News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर भर्नासम्बन्धी भ्रामक सूचना र विज्ञापनप्रति सचेत गराएको छ।
- नेपाल र इजरायलबीचको द्विपक्षीय सम्झौताअनुसार केयरगिभर पठाउने कार्य जीटुजी प्रक्रिया मार्फत मात्र हुने व्यवस्था छ।
- विभागले भ्रामक सूचना फैलाउने तथा अवैध कामदार पठाउनेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
२१ मंसिर, काठमाडौं । इजरायलमा सहायक कामदार ‘केयरगिभर’ भर्नासम्बन्धी भ्रामक सूचना र विज्ञापनप्रति वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
सामाजिक सञ्जालमा केयरगिभर भर्नाबारे अफवाह फैलिएको भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।
हालै टिकटक लगायत सामाजिक सञ्जालमा केयरगिभर भर्ना खुलेको भन्दै भ्रामक सूचना फैलिरहेको छ । ती सूचनामा कुनै सत्यता नरहेको जनाउँदै विभागले सचेत रहन आग्रह गरेको हो ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभर पठाउने कार्य जीटुजी प्रक्रिया मार्फत मात्रै पठाइने व्यवस्था छ ।
यसबाहेक कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई विज्ञापन गर्न, फारम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्ने कुनै अधिकार नरहेको विभागले प्रष्ट पारेको छ ।
इजरायलमा काम गर्न जान जीटुजी बाहेक अर्को विकल्प नरहेको भन्दै विभागले त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न अनुरोध गरेको हो ।
यस्ता भ्रामक सूचना फैलाउने तथा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
थप जानकारीका लागि सरकारले प्रकाशन गर्ने आधिकारिक सूचनाहरू विभागको अफिसियल वेबसाइटमा मात्र हेर्न विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4