+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बालबालिकालाई मोबाइल चलाउन नदिने होइन, सिकाउने हो

प्रा.डा. दिपराज थापा प्रा.डा. दिपराज थापा
२०८२ मंसिर २६ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोबाइलले सूचना प्राप्ति, सामाजिक सम्पर्क, सुरक्षा र व्यवसायमा महत्वपूर्ण भूमिका खेलेको छ भने शैक्षिक उपकरणका रूपमा पनि प्रयोग भइरहेको छ।
  • लामो समय मोबाइल वा कम्प्युटर प्रयोगले शारीरिक समस्या, मानसिक तनाव र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्ने अनुसन्धानले देखाएको छ।
  • बालबालिकालाई प्रविधि प्रयोगमा सन्तुलन राख्न अभिभावक र शिक्षकले रोल मोडेल भएर सही प्रयोग सिकाउनुपर्ने सुझाव दिइएको छ।

‘मेरो छोरो मोबाइल चलाउँछ, गेममा डुब्छ’ एक आमा भन्छिन्, ‘फोन लुकाउनुपर्छ, अरूका त छोराछोरीलाई मोबाइल छुनै दिँदैनन् रे ।’

धेरै अभिभावक यस कुरामा चिन्तित छन् र यी उदाहरणहरू हामी सबैका दैनिकी हुन् । सानै उमेरदेखि मोबाइल चलाउन दिँदा बच्चालाई खाना खुवाउनसमेत मोबाइल चाहिने अवस्था आएको छ।

नेपालका धेरै विद्यालयमा मोबाइल प्रयोगमा कडाइ छ । तर, किशोर–किशोरीहरूले घरमा अभिभावकसँग तर्क गरेर विद्यालयपछि मोबाइल बढी चलाउने गरेको देखिन्छ । हरेक कुराको अत्यधिक आदत राम्रो होइन । यदि नियन्त्रणमा राखियो भने फाइदाजनक हुन्छ । तर मोबाइलले नै नियन्त्रण गर्न थाल्यो भने अभिशाप बन्न सक्छ । वैज्ञानिक भाषामा मोबाइल, टिभी, कम्प्युटर, आइप्याड आदि प्रयोगलाई ‘स्क्रिन समय’ भनिन्छ। यसको फाइदा र बेफाइदा दुवै हुन्छन् ।

फाइदाहरू

आजभोलि मोबाइलका फाइदा कति छन् भनेर गन्नै सकिँदैन। मोबाइल सूचना प्राप्त गर्न, संसारसँग जडान हुन र कुनै पनि कुरा बुझ्न–जान्न अत्यन्तै आवश्यक भएको छ । त्यतिमात्र होइन, सुरक्षा सुनिश्चित गर्न पनि मोबाइलले महत्वपूर्ण भूमिका खेल्छ । दुर्घटना हुँदा अथवा आपत पर्दा हामी मोबाइलमार्फत विभिन्न किसिमका सहयोग प्राप्त गर्न सक्छौं । त्यस्तै, जानकारी लिनका लागि मोबाइल अत्यन्तै आवश्यक देखिन्छ।

मोबाइलको अर्को ठूलो फाइदा भनेको अरूसँग र साथीहरूसँग सामाजिक रूपमा बाँधेर राख्न सहयोग पुर्‍याउनु हो । यसले आफन्त र नजिकका मित्रहरूलाई नजिकै रहन र सम्पर्क कायम राख्न अत्यन्तै सजिलो बनाएको छ । सूचना र सञ्चारको हकमा, विश्वमा भइरहेका घटनाहरू र अन्य गतिविधिहरू जुनसुकै ठाउँमा भए पनि एकैछिनमा जानकारी लिन सकिन्छ।

मोबाइलले दैनिकीलाई सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । मोबाइलभित्रै क्यालकुलेटर, विभिन्न नाप्ने यन्त्र, टर्च जस्ता विविध सुविधाहरू हुन्छन्, जसले गर्दा हामीलाई सुरक्षाका लागि अन्य उपकरणहरू प्रयोग गर्न आवश्यक पर्दैन । मोबाइल भएकै कारण विभिन्न अन्य धेरै कुराहरू साथमै नभए पनि दैनिकी सहज बनाउन यसले मद्दत पुर्‍याउँछ। एक्काइसौं शताब्दीको विकाससँगै मोबाइल सानो, हलुका र जहाँसुकै लैजान सकिने उपकरण बनेको छ । यसले प्रयोगलाई अत्यन्तै सहज बनाएको छ ।

आजभोलि मोबाइलको प्रयोग मनोरञ्जनका लागि पनि प्रशस्त हुन्छ । मनोरञ्जनका क्रममा यसमा धेरै किसिमका एप्स हुन्छन्, जसले मान्छेलाई सिर्जनशील बनाउन सहयोग गर्छ- जस्तै संगीत सिर्जना गर्ने, चित्र बनाउने, अन्य सीपहरू सिक्ने र ती सीप तथा कलाहरू सञ्जालमार्फत प्रदर्शन गर्ने । यसले आफूभित्रको प्रतिभा उजागर गर्न र पोस्ट गर्न पनि सहयोग पुर्‍याउँछ ।

त्यसैगरी व्यवसाय र व्यापारका लागि पनि मोबाइलले महत्वपूर्ण भूमिका खेलेको छ । सञ्चार माध्यम प्रयोग गरेर बजारमा प्रचार–प्रसार गर्न र आफ्नो व्यापारलाई प्रभावकारी बनाउन मोबाइल अपरिहार्य बनेको छ।

मोबाइलको सबैभन्दा ठूलो र महत्वपूर्ण फाइदामध्ये एक भनेको सिर्जनशीलता र कार्यक्षमता बढाउने उपकरणका रूपमा प्रयोग गर्न सकिनु हो । आवश्यक जानकारी इन्टरनेटमार्फत तुरुन्त प्राप्त गर्न सकिन्छ । मान्छेलाई सीप र सिकाइ सिक्नका लागि पनि मोबाइलले जागृत गर्छ ।

त्यसैले मोबाइल आजभोलि शैक्षिक उपकरणका रूपमा प्रयोग भइरहेको छ । धेरै विद्यालयहरूमा कम्प्युटर र मोबाइललाई ज्ञान प्रवर्द्धन गर्न र सीप सिकाउन प्रयोग गरिन्छ ।
त्यसैले मोबाइल र कम्प्युटरलाई केबल हानिकारक उपकरणको रूपमा लिन मिल्दैन । शारीरिक तथा मानसिक अस्वस्थता भएका बालबालिका र व्यक्तिहरूका लागि प्रविधिहरू प्रयोग गर्न सकिने अवस्थाले गर्दा उनीहरूमा पनि सीप सिक्ने र क्षमता वृद्धि गर्न प्रविधिले सहयोग पुर्‍याउँछ ।

आज मोबाइल र कम्प्युटर मान्छेको दैनिकीमा अपरिहार्य बनेका छन् । त्यसैले यसका बेफाइदाहरू मात्र केलाउनु भन्दा फाइदाहरूलाई पनि बुझेर, कसरी सहीरूपमा प्रयोग गर्ने भन्ने कुरा अभिभावक, शिक्षक र विद्यार्थीहरूले जान्नुपर्छ । सही प्रयोग गर्न सके ज्ञान, सीप र क्षमता वृद्धिको लागि ठूलो सहयोग पुग्छ।

बेफाइदाहरू

बेफाइदाहरूको कुरा गर्दा सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको मोबाइल अथवा कम्प्युटर लामो समयसम्म लगातार चलाउने बानी बसाल्नु हो । जब लामो समयसम्म एकै ठाउँमा बसेर कम्प्युटर वा मोबाइल हेर्ने, खेल्ने गरिन्छ, त्यस्तो अवस्थाले शारीरिक गतिविधिहरूलाई कमजोर बनाउँछ र जीवनशैलीलाई निष्क्रिय बनाउँछ ।

आजभोलि डिजिटल प्रविधि प्रयोग गर्दा त्यसैमा निर्भर रहनु पनि एउटा महत्वपूर्ण बेफाइदा हो । आवश्यक भन्दा धेरै प्रयोग गर्नु र प्रविधिबाट एकैछिन पनि टाढा रहन नसक्नु समस्या हो । प्रविधिमा निर्भर भएपछि विशेष गरी बालबालिकाहरू खेल खेल्दा कहिल्यै खेल समाप्त गर्न मन नलाग्ने, अन्य महत्वपूर्ण काम गर्न नचाहने र केवल मोबाइल चलाउन चाहने अवस्था देखिन्छ।

प्रविधिमा निर्भर बालबालिकाहरूले जीवनका आवश्यक कुराहरूलाई प्राथमिकता दिन छोड्छन् । जस्तै – शारीरिक व्यायाम, संस्कृतिसँग सम्बन्धित गतिविधि, आफन्तसँग भेटघाट, मेलमिलाप, खाने–सुत्ने समय र शारीरिक अभ्यास आदि ।

अनुसन्धानले देखाएको छ कि- लामो समयसम्म प्रविधि प्रयोग गर्दा मोटोपन बढ्ने, शारीरिक अस्वस्थता हुने हुन्छ । जस्तै-: ढाड दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, घाँटी दुख्ने र अन्य शारीरिक समस्या देखिन्छ । यसले मधुमेह, मुटुरोग तथा अन्य रोगको जोखिम पनि बढाउँछ।

त्यसैगरी मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ । लामो समयसम्म प्रविधि प्रयोग गर्ने र त्यसमा निर्भर रहने बालबालिका तथा वयस्कहरूमा निन्द्रा नलाग्ने, चिन्ता बढ्ने, मानसिक तनाव हुने समस्या देखिन्छ।

अनावश्यक र अत्यधिक प्रविधि प्रयोगले घरमा झगडा, कलह बढाउने र आपसी सम्बन्ध बिगार्ने सम्भावना पनि रहन्छ। किनकि लामो समयसम्म प्रविधि प्रयोग गर्दा मानिसहरू आक्रामक हुने, अरूको कुरा सुन्न नचाहने, चिडचिडापन बढ्ने जस्ता व्यवहार देखिन्छ।

प्रविधिको निषेध समाधान होइन

माथि चर्चा गरिएको फाइदा र बेफाइदाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, आजभोलि प्रविधि प्रयोग गर्नुपर्ने र नगर्नुपर्ने कुराहरू बुझ्नु आवश्यक देखिन्छ । मुख्यत: आफ्नो दैनिकी र स्वास्थ्यलाई ध्यानमा राखी प्रविधि प्रयोगलाई अन्य आवश्यक गतिविधिहरूसँग सन्तुलनमा राख्न सक्नु जरुरी छ ।

आजको समय डिजिटल समय हो । सानैदेखि बालबालिकालाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को ज्ञान दिनु आवश्यक मात्र होइन, अनिवार्य भएको छ । विशेष गरी एआईको अत्याधुनिक विकासले गर्दा यसका बारेमा बुझ्न र जान्न अत्यावश्यक भएको छ। त्यसैले प्रविधि कसरी प्रयोग गर्ने भन्ने कुरा अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ ।

आजको डिजिटल प्रविधिको प्रयोगले ल्याएका समस्याहरूलाई चाँडोभन्दा चाँडो समाधान खोज्नु आवश्यक देखिन्छ । यसका लागि मुख्यत: अभिभावक, शिक्षक र वयस्कहरूले रोल मोडेलको भूमिका खेल्नुपर्छ । उनीहरूले आफ्ना बालबालिका र वरपरका मानिसहरूलाई सकारात्मक प्रभाव पार्न सक्ने उपायहरू अपनाउनुपर्छ । भोलि आउने पुस्तालाई प्रविधिको सकारात्मक पक्ष सिकाउन र हौसला प्रदान गर्न, साथै नकारात्मक पक्ष र नगर्नुपर्ने कुराहरूलाई निरुत्साहित पार्न वयस्क जमातले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।

बालबालिकाका अभिभावक र अन्य वयस्क मानिसहरू उनीहरूको अनुकरणीय व्यक्ति (रोल मोडेल) हुन सक्छन्। उनीहरूलाई प्रविधिहरू कसरी र कुन बेला प्रयोग गर्ने भन्ने कुरा सिकाउन प्रेरणादायी बनाउने जिम्मेवारी अभिभावक, शिक्षक र अन्य वयस्कहरूको हो।

त्यसैले बालबालिकालाई ‘यो गर्नुहोस्, यो नगर्नुहोस्’ भन्दै सिकाउँदा आफूले के गरिरहेको छु र कस्तो रोल मोडेल प्रस्तुत गरिरहेको छु भन्ने कुरा सोच्न आवश्यक छ । विशेषत: अभिभावक र वयस्कहरूले पनि आफ्नो दैनिकी जीवनमा प्रविधिलाई अत्यधिक प्राथमिकता नदिई अन्य आवश्यक गतिविधिहरूलाई उत्तिकै महत्व दिएर समय बाँड्न सके राम्रो उदाहरण प्रस्तुत गर्न सकिन्छ ।

जब अभिभावकहरू बालबालिका भएको ठाउँमा किताब लिएर बस्छन्, बालबालिकाहरू पनि किताब लिएर पढ्न तयार हुन्छन् भन्ने कुरा अनुसन्धानहरूले देखाएको छ । तर अभिभावकहरू लामो समयसम्म प्रविधि प्रयोग गरेर बसिरहे भने बालबालिकाहरू पनि त्यस्तै गतिविधिमा लाग्ने देखिन्छ ।

तसर्थ, जब वयस्क र अभिभावकहरू बालबालिकाको उपस्थितिमा अन्य विविध गतिविधिहरू गर्छन् र मोबाइल कम चलाउँछन्, बालबालिकाहरूले ती गतिविधिहरूको महत्व बुझ्छन् । त्यसैले हरेक घरमा अभिभावक र वयस्कहरूले घरमा रहँदा अत्यावश्यक कल बाहेक अन्य कुराका लागि मोबाइल वा अन्य प्रविधि नचलाउँदा बच्चाहरू पनि त्यही गतिविधि गर्न तयार हुन्छन्।

धेरैजसो अभिभावकहरू बालबालिका स्कुलबाट आएपछि ‘ल होमवर्क गर’ भन्छन् तर आफूचाहिँ मोबाइल चलाउने वा टीभी हेर्ने गर्छन् । यसले बालबालिकाको पढ्ने प्रेरणा कम गर्छ । तसर्थ, बालबालिकासँग सधैँ गतिविधिहरूमा सहभागी भएर उनीहरूसँग अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत हुन आवश्यक छ ।

अर्को महत्वपूर्ण कुरा, अभिभावक र वयस्कहरूले बालबालिकालाई आफू मोबाइलमा के गरिरहेको छु भनेर स्पष्ट पार्न सक्नु हो । यसो गर्दा बालबालिकाहरू पनि आफ्ना अभिभावक र वयस्कलाई आफू के गरिरहेको छु भनेर देखाउन प्रेरित हुन्छन् ।

आजभोलि मोबाइल प्रयोग नगर्नु भन्दा पनि त्यसलाई कसरी प्रयोग गर्ने, कुन गतिविधिलाई प्राथमिकता दिने, के सही र के गलत भनेर छुट्याउने– यी सबै कुरा सहीरूपमा सिकाउन र बाटो देखाउन सक्नुपर्छ । यसो गर्न सके बालबालिकालाई नराम्रो बाटोमा लाग्नबाट जोगाउनुका साथै सीप, ज्ञान र क्षमता वृद्धि गर्न सक्ने सक्षम नागरिकका रूपमा समाजमा बाँच्न प्रेरणा मिल्छ ।

पछिल्लो अनुसन्धानअनुसार, बालबालिकाहरू २ वर्ष नपुगुन्जेल उनीहरूलाई मोबाइल अथवा टीभी जस्ता उपकरणहरू हेर्न वा प्रयोग गर्न नदिनु नै उत्तम हुन्छ । दुईदेखि ५ वर्षका बालबालिकालाई दैनिक १ घण्टा, ६ देखि १२ वर्षकालाई २ घण्टा, र १३ देखि १८ वर्षसम्मका बालबालिकालाई दैनिक ३ घण्टाभन्दा बढी प्रविधि प्रयोग नगर्न सुझाव दिइएको छ।

प्रा. डा. र अनुसन्धानकर्ता थापा हाल स्वीडेनका विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनी नेपालस्थित अनुसन्धानात्मक संस्था निरी नेपालका बोर्ड मेम्बर र युरोपस्थित सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपका सह-अध्यक्ष हुन् ।

लेखक
प्रा.डा. दिपराज थापा

प्रा.डा. थापा, स्वीडेनस्थित विश्वविद्यालयका प्राध्यापक हुन् भने नेपालस्थित अनुसन्धान संस्था निरि नेपालका सदस्य र युरोपस्थित सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोपका सह-अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?