News Summary
Generated by OK AI. Editorially reviewed.- आरबीआईले १ सयभन्दा ठूला भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ।
- १ सय भारुसम्मका नोटमा कुनै सीमा नहुँदा, १ सयभन्दा माथिका नोट २५ हजार भारुसम्म ल्याउन पाइने व्यवस्था छ।
- ठूला दरका नोट यात्रा गर्नेले बोकेर ल्याउन पाउने तर पठाउन नपाउने व्यवस्था आरबीआईले गरेको छ।
१८ मंसिर, काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले १ सयभन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ ।
आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन/लैजान पाउने व्यवस्था गरेको हो ।
आरबीआईले गरेको नयाँ व्यवस्था अनुसार १ सय भारुसम्मका नोटमा जतिसुकै रकम पनि भारत भित्र्याउन वा भारतबाट नेपाल ल्याउन पाइने व्यवस्था छ । यसमा कुनै सीमा तोकिएको छैन ।
तर, १ सयभन्दा माथिका नोटका हकमा भने २५ हजार भारुसम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने व्यवस्था आरबीआईले गरेको छ ।
ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था पनि आरबीआईले गरेको छ ।
यसभन्दा अघि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।
भारतले सन् २०१६ मा ठूला दरका भारु नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरका नोट नेपाल ल्याउन/लैजान बन्देज थियो । नेपालले पनि यहाँ रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।
भारतले लगाएको बन्देज खुलाए पनि नेपालका तर्फबाट भने निर्णय हुन बाँकी छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर नेपालमा ठूला दरका भारु पनि चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।
‘भारतले नोटबन्दीपछि लगाएको प्रतिबन्ध विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गरेर खुलाएको छ,’ पौडेलले भने, ‘भारतले खुला गर्यो भन्दैमा चलनचल्तीमा आउने होइन, त्यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ ।’
खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरतासँगै दुवैतर्फ लान र ल्याउन पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक रुपमा लिई प्रतिबन्ध खुलाउने तर्फ जानु उपयुक्त हुने उनको भनाइ छ ।
२०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु सटही दिएन अर्थात् फिर्ता लिएन । त्यो समयमा बंैंकिङ प्रणालीमा मात्र ५ करोड भारु थियो । त्यो नोट साट्नका लागि अझै पनि पहल भई नै रहेको पौडेलले बताए ।
‘भारतले नोटबन्दी गरेका बेला नेपालमा रहेको भारु नसाटिएको विषयले अहिले ती नोट नेपालमा चलाउनबाट रोक्न हुँदैन,’ पौडेलले भने, ‘ल्याउन पाउने तर फिर्ता लान नपाउने भन्दा नेपाली नोटलाई विस्थापित गर्न सक्ने भएकाले नेपालको असहमति थियो तर उताबाट ल्याउन पनि पाइने, यताबाट लान पनि पाइने हो भने हामीले अनुमति दिनुपर्छ ।’
अहिले आरबीआईले नेपालको माग अनुसार नै नीतिगत व्यवस्था गरेकाले त्यो सकारात्मक भएको उनको भनाइ छ ।
यस्तो व्यवस्था नेपाल र भुटानका नागरिकका लागि मात्रै गरेको आरबीआईले पारित गरेको नियमावलीमा उल्लेख छ ।
त्यसैगरी उक्त विनियमावलीले नेपाली रुपैयाँ जति पनि भारतमा बोकेर जान पाइने व्यवस्था आरबीआईले गरेको छ । तर, नेपाली नागरिकले विदेश जाँदा ५ हजार नेपाली रुपैयाँभन्दा बढी लिएर जान नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
ठूला दरका भारु नोट नेपालमा चलनचल्तीमा प्रतिबन्ध गर्दा दुवै देशका पर्यटक तथा व्यवसायीले समस्या भोगिरहेका छन् ।
प्रतिक्रिया 4