२२ मंसिर, धनगढी । अर्थमन्त्री रामेश्वर खनालले नव युवाले उठाएका माग सम्बोधन गर्न अगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको चुनाव हुनैपर्ने बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन गर्दै मन्त्री खनालले नव पुस्ताका युवाले चाहेको परिवर्तन संस्थागत गर्न तोकिएकै मितिमा चुनाव हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन् ।
‘नव युवा पुस्ताले माग गरेको परिवर्तन संस्थागत गर्नका निमित्त २१ फागुनमा तोकिएको मितिमा निर्वाचन हुनैपर्छ । मुलुकको परिवर्तन संस्थागत गर्न सबै लाग्यौँ भने चुनाव सफल हुन्छ,’ खनालले भने, ‘यो चुनावले असल शासन दिने नेतृत्व उत्पन्न गर्नसक्छ ।’
अगामी निर्वाचनबाट २३ र २४ भदौमा युवाहरूले उठाएका भ्रष्टाचार मुक्त, सदाचार युक्त र विधिमा आधारित असल शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्नका लागि भए पनि सबैले चुनावको वातावरण बनाउनतर्फ लाग्नुपर्ने समेत उनको भनाइ थियो ।
अर्थमन्त्री खनालले यसपटकको चुनाव इतिहासकै सबैभन्दा धेरै राजनीतिक दल सहभागी हुन लागेको बताउँदै सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराएर निर्वाचन सम्पन्न गर्ने दाबी पनि गरे ।
‘नेपालको इतिहासमा यसपाली सबैभन्दा धेरै दलहरू निर्वाचनमा भाग लिनका निमित्त दर्ता भएका छन् । १३० दल जबकी यो भन्दा अगाडि तीन अंकमा दलहरू यसरी भाग लिन दर्ता भएका थिएनन्,’ उनले भने, ‘यसअघि जहिले पनि कतिपय दलले चुनाव बहिष्कार गर्थे। तर अहिले एउटै समूह पनि बहिष्कारमा छैन। यो सकारात्मक संकेत हो ।’
२३ र २४ भदौको घटनापछि सुरक्षाबारे उठेका प्रश्नबारे खनालले सरकार चुनाव पूर्ण सुरक्षासहित सम्पन्न गर्न तयार रहेको बताए।
‘सुरक्षा एकतर्फी कुरा होइन। नागरिक, अरूले पनि आफ्नो भूमिकाबारे जिम्मेवार बन्नुपर्छ। राज्यले सुरक्षा निकायमार्फत आवश्यक सबै स्रोत–साधन जुटाइदिनेछ,’ उनले भने ।
जेनजी आन्दोलनपछि निर्वाचन गराउने म्यान्डेट पाएर अहिलेको सरकार गठन भएकाले नव युवाले उठाएका माग सम्बोधन गर्न सक्ने अवस्थामा सरकार नरहेको उनी बताउँछन् ।
प्रतिक्रिया 4