+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
8/0 (1.5)
Shares

विद्यार्थीलाई उद्यमी बनाउन कृषि विश्वविद्यालयमा बुट क्याम्प

विश्वविद्यालय अनुदान आयोगको सहयोग र कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशानलयको आयोजनामा सुरु भएको क्याम्पमा विभिन्न संकायमा अध्ययनरत १२ वटा समूहका ३६ जना विद्यार्थी सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:४५

२५ मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यले ‘विजनेस इन्क्युवेसन सेन्टर’ मार्फत ४ दिने बुट क्याम्प सञ्चालन गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग र कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशानलयको आयोजनामा सुरु भएको क्याम्पमा विभिन्न संकायमा अध्ययनरत १२ वटा समूहका ३६ जना विद्यार्थी सहभागी छन् ।

हरेक समूहमा कम्तीमा ३ देखि बढीमा ६ जनासम्म विद्यार्थीको समूह बनाएर उनीहरूले पेस गरेको व्यावसायिक अवधारणाका आधारमा छनोट गरी बुट क्याम्पमा सहभागी गराइएको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले जानकारी दिए ।

‘सुरुमा ४२ वटा समूह थिए, त्यसबाट अन्तर्वार्तासहित ५ जना विज्ञ समूहले मूल्याङ्कन गरी १२ वटा समूह तय गर्‍यौं,’ प्रा.डा. भट्टराईले भने, ‘छानिएका १२ समूहलाई विस्तृत व्यावसायिक परियोजना बनाउने तरिकाका बारेमा विज्ञहरूबाट सिकाउँछौं ।’

बुट क्याम्पमा व्यावसायिक समूहहरूको प्रस्तुतीकरण, आत्मविश्वास र इच्छाशक्ति, कच्चा पदार्थको उपलब्धता र बजारीकरण, लगानी र आइपर्ने चुनौतीको सामना गर्नसक्ने क्षमता जस्ता विषयमा हेरिने प्रा.डा. भट्टराईले जानकारी दिए ।

बुट क्याम्पमा विज्ञहरूले व्यवसाय दर्ता, कर प्रणाली, बैंकिङ प्रणाली, सफल व्यावसायीहरूका अनुभव, राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ-संस्थासँगको समन्वय र सम्भावित सहकार्य, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबाट एग्रीविजनेसका मोडलहरूका बारेमा जानकारी दिनुका साथैं व्यावसायिक क्यानभास मोडल जस्ता विषयमा समूहहरूलाई जानकारी गराउने छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्कर पालले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यवसायी र उद्यमशील बनाउने उद्देश्यले बुट क्याम्पको आयोजना गरिएको बताए ।

विद्यार्थीले पढेका, जानेका र आफूलाई इच्छा लागेका विषयमा अनुसन्धान तथा तथा उत्पादन प्रक्रियामा सहभागी गराउन यस्तो कार्यक्रम गरिएको रजिष्ट्रार पालले बताए।

विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने अवस्था ल्याउनका लागि उद्यमी बनाउन लागिएको बताइन् । विद्यार्थीले आफ्नो समूहमा साझा सोच र धारणासहित पेस गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गर्न लागेको उपकुलपति प्रा.डा. थपलियाको भनाइ छ ।

विद्यार्थीलाई उद्यमशिलता र स्वरोजगारतर्फ जोड्नका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने भन्दैं उपकुलपति प्रा.डा. थपलियाले भनिन्, ‘विद्यार्थी पढ्ने, जागिर खाने वा विदेश जाने मात्रै नहुन्, देश भित्र नै रोजगारीका अवसरहरू सिर्जना गर्न सकुन् भन्ने हाम्रो मूल उद्देश्य हो ।’

बुट क्याम्पमा सहभागी उद्यमी समूहहरूले मोरिङ्गा पाउडर उत्पादन, धुले अचार, वातावरणमैत्री फाइवर उत्पादन, सजावटी बिरूवाहरूको टिस्यु कल्चर, एग्री अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोस्ट, बहुरंगी फूल ग्राफ्टिङ, सोमरस इन्फ्युजन, तामाको अचार, एक्वेरियम विजनेस (प्रजननदेखि आपूर्तिसम्मको एकीकृत सेवा), जिरो वेस्ट फिस प्रोडक्ट, एग्री विटूवी सप्लाई प्लेटफर्म जस्ता अवधारणा प्रस्ताव पेस गरेका छन् ।

यी प्रस्तावको विस्तृत व्यावसायिक प्रस्ताव विद्यार्थी समूहले १५ दिनभित्र पेस गरेपछि त्यसलाई स्वीकृत गरी एक समूहलाई अधिकत्तम ५ लाखसम्म अनुदान रकम उपलब्ध गराइने विश्वविद्यालयका उप निर्देशक डा. उज्जल तिवारीले जानकारी दिए । यसअघि पनि निर्देशनालयले यस्ता बुट क्याम्पहरू सञ्चालन गर्दै विद्यार्थीलाई उद्यमी र आत्मनिर्भर बनाउने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?