+
+
Shares

नयाँ ४ पार्टीको विचार कति नजिक, कति टाढा ?

नयाँ दल गठन गरेसँगै दलहरूले आफ्नो मार्ग निर्देशक सिद्धान्त, गठन हुनुको औचित्य, सांगठनिक संरचना लगायतमा आफ्नो अवधारणा सार्वजनिक गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ मंसिर २२ गते २१:२७

२२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि उपलब्ध गराएको समयावधि १४ मंसिर भित्रमा २५ नयाँ दल दर्ता भए । नवगठित दलहरूमा प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीले घोषणा सभालाई ‘बृहत्’ बनाउने प्रयत्न गरे । यही बीचमा गठन भएका श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टी पनि चर्चामा छन् ।

नवगठित दलहरू प्रलोपा, उज्यालो नेपाल, गतिशील लोकतान्त्रिक, श्रम संस्कृति पार्टीले आफ्नो वैचारिक धरातल, सांगठनिक अवस्था, कार्यदिशा लगायतमा दृष्टिकोण बाहिर ल्याएका छन् ।

प्रलोपाले प्रतिवद्धतापत्र, उज्यालो नेपालले घोषणापत्र, श्रम संस्कृतिले राजनीतिक दस्तावेज र गतिशील लोकतान्त्रिक पार्टीले अन्य दलभन्दा पृथक रहेको दाबी सहितको दृष्टिकोण बाहिर ल्याएको छ ।

नयाँ दल गठनको लहर आउँदा जन्मिएका पार्टीहरूले ‘एक थान दल’का लागि निर्वाचन आयोगमा दर्ता नभएको दाबी सहित अवधारणा बाहिर ल्याएका छन् ।

एउटा नयाँ दल थप्ने प्रयोजनले प्रलोपा गठन नभएको दाबी सहित उक्त दलको प्रतिबद्धतापत्रमा भनिएको छ, ‘हाम्रो पार्टी केही दर्जन राजनितिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेताहरू उत्पादन गर्न नभई हालको विकृत राजनितिलाई सुधार्दै आर्थिक, राजनितिक एवं सांस्कृतिक रुपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रुपमा स्थापना भएको हो ।’

नेताहरू डा. बाबुराम भट्टराई संरक्षक र माओवादी केन्द्रका पूर्व नेता जनार्दन शर्मा संरक्षक रहेको प्रलोपाको माथिको दृष्टिकोणसँग उर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा बनेको उज्यालो नेपालको विचारमा समानता भेटिन्छ ।

उज्यालो नेपाल गठन हुनुमा एउटा दलको संख्या थप्नकै लागि नभएको दाबी गरिएको छ । उक्त दलको घोषणापत्रमा भनिएको छ,‘हाम्रो पार्टी दलहरूको संख्यामा अर्को एउटा अंक थप्न अगाडि आएको होइन । नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजनासहित जन्मिएको उज्यालो नेपाल पार्टीले दलको पहिचान अनुरुपको व्यवहार प्रदर्शन गरी परिणाममुखी राजनीतिक अभ्यास गर्नेछ ।’

संविधान संशोधनको मुद्दालाई नयाँ दलहरूले उठाएपनि शासकीय प्रणालीमा प्रलोपा, उज्यालो र गतिशील लोकतान्त्रिक पार्टीले स्पष्ट धारणा बाहिर आएको छैन ।

प्रलोपाले शासकीय प्रणालीलाई विचाराधीन अवस्थामा राखेको छ । उज्यालो नेपालले संविधान संशोधन गर्नुपर्ने धारणा ल्याएको छ ।

नागरिक संविधान संशोधनको पक्षमा उभिए त्यसका लागि गतिशील लोकतान्त्रि पार्टी तयार हुने उक्त दलको अवधारणा छ ।

यद्यपी, हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले शासकीय प्रणालीप्रति आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गरेको छ । बहुसंख्यक जनताले संविधानको अन्तरवस्तुमा संशोधन गर्न माग गरेमा उज्यालो नेपाल पार्टी जनअभिमतको पक्षमा उभिने उल्लेख छ ।

एक व्यक्ति : दुई कार्यकाल

मूलुकले अपेक्षाकृत विकासको गति लिन नसक्नुमा सीमित व्यक्ति उही पदमा निरन्तर रहिरहनुलाई राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ ।

प्रधानमन्त्री पदमा कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रको मूल नेतृत्व पटक-पटक दोहोरिँदा व्यवस्थाप्रति नै प्रश्न उठेको टिप्पणी हुँदै आएको छ ।

नयाँ आउने दलहरूले त्यही विश्लेषणलाई आधार बनाएर हुनसक्छ, एक व्यक्तिः दुई कार्यकालको अवधारणा ल्याएका छन् ।

प्रलोपाले एक व्यक्ति एक कार्यकारी पद र एक व्यक्ति दुई कार्यकालको प्रतिवद्दता सार्वजनिक गरेको छ ।

फिर्ता बोलाउने (राइट टू रिकल) व्यवस्था, स्वेच्छिक अनुशासन र वैज्ञानिक संस्कार अवलम्बन गर्ने प्रलोपाले जनाएको छ । पार्टीको संगठन स्वयंसेवक र अभियन्ता स्वयंसेवी हुने प्रलोपाको दाबी छ ।

नवगठित अर्को दल उज्यालो नेपालले पार्टीले वर्तमान संविधानबाट स्थिर सरकार सम्भव नभएको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने दृष्टिकोण राखेको छ ।

समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उज्यालो पार्टीको निचोड छ । प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरोवलोकन गर्न सकिने उज्यालो नेपालले जनाएको छ । त्यसका लागि जनसंख्या, भूगोल, पहिचान, सामर्थ्य र आर्थिक सम्भावनालाई आधार बनाउनुपर्ने जनाइएको छ ।

संसदमा प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्ने उज्यालो नेपालको दृष्टिकोण छ ।

संघमा मन्त्रालयको संख्या पुनरावलोकन, स्थानीय तहको चुनाव गैरदलीय, न्यायपरिषद्को पुनः संरचनाको मान्यता राखिएको छ । विगत ३५ वर्षमा राम्रा उपलब्धि र खराब प्रदर्शनका एकमुष्ट जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने उनेपाको ठहर छ ।

गतिशील लोकतान्त्रिक पार्टीमा एक पद एक व्यक्तिको अवधारणा लागु गरिएको छ । एउटै व्यक्तिले पार्टी र सरकारको जिम्मेवारी लिन नपाउने विधि बनाइएको छ ।

छोटो अवधिका लागि मन्त्री‚ प्रधानमन्त्री भए पनि दुई चोटीभन्दा बढी एउटै राजकीय पदको जिम्मेवारी प्राप्त नहुने गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा छ ।

निर्वाचनमा खसेको मतको २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा सरकारमा सहभागी नहुने गतिशील पार्टीले प्रतिबद्दता गरेको छ ।

पार्टी संरचनामा कुनै एक व्यक्ति पार्टीको एक पदमा बढीमा दुई कार्यकाल भन्दा बढी जिम्मेवारी लिन नसक्ने पद्दति बनाएको छ ।

गतिशील दलले पार्टीको सदस्यता लिएको १६ वर्षपछि स्वतः निष्क्रिय हुने नयाँ विधि पार्टीमा बसाल्ने भएको छ । बढीमा १६ वर्षको हुनेछ । पार्टीको जुनसुकै कार्यसमितिको पदमा १६ वर्षसम्म बहाल रहेपछि‚ पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त नगर्ने प्रावधान उक्त दलले बनाएको छ । पार्टीभित्र ‘राइट टु रिजेक्ट’ र निर्वाचित प्रतिनिधिको हकमा ‘राइट टु रिकल’को प्रावधान राखिएको छ ।

श्रम संस्कृति पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा उभिएको छ । हर्क साम्पाङको नेतृत्वमा रहेको उक्त दलले राष्ट्रपतिले राजनीति क्षेत्र बाहिरको व्यक्तिहरू सम्मिलित गरेर सरकार बनाउने सक्ने अवधारणा ल्याएको छ । श्रम संस्कृति पार्टीले मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने दस्तावेज तयार गरेको छ ।

संघमा २ सदनात्मक र प्रदेशमा १ सदनात्मक व्यवस्थापिका रहने, संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्र सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्णसमानुपातिक प्रतिनिधत्व रहने कल्पना गरेको छ ।

राज्यको सबै अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नेगरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने नीति उक्त दलको छ ।

राष्ट्रिय न्यायलयको अवधारणाः कतिपय मुद्दाहरूमा न्यायलय निष्पक्ष हुन नसकेको श्रम संस्कृति पार्टीको बुझाई छ ।

न्यायालय निष्पक्ष हुन नसकेको निचोडमा रहेको श्रम संस्कृति पार्टीले न्यायलयकै कारणले ‘देशद्रोही, भ्रष्टाचारीहरू उम्कन सक्ने’ भएको हुँदा जनताको अदालतको रुपमा राष्ट्रिय न्यायालयले गठन गर्नुपर्ने दृष्टिकोण राखेको छ ।

नयाँ दलका मार्ग निर्देशक सिद्धान्त

नेताहरू डा.बाबुराम भट्टराई संरक्षक, नेता जनार्दन शर्मा केन्द्रीय सदस्य रहेर गठन भएको नवगठित दल प्रलोपाले ‘विकसित विज्ञानमा आधारित समाज विकासको नविनतम सिद्धान्त अनुरुपको नेपाली समाजवाद’ पार्टीको मार्ग निर्देशक सिद्धान्त/ दार्शनिक आधार बनाएको छ । प्रलोपाको प्रमुख कार्यभार ‘वर्तमान गतिहीन राजनीतिको पुनर्संरचना’ का लागि भनिएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उनेपाले सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई पार्टीको मूल राजनीतिक आदर्श बनाएको छ ।

नेपालको संविधानको मूलभूत व्यवस्थालाई आत्मसात गर्दै लोककल्याणकारी राज्य र उदारवादी अर्थ–व्यवस्थाको अभ्यास गर्नु उज्यालो नेपाल पार्टीको मूलभूत राजनीतिक र आर्थिक मार्गदर्शन रुपमा रहनेछ ।

दिनेश प्रसाईंको नेतृत्वमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टीको मार्गदर्शक सिद्धान्त गतिशील मध्यमार्ग रहनेछ । राजनैतिक संस्कृति आदर्शवाद, व्यावहारिकता र सम्वादमा आधारित हुने गलोपाले जनाएको छ ।

श्रम संस्कृति पार्टीले अध्यक्षकै विचारलाई प्रधानता दिएर सिद्धान्तलाई हर्कवाद लागु गर्ने अवधारणा ल्याइएको छ ।

सांगठनिक संरचना कस्तो हुन्छ ?

प्रलोपाले केन्द्रमा अध्यक्ष परिषद्, केन्द्रीय समिति र विभाग बनाउने प्रारम्भिक चरणको तयारी गरेको छ ।

मातहतको पार्टी संरचनामा वडा, गाउँ, पालिका, जिल्ला र प्रदेश तहमा गठन गर्ने प्रलोपाले जनाएको छ । प्रलोपाको आइतबार भएको अध्यक्ष परिषद्को बैठकले विधान मस्यौदा समिति गठन गरेको छ ।

जगप्रसाद शर्मालाई संयोजक रहेको उक्त समितिको सदस्यहरूमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुक्सना कपाली सदस्य छन् । प्रलोपाले केन्द्रीय समिति १५१ जनाको गठन गरेको छ ।

गतिशील पार्टीले संघीय, प्रदेश/प्रवास, जिल्ला, स्थानीय तह, वडा, बुथ समिति गठन गर्ने गरी विधान बनाएको छ । गलोपाले भ्रातृ संस्था संगठन नगर्ने गरी विधान तयार गरेको छ ।

उक्त दलले कार्यकर्तालाई दलको पूर्णकालीन नबनाउने नीति लिएको छ । गतिशील पार्टीले केन्द्रीय समितिमा बढीमा ७५ जना हुने गरी विधान बनाएको छ । अध्यक्ष, पाँच महासचिव र १ कोषाध्यक्ष सहित ७ पदाधिकारीको व्यवस्था केन्द्रीय समितिमा गरिएको छ । गतिशील पार्टीमा केन्द्रीय समितिको आकार बढीमा ७५ जना हुने व्यवस्था भएपनि हालसम्म २४ जना छन् ।

उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने भएको छ । संघ, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा उक्त दलले समिति बनाउने भएको छ । उनेपाले ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ भने केही संख्या थप्ने तयारी गरेको छ । केन्द्रीय समितिमा १५ जना पदाधिकारी हुने प्रावधान राखिएपनि हाल भने अध्यक्ष बाहेक अन्यलाई सदस्यमा राखिएको छ ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?