+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रलोपाको मूल नेतृत्वमा जेनजी पुस्ताकी ओजस्वी

दशकौं राजनीति गरेर स्थापित नेताहरू संरक्षक र केन्द्रीय सदस्य बनेर ओजस्वी भट्टराई सहित पाँच जनालाई ‘अध्यक्ष परिषद्’ बनाएर प्रलोपा गठन भएको छ । सर्वोच्च पद अध्यक्ष परिषद्मा नयाँ पुस्ताबाट ओजस्वी प्रलोपाको नेतृत्वमा छन् । कानुनी क्षेत्रको अध्ययन र प्राध्यापनमा क्रियाशील भट्टराईले प्रलोपाको सर्वोच्च पद सम्हालेकी छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ मंसिर २० गते ९:०४

१९ मंसिर, काठमाडौं । भदौ २३ र २४ जेनजी आन्दोलनपछि दल गठन, विघटन र नेताहरूको अदलबदल गर्ने क्रमको ग्राफ बढ्यो ।

जेनजी आन्दोलनको सुशासनको एजेण्डा र त्यसअघि भएका व्रिदोहमा युवाहरूले गरेको बलिदानलाई खेर जान नदिने प्रतिबद्धतासहित ७ मंसिरमा नयाँ दल जन्मियो– प्रगतिशील लोकतान्त्रिक पार्टी ।

नयाँ गठन भएका दलहरूमा प्रलोपाले सामूहिक नेतृत्व प्रणाली अबलम्बन गरेको छ । पार्टीको मूल नेतृत्व अध्यक्ष परिषद्मा पाँच जना हुने गरी पार्टी गठन गरिएको छ । अध्यक्ष परिषद्‌मा ओजस्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती र अशोक जयसवाल छन् ।

अध्यक्ष परिषद्मा रहेका पाँच अनुहारमा भट्टराई बाहेक अन्यको पृष्ठभूमि राजनीति हो । दशकौं राजनीति गर्दै आएका डा.बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले उनलाई अध्यक्ष स्विकार्ने गरी नयाँ पुस्ताकी ओजस्वीले कसरी प्रलोपामा आइन् ?

प्रलोपाको अध्यक्ष बनेकी ओजस्वी यो स्थानसम्म आइपुग्न जेनजी आन्दोलनमै फर्कनुपर्ने हुन्छ । कानुनको विद्यार्थी, अध्यापक एवं कानुन व्यवसायी रहेकी ओजस्वीले नवयुवाहरूले गरेको आन्दोलनलाई संस्थागत गर्नुपर्ने एजेण्डा बोकिन् ।

जेनजी आन्दोलनका मागलाई संस्थागत गर्नको विभिन्न समूहमा छरिएका जेनजीहरूलाई एकत्रित गर्न ओजस्वी सक्रिय रहिन् । यद्यपी, सरकार र जेनजीसँग सम्झौता भने भइसकेको छैन ।

दलका विभिन्न नेताहरूलाई भेट्ने क्रम सुरु गरिन् । त्यसै क्रममा तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईसँग उनको भेट भयो ।

पुराना पुस्ताका नेताहरूमा डा. भट्टराईले नयाँ पुस्ताले गरेको विद्रोहलाई आत्मसाथ गरेको निष्कर्षमा उनी पुगिन् । ओजस्वीले अनलाइनखबरसँग भनिन्,‘अब तपाईंहरूले नै गर्ने हो । हामी पछाडि बसेर सहयोग गर्छौं । नेता, नेतृत्व, नीति तपाईहरू बनाउनुस् भन्नुभयो ।’

चरण-चरणमा संवाद भएपछि तीन शक्तिको गठजोडबाट लोसपा गठन भयो । पूर्व नेसपा (नयाँ शक्ति), माओवादी केन्द्र परित्याग गरेका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार जोडिएर प्रलोपा गठन गरियो ।

त्यसअघि ओजस्वी राजनीतिक चेत राखेपनि सक्रिय राजनीतिमा थिइनन् । कानुनी पृष्ठभूमि रहेका बुबा–आमा हुँदा ओजस्वीले पनि अध्ययनका लागि त्यही क्षेत्र रोजिन् ।

पुर्ख्यौली घर अर्घाखाँची रहेपनि उनी काठमाडौंमै जन्मिइन्, हुर्किइन् । ‘कन्स्टिच्युसनल र क्रिमिनल ल’ विषयमा स्नातकोत्तर गरेकी ओजस्वी स्नातक तहमा सर्वोत्कृष्ट छानिइन् । २८ औं बार काउन्सिलको परीक्षामा पनि सर्वोत्कृष्ट नजिता ल्याइन् ।

विगत चार वर्षदेखि विहानी सत्रमा ओजस्वीले नेपाल ल क्याम्पसमा पीडित शास्त्र र ‘ कम्प्यारेटिभ लिगल सिस्टम’ विषयमा प्राध्यापनरत छन् । ल फर्ममा काम एवं अन्तर्राष्ट्रिय कानुन र सिमान्तकृत समुदायको अधिकारमा अध्ययन अनुसन्धानरत छन् ।

दलहरूमा युवा उमेर समूहबाट अर्थपूर्ण सहभागिता नभएको हुँदा राजनीतिमा प्रवेश गर्न चाहेको ओजस्वी बताउँछिन् । ‘कुनै पनि दलमा युवाको अर्थपूर्ण सहभागिता छैन । युवाले ल्याउने अवधारणा र माथिल्लो पुस्ताको बीचको दृष्टिकोणमा एकदमै ठूलो अन्तरपुस्ता ग्याप छ,’ ओजस्वीले भनिन्,‘सामाजिक अभियानलाई साँच्चिकै सुदृढीकरण गर्नको लागि राजनीतिक यात्रा गर्नुपर्छ भन्ने लाग्यो ।’

नेपालका पुराना राजनीतिक दलहरू ‘ल्याटरल इन्ट्री’ प्रति उदार छैनन् । कम्युनिस्ट विचारधाराका दलहरूमा उपल्लो तहमा फड्को मार्नु झनै असम्भव जस्तै छ । आधार तहदेखि काम गर्दै आएको र वर्षौं पार्टी संरचनामा रहेका व्यक्ति बाहेक अन्यलाई उपल्लो तहको जिम्मेवारी हत्तपत्त पाउँदैनन् । पुराना दल नेपाली कांग्रेसदेखि एमालेसम्मको अवस्था त्यस्तै छ । नयाँ गठन गरिएको दल नेपाली कम्युनिस्ट दलको हालत पनि उस्तै छ । पार्टी र सरकारको नेतृत्व गरिरहेकै उही नेताहरूले हालमुहाली गरिरहेका छन् ।

प्रलोपा ती दल भन्दा पृथक रहेको ओजस्वीको दाबी छ । उनी भन्छिन्,‘युवाहरूले दलको नेतृत्व गर्नै नसक्ने हुँदै होइन । लामो समय व्यर्थको राजनीति गर्नेहरू भन्दा फरक केही गर्नसक्छु भन्ने मलाई लागेकै छ ।’

प्रलोपाले १५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । केन्द्रीय समितिमा लामो समय राजनीति गरेका देखि नयाँ अनुहारसम्म छन् । मूलतः पूर्व माओवादी धारका नेताहरू रहेको पार्टीको केन्द्रीय नेतृत्वमा रहेर पार्टी हाँक्ने अवस्थामा ओजस्वी पुगेकी छन् ।

नेता डा. भट्टराई नवगठित दलको संरक्षक छन् भने नेताहरू जनार्दन शर्मा केन्द्रीय समिति सदस्य भएर बसेका छन् । राजनीति गरेर दशकौं बिताएका नेताहरूको पनि नेता हुँदा भारी थाम्न सक्नुहुन्छ भन्ने जिज्ञासामा ओजस्वीको जवाफ छ,‘भारी त हो तर बोक्नै नसक्ने भारी होइन । मैले प्राप्त ठूलो भूमिकालाई जवाफदेहिता र पारदर्शितासँग निभाउने प्रयत्न गर्छु ।’

स्थापित नेताहरू पछाडि रहेर सहयोग गर्ने, अनुभव बाँड्न तर हस्तक्षेपकारी भूमिका नहुनेमा उनी विश्वस्त छन् । ‘जेनजी मुभमेन्ट अलायन्स’ का अगुवाहरूले पार्टी नेतृत्वमा जान सुझाव दिएको हुँदा थप उर्जा सहित पार्टीमा प्रवेश गरेको उनले सुनाइन् ।

तत्कालीन नेकपादेखि मधेसवादी दलमा मूल नेतृत्व एक भन्दा बढी जना व्यक्तिगत महत्वकांक्षा वा टकरावले ती दलहरू समस्यामा परे । एकल नेतृत्व नहुँदा विगतमा दलहरूमा देखिएको समस्या देखिनुको कारणमा मूल नेतृत्व एउटै उमेर समूह, समुदाय हुनुलाई मान्छिन् । उनले थपिन्,‘बहु नेतृत्व त्यतिखेर घातक हुन्छ, जतिबेला मूल नेतृत्व एउटै समुदाय, उमेर समूह, पृष्ठभूमिबाट हुनुभयो त्यतिबेला समस्या आउँछ ।’ उमेर समूह, समुदाय, भौगोलिकता लगायतमा फरक फरक रहेको हुँदा व्यक्तिगत टकराव नआउने उनी दाबी गर्छिन् ।

प्रलोपाले आफूलाई विचारसहितको वैकल्पिक दलका रुपमा परिभाषित गरेको छ । प्रगतिशील वामपन्थी दलमा आफूलाई प्रलोपाले उभ्याएको छ । दलको सैद्धान्तिक विचारधाराबारे ओजस्वी भन्छिन्,‘समावेशी राज्य प्रणाली अपनाउने प्रगतिशील बामपन्थी विचारधारा बोकेको दलका रुपमा बुझ्नुपर्दछ ।’

शासकीय प्रणालीमा छलफलकै क्रममा रहेको प्रलोपा आफ्ना दस्तावेज बनाउने क्रममै छ । प्रलोपाले राजनीतिक पुनर्संरचना सम्मेलन गर्ने निर्णय गरेको छ । यद्यपी, सम्मेलन कस्तो हुने बारे निर्क्यौलमा प्रलोपा पुगिसेकको छैन । ‘एउटा बहुदलीय बहुपक्षीय छलफलका लागि समन्वय गरौं र सहजीकरण गरौं भन्ने उद्देश्य हो,’ ओजस्वी भन्छिन्,‘तर त्यसको मूर्त रुप कस्तो हुन्छ भन्नेबारे छलफलकै क्रममा छौं ।’

दलहरूमा चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवार बन्नका लागि रस्साकस्सी हुन्छ । दलको मूल नेतृत्व उम्मेदवारबाट वञ्चित भने हुनु पर्दैन । पार्टीभित्रको निर्णायक तहमा हुने हुँदा इच्छाएको स्थानबाट उम्मेदवार हुनसक्ने अवस्था रहन्छ । शुक्रबारबाट पार्टीको सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी ओजस्वी पनि चुनावी प्रतिस्पर्धा उत्रिन्छिन् कि ? उम्मेदवार हुने/नहुने हालसम्म उनी अनिर्णित छन् ।

‘राजनीतिक आकांक्षामा परिणत नहोला भन्ने होइन । तर अझै पनि मैले चाहिँ म चुनावमा उठ्छु कि उठ्दिन भन्ने विषयमा अझै निर्णय लिइसकेको छैन,’ ओजस्वीले भनिन्,‘ साथीहरूको इच्छा आकांक्षाहरू होला । त्यो सबै विचार गरेर निर्णय छिट्टै लिन्छु ।’

जेनजीले आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न माग गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटिन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न दुई पक्षीय सहमतिका लागि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराउन १७ मंसिरमा पार्टी नेताहरू सहित बालुवाटार पुगिन् ।

भिडियो/तस्वीरः कमल प्रसाईं/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?