+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
39/3 (6.6)
Shares

खण्डहर केन्द्रीय कार्यालय आफैं बनाउँदै कांग्रेस

१४ करोड लागत अनुमान, पार्टीभित्रैबाट १६ करोड संकलनको आशा, पार्टीमा आवद्ध भएकाहरूबाट रकम उठाइँदै ।

केशव सावद केशव सावद
२०८२ मंसिर १९ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ भदौको जेनजी प्रदर्शनमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आगजनीबाट ध्वस्त भएको छ।
  • कांग्रेसले भवन पुनर्निर्माणका लागि १६ करोडभन्दा बढी आर्थिक संकलन गर्ने योजना बनाएको छ।
  • पार्टीका विभिन्न तहका कार्यसमितिहरू र प्रतिनिधिहरूलाई आर्थिक सहयोगका लागि परिपत्र गरिएको छ।

१९ मंसिर, काठमाडौं । २३ भदौको जेनजी प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भोलिपल्ट नेताका घर र राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परे ।

ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय पनि आगजनीबाट ध्वस्त हुन पुग्यो ।

कांग्रेसले पार्टीले संस्थापक नेता बीपी कोइरालाको नाममा भवनको नाम राखेको थियो, ‘बीपी स्मृति भवन’ । भवनभित्र पछिल्लो एकाध वर्षमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष सक्रियतामा पुनर्स्थापित गरिएको पुस्तकालय थियो, जहाँ करिब २० हजार ऐतिहासिक पुस्तक थिए ।

आगजनी गरिएकै साता महामन्त्री थापाले ध्वस्त भवनभित्र तयार पारेको भिडियो सन्देशमा त्यो पुस्तकालय ध्वस्त हुँदा आफू सबैभन्दा बढी दु:खी भएको बताएका थिए ।

करिब दुई दिनसम्म लागेको आगोले ध्वस्त बनाएको भवनमै सामान्य पुनर्निर्माणपछि गत असोज २८ मा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । लामो चलेको बैठकले आगामी महाधिवेशनको कार्यतालिका, आसन्न निर्वाचनमा सहभागिता लगायतका विशेष महत्वका निर्णय गरेको छ ।

यससँगै कांग्रेले पार्टी भवन पुनर्निर्माणका लागि आर्थिक संकलनमा पनि अघि बढाइरहेको छ । भवन पुनर्निर्माणका लागि सुरू गरेको आर्थिक संकलनबाट १६ करोडभन्दा बढी रकम संकलन हुने देखिएको छ ।

पुनर्निमाणका लागि पार्टी मातहतका विभिन्न ६ वटा कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यसँगै केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूबाट रकम संकलन गर्ने लक्ष्य छ । यी सबैबाट १६ करोडभन्दा बढी रकम संकलन हुने देखिएको हो ।

कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, महानगर/उपमहानगर/नगरपालिका, गाउँपालिका र नगर तथा गाउँ वडा कार्यसमितिहरू तथा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यलाई आर्थिक सहायता, सहभागिताको लागि अपिल नै गरेको छ ।

पार्टीका क्रियाशील सदस्यहरू तथा पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत सम्बोधन गर्दै कांग्रेसले उदारतापूर्वक आर्थिक सहयोग, आत्मिय सहभागिता र सशक्त समर्थनको अपेक्षासहित परिपत्र गरेको छ ।

परिपत्रमा आर्थिक सहयोगका लागि तोकिएको रकमको हिसाब गर्दा (स्थानीय तहका जनप्रतिनिधिबाहेक) केन्द्रीय कार्यालय भवन पुनर्निमाणका लागि १६ करोड ६४ लाख ९९ हजार १०० रुपैयाँ संकलन हुने देखिन्छ ।

परिपत्रअनुसार रकम संकलन भए प्रदेशदेखि वडासम्म फैलिएका   कार्यसमितिहरूबाट दुई करोड ४२ लाख ८० हजार रुपैयाँ उठ्ने देखिन्छ । जसमध्ये ३५ लाख रुपैयाँ सात प्रदेश कार्यसमितिबाट रकम केन्द्रमा आउने छ । कांग्रेसले भवन पुनर्निर्माणका लागि प्रदेश कार्यसमितिबाट पाँच लाख रुपैयाँ सहयोग गर्न भनेको छ ।

भवन पुनर्निर्माणका लागि कांग्रेसका ७७ जिल्लाका कार्यसमतिहिरूबाट मात्रै ६६ लाख ५० हजार रुपैयाँ संकलन हुने देखिन्छ । उसले एक निर्वाचन क्षेत्र भएका जिल्लाका जिल्ला कार्यसमितिका लागि ३० हजार र दुईभन्दा माथि चार निर्वाचन क्षेत्रसम्म भएका जिल्लाहरूबाट ५० हजार रूपैयाँ आर्थिक सहयोग मागेको छ । चारभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूलाई ७५ हजार रुपैयाँ तोकिएको छ ।

एकमात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लाबाट कांग्रेसले १० लाख ५० हजार, दुईभन्दा माथि चार निर्वाचन क्षेत्रसम्मका ३७ जिल्लाका कार्यसमितिबाट १८ लाख ५० हजार र चारभन्दा बढी निर्वाचन क्षेत्र रहेका ५ जिल्लाका कार्यसमितिहरूबाट तीन लाख ७५ हजार रुपैयाँ उठाउने देखिन्छ ।

कांग्रेसका लागि १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिबाट चार लाख ९५ हजार र ३३० प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिबाट ६ लाख ६० हजार गरी ११ लाख ५५ हजार रुपैयाँ संकलन हुने छ । पार्टीले भवन निर्माणका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई ३० हजार, प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई २० हजार सहयोग गर्न भनेको छ ।

कांग्रेसले महानगरपालिका कार्यसमितिलाई २० हजार, उपमहानगरपालिका कार्यसमितिलाई १५ हजार, नगरपालिका कार्यसमितिलाई १० हजार, गाउँपालिका कार्यसमितिलाई पाँच हजार र वडा कार्यसमितिलाई दुई हजार रुपैयाँ तोकेको छ ।

जसअनुसार सातवटा महानगरपालिकाबाट एक लाख ४० हजार, ११ उपमहानगरपालिकाबाट एक लाख ६५ हजार, २६७ नगरपालिकाबाट २७ लाख ७६ हजार, ४६० गाउँपालिकाबाट दुई लाख ३० हजार र वडा कार्यसमिति (६७४३) हरूबाट ६७ लाख ४३ हजार रुपैयाँ संकलन हुने देखिन्छ ।

कांग्रेसले अपेक्षा राखेअनुसार रकम संकलन भए क्रियाशील सदस्यहरूबाट मात्रै १३ करोडभन्दा बढी रुपैयाँ जम्मा हुने छ । पार्टी देशभरका क्रियाशील सदस्यहरूलाई जनही १५० रुपैयाँ सहयोग गर्न भनेको छ । १४ औं महाधिवेशनमा कांग्रेसमा क्रियाशील सदस्यहरूको संख्या आठ लाख ७० हजार ८८४ थियो ।

यसैगरी, १४ औं महाधिवेशनका प्रतिनिधिहरूबाट कांग्रेसले एक करोड २९ लाखभन्दा बढी रुपैयाँ भवन निर्माणका लागि उठाउने अपेक्षा राखेको छ । १४औं महाधिवेशनमा कांग्रेसका प्रतिनिधिहरूको संख्या चार हजार ३१९ थियो । उनीहरूका लागि जनही तीन हजार रुपैयाँ सहयोग शुल्क तोकिएको छ ।

कांग्रेसले प्रदेश अधिवेशनका प्रतिनिधिहरूका लागि जनही एक हजार रुपैयाँ तोकेको छ । जसअनुसार रकम उठे ५२ लाख ८० हजार रुपैयाँ संकलन हुने छ । कांग्रेसको विधानमा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट हुन्छन् ।

जसअनुसार कांग्रेसमा पाँच हजार २८० प्रदेश अधिवेशन प्रतिनिधि देखिन्छन् । कांग्रेसले उनीहरूलाई जनही एक हजार रुपैयाँ आर्थिक सहयोग गर्न भनेको छ ।

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूसँग पनि आर्थिक सहयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई जनही २५ हजार र केन्द्रीय सदस्यलाई जनही १० हजार रुपैयाँ सहयोग गर्न आग्रह गरिएको बताए ।

जसअनुसार कांग्रेसले केन्द्रीय पदाधिकारीहरूबाट साढे तीन लाख र केन्द्रीय सदस्यहरूबाट १५ लाख ४० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कोषध्यक्ष श्रेष्ठले व्यक्तिको स्रोतबाट पार्टी चल्न नसक्ने भएका कारण ‘क्राउड फन्ड’ उठाउन खोजिएको बताए ।

‘व्यक्तिको स्रोत भएर पार्टीहरू चल्न सक्दैनन् । पार्टीमा लेबीमात्रै उठाउन सकियो भने पनि हाम्रो ठूलो रकम उठ्छ । त्यसका लागि कसैलाई दबाब नपर्ने गरी आफ्नै कार्यकर्ताहरूबाट पैसा उठाउन खोजेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसमा पनि अनिवार्य होइन, स्वेच्छाले हो । क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि नयाँ सोच बनाएर पैसा उठाउन खोजेका हौं ।’

कोषध्यक्ष श्रेष्ठले देशभरबाट पार्टीका नेता–कार्यकर्ताहरूबाट १० देखि १५ करोड रुपैयाँ संकलनको अपेक्षा राखिएको पनि बताए । ‘१०–१५ करोड उठ्छ कि भन्ने सोचेका छौं । अहिले फोर्स पनि गरेका छैनौं,’ उनले भने, ‘केही साथीहरूले अलिअलि हाल्नुभएको छ । ४–५ लाख उठेको होला ।’

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीमा आवद्ध रहेका सबैले अपनत्व महसुस गरून् भनेर भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग संकलन गरिरहेको बताए । ‘हामीले कुनै व्यापारीसँग पैसा नमागेर विशुद्ध कांग्रेसका क्रियाशील सदस्यहरू, विभिन्न कार्यसमितिबाट पैसा उठाइरहेका छौं,’ उनले भने, ‘सबैको अपनत्व हुन्छ भनेर नै यसो गरिरहेका हौं ।’

मुख्यसचिव पौडेलले आन्दोलनका क्रममा क्षति पुर्‍याइएको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि इन्जिनियरले झण्डै १४ करोडको लागत इस्टिमेट बनाएको पनि जानकारी दिए । ‘आफ्नो पार्टी आफैं बनाऔं भन्ने हाम्रो मूल कुरा हो । हामीले पार्टी कार्यालय बनाउन १२–१४ करोड चाहिन्छ भनेर इन्जिनियरहरूले इस्टिमेट गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो आठ करोड जतिको सामान नै जलेको छ ।’

कांग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू (वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, महानगर/उपमहानगर/नगरपालिकाका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख) लाई पनि एक महिनाको पारिश्रमिक लिएर केन्द्रीय कार्यालयमा बुझाउन भनेको छ ।

तर, यहाँ जनप्रतिनिधिहरूको हिसाब–किताब भने गरिएको छैन । स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसबाट गाउँपालिका र नगरपालिका गरी ३२९ जना अध्यक्ष–प्रमुखमा, ३०० जना उपाध्यक्ष–उपप्रमुखमा र दुई हजार ६६८ जना वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कोषाध्यक्ष श्रेष्ठ र मुख्य सचिव पौडेलले जनप्रतिनिधिहरूलाई छुट्टै परिपत्र गरेर भनेका छन्, ‘आर्थिक सहयोग स्वरुप एक महिना बराबरको पारिश्रमिक लिने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिले गरेको हुँदा उक्त रकम प्रदान गरी आत्मिय सहभागिता र सशक्त समर्थनको अपेक्षा गरेका छौं, जसले हाम्रो संकल्पलाई मूर्त रूप दिनेछ भन्ने पार्टीले विश्वास लिएको छ ।’

कांग्रेस केन्द्रीय कार्यालय मातहतका कार्यसमितिहरू र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई गरिएको छुट्टाछुट्टै परिपत्रमा केन्द्रीय कार्यालयको नाममा रहेको बैंकको खाता नम्बर र क्युआर कोडसमेत उपलब्ध गराइएको छ ।

२३–२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय तोडफोड र आगजनीबाट खण्डहर बनेको छ । आन्दोलनका क्रममा कांग्रेसका विभिन्न ४८ जिल्लामा रहेका पार्टी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो ।

 

 

 

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?