+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

जनकपुर–ढल्केबर सडकका ३ स्थानमा आकासे पुल निर्माण हुँदै   

पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।    

रासस रासस
२०८२ मंसिर १९ गते १३:४०

१९ मंसिर, धनुषा । मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् ।

पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेका बताए ।

उनले भने, ‘एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।’

इन्जिनियर झाका अनुसार तीन वटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा तीन करोड ४२ लाख रुपैयाँ, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा तीन करोड ३५ लाख रुपैयाँ र सखुवा चोकमा तीन करोड ४५ लाख रुपैयाँमा बनिरहेका छन् । सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकासेपुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । उनका अनुसार यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च आएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए । स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडकखण्डमा ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यकरणमा मद्दत पुग्ने बताए ।

सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?