+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी : एक जना थुनामा, ६ जना धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको वरपिपल रिसोर्ट जलाएको अभियोगमा एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ६ जनालाई धरौटीमा रिहा गरिएको छ।
  • जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी र तोडफोड भएको थियो र प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
  • रिसोर्टमा ३ पर्यटक गाडी, ३ गेस्ट कार, बार, स्पा, लबीमा आगजनी र तोडफोड भएको थियो र सञ्चालक अमरजंग गुरुङले कुनै नेताको लगानी नभएको बताएका छन्।

१९ मंसिर, पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै पोखराको वरपिपल रिसोर्ट जलाएको अभियोगमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते वरपिपल रिसोर्टमा प्रचण्डको लगानी रहेको भन्दै तोडफोड र आगजनी भएको थियो । प्रहरीले जाहेरीका आधारमा ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलको कार्यालय कास्कीले दर्ता गराएको अभियोगमाथि जिल्ला अदालत कास्कीले १ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले तोडफोड र आगजनीमा संलग्न रहेको अभियोगमा रुपक नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ ।

पोखरा–१७ घारीपाटन बस्ने बडिबिल्डर २९ वर्षीय रुपकको संलग्नता नरहेको पुष्टि हुने आधार नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउँदा महेन्द्र नेपाली र एलिशा गुरुङलाई २ लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थपा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जेनजी आन्दोलनका क्रममा यसअघि १४ जना पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

किटानी जाहेरीका आधारमा प्रहरीले प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी तथा तोडफोड गरेको अभियोगमा ७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको थियो ।

पक्राउ परेका रुपक अर्धनग्न शरीर देखाउँदै होटल जलाउन पुगेको फोटो, भिडियोसहितको प्रमाण प्रहरीले फेला पारेको थियो । उनले पोखरा रंगशालामा प्रशिक्षणसमेत दिने गरेको खुलेको थियो ।

वरपिपल रिसोर्टमा ३ वटा पर्यटक गाडी, ३ वटा गेस्ट कार, रिसोर्टको बार, स्पा, लबी, गेस्ट रूपमा आगजनी तथा तोडफोड भएको थियो । आगजनी तथा तोडफोडपछि लुटपाटसमेत भएको सञ्चालक अमरजंग गुरुङ (जितु)ले बताएका छन् ।

लमजुङका अमरजंग ३० वर्षदेखि पोखरामा पर्यटनको क्षेत्रमा क्रियाशील छन् ।

‘३० औं वर्षको श्रम, पसिना, मिहिनेतबाट, बैंकबाट ऋण काडेर लगानी गरेको हुँ, मानिसहरूले प्रचण्डको लगानी छ भन्दै आजगनी, तोडफोड र लुटपाट मच्चाउँदा भौतिक क्षतिमात्रै भएन तर अफवाहले ब्राण्डमाथि नै क्षतिसमेत पुग्यो,’ जितुले भने, ‘कुनै नेताको यहाँ लगानी छैन । मेरै खुन पसिना छ । तर, हामीले मनोबल कमजोर नपारी गुणस्तरीय सेवा दिइरहेका छौं ।’

जेनी आन्दोलनका क्रममा २४ गते काठमाडौंपछि धेरै सरकारी तथा निजी संरचना क्षति हुने प्रमुख ठाउँमध्ये एक पोखरा हो । पोखरामा २७ प्रहरी चौकी, २७ निजी घर तथा व्यवसाय र १ सय १६ वटा सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?