+
+
Shares

चुनावमा दुई तिहाइ बहुमत ल्याएर समाजवादको यात्रा तय गर्छौं : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:२८
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी २१  फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए ।

उनले दुई तिहाइ मत ल्याउन अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनतामा जानुपर्ने उनको भनाइ छ ।

१७ वटा पार्टी एकीकृत भएर नेकपा बनेको बताउँदै उनले जनताको घरदैलोमा पुग्न नेताको अभाव नै नहुने बताए ।

उनले देशमा समाजवाद ल्याउनका लागि नेकपाले दुई तिहाइ ल्याउनैपर्ने बताए ।

जनताको सुविधाका लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरूलाई नेपाल ल्याउने, नेपालबाट सिप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उनले बताए ।

आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उनले दाबी गरे ।

‘१७ वटा पार्टी सामेल भइसकेपछि नेकपामा नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घरदैलोमा पुग्ने हो । त्यो अभियान हामीले सुरु गर्ने हो । मरौंला अथवा बाँचौंला फरक पर्दैन । तर हामी समाजवाद निर्माण गर्नका निम्ति आगामी २१ फागुनको निर्वाचनबाट दुई तिहाइ बहुमतमा हामी पुग्नुपर्छ,’ उनले भने ।

उनले समाजवाद निर्माणका लागि युवाहरूलाई उत्पादनसँग जोड्नुपर्ने बताए ।

रोजगार नपाएर नै युवाहरू आन्दोलनमा उत्रिने गरेको भन्दै उनले १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?