News Summary
Generated by OK AI. Editorially reviewed.- अराजक समूहले गत भदौ २४ गते आगजनी गर्दा ध्वस्त भएको कोइराला निवासको आंशिक खण्ड डा. शेखर कोइरालाले मर्मत गरी रङ्गरोगन गरेका छन्।
- नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईले पुरानो संरचनालाई पुरानै आकृति अनुसार पुनर्निर्माण गर्न इन्जिनियरले नक्सा तयार गरेको जानकारी दिनुभयो।
- कोइराला निवास राजनीतिक चेतनाको धरोहर हो र २००७ सालको राणाविरोधी आन्दोलनदेखि २०६२–६३ को जनआन्दोलनमा यसको योगदान रहेको छ।
२६ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गत भदौ २४ गते आगजनी गर्दा ध्वस्त भएको राजनीतिक चेतनाको धरोहर कोइराला निवासको आंशिक खण्ड डा. शेखर कोइरालाले मर्मत गरेका छन् ।
आगजनीबाट काठ र टिन प्रयोग गरेर कृष्णप्रसाद कोइरालाले निर्माण गरेको संरचना पूर्णरुपमा ध्वस्त भएको थियो। पछि थप गरिएको संरचना पक्की थियो। पक्की संरचना भित्र रहेका सबै सामग्री जले पनि बाहिरी खण्ड सामान्य जस्तै थियो। पक्की संरचना डा. कोइरालाले मर्मत गरी रङ्गरोगन गरेका हुन्। मर्मतपछि कोइराला त्यहीं बस्न थालेका छन् ।
स्वर्गीय कृष्णप्रसाद कोइरालाले बनाएको घरलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने तयारी छ । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईका अनुसार पुरानो संरचनालाई पुरानै आकृति अनुसार पुनर्निर्माण गर्नका लागि इन्जिनियरले नक्सा तयार गरेका छन् । ‘अब पुरानै संरचना अनुसार काम सुरु हुन्छ’, उनले भने ।

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास राजनीतिक चेतनाको धरोहरको रुपमा थियो । २००७ सालको राणाविरोधी आन्दोलन, २०४६ साल र २०६२–६३ को जनआन्दोलनमा कोइराला निवासको योगदान थियो ।
नेपाली कांग्रेस कार्यकर्ताले तीर्थस्थल जस्तै मान्ने कोइराला निवास निर्माणको ठ्याक्कै मिति भेटिंदैन । तर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले सर्वश्वहरण गर्दा कृष्णप्रसाद विराटनगरको यही घर छाडेर हिंडेका थिए ।
कोइराला निवास १२० वर्ष भन्दा पुरानो भएको कांग्रेस नेताहरू बताउँछन् । यो घर चार पटक निर्माण–पुनर्निर्माण गरिएको थियो ।
कृष्णप्रसाद कोइरालाले बनाएको घर सानो भएपछि २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ दुई वटा कोठा थप गरेका थिए। डा. शेखर केशवका छोरा हुन्।

निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला नेपाल फर्किएपछि २०३४ सालमा उत्तरतर्फ दुईवटा कोठा थपियो । संरचना पनि पक्की बनाइएको थियो। त्यसपछि २०५२ सालतिर बीपीले प्रयोग गर्ने कोठालाई बैठक कक्ष बनाएर गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि अर्को कोठा थप गरेका थिए।
कृष्णप्रसादले बनाएको घरको स्वरूप नबिगारी उत्तरतर्फ पटक पटक संरचना थप गरिएको कोइराला निवासका बारेमा जानकार पत्रकार अनन्तराज न्यौपाने बताउँछन् ।
अराजक समूहले लगाएको आगोले कृष्णप्रसादले बनाएको घर खण्डहर भएको थियो। बीपी र गिरिजाप्रसादका लागि थप गरिएको बाहिरी संरचना बाँकी थियो। घर भित्र भएका सबै सामग्री जलेका थिए ।

कोइराला परिवारमा अंशबण्डा हुँदा राजनीतिक विरासत बोकेको घर डा. शेखर कोइरालाको भागमा परेको थियो । उनी बीपी र गिरिजाप्रसाद कोइरालाका भतिज हुन् । शेखरका बुबा केशव कोइरालाले कांग्रेसको सक्रिय राजनीति नगरे पनि राजनीतिक आन्दोलनमा होमिएका दाजुभाइलाई सघाएर घरव्यवहार सम्हालेका थिए।
बीपीपुत्र डा. शशांक कोइराला सहितका सन्तानले विराटनगरको सबै जग्गा बेचे । सुजाता कोइरालाले आफ्नो भागमा परेको केही जग्गा बेचिन् । कोइराला निवास अगाडि थोरै जग्गा उनले राखेकी छिन् ।

प्रतिक्रिया 4