News Summary
Generated by OK AI. Editorially reviewed.- सडक डिभिजन हेटौंडाले २० मंसिर बिहानबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ।
- सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएको थियो।
- ५ सय ३१ वटा घर र संरचना भत्काउनुपर्ने सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विस्तार कार्य अघि बढाएको छ।
२० मंसिर, हेटौंडा । सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ ।
बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ ।
सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ ।
सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । उक्त अल्टिमेटमको अन्तिम दिन शुक्रबार थियो ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।
तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको छ । तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छैनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरु आन्दोलित छन् । सडक विस्तार हुने क्षेत्रका व्यवसायीमात्रै प्रदर्शनमा देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईं बताउँछन् । केही सीमित घरधनीहरु घर भत्काउन तयार बन्दै आफ्ना सामान अन्यन्त्र व्यवस्थापन गरिसकेका छन् । तर अधिकांश घरधनीहरु आन्दोलनमा होमिँदै सडक डिभिजनको विस्तार कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन् ।
सडक डिभिजन हेटौंडा भने वर्षौदेखि सडक विस्तार कार्य अलपत्र पारेर मात्रै राख्ने विषय स्वीकार हुन नसक्ने बताउँदै आएको छ ।

यसअघि असार २०७६ मा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।
सडक डिभिजनले पछिल्लो पटक दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सोही मुद्दाको फैसलालाई टेकेर अहिले सडक विस्तार हुन लागेको हो ।
सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ८ दशमलव ५ किलोमिटर भित्र ५ सय ३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ । सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया 4