १६ पुसमा गाउँ–नगर वडा अधिवेशन हुने छ ।

यस्तै १७ पुसमा गाउँ–नगरपालिका अधिवेशन सम्पन्न गरेर १९ पुसमा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २१ पुसका लागि निर्धारण गरेको छ ।

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २२ पुसमा सकेर कांग्रेसले २३–२४ पुसमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?