२६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ–१ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका १० जना नेताहरू सिफारिसमा परेका छन् ।
क्षेत्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष गोविन्द भट्टराईदेखि पूर्वमहामन्त्री दीपक भट्टराईसम्मका १० जना आकांक्षीको नाम जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।
पूर्वअध्यक्ष भट्टराई हाल पार्टीका केन्द्रीय सदस्य छन् । उनी २०८० वैशाखमा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका तर्फबट उम्मेदवार थिए ।
पूर्वमहामन्त्री भट्टराई महाधिवेशन प्रतिनिधि हुन् । उनी त्रिचन्द्र क्याम्पसमा नेविसंघका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विजयी भइसकेका युवा नेता हुन् ।
क्षेत्रीय समितिले प्रत्यक्षतर्फ महासमिति सदस्यहरू रामचन्द्र पोख्रेल, सरिता गुरूङ, महाधिवेशन प्रतिनिधि रेशम गुरूङसँगै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललाई पनि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको छ ।
यस्तै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रमेशबाबु भट्टराई, महाधिवेशन प्रतिनिधि (जनसम्पर्क समिति) पुरूषोत्तम खनाल, व्यास नगर कार्यसमितिका प्रवक्ता उद्धव पौडेल र क्षेत्रीय सभापति श्यामकुमार मौरती पनि उम्मेदवारका लागि सिफारिसमा परेका छन् ।
प्रतिक्रिया 4