+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चुनाव हुन ८२ दिन बाँकी छँदा किन नियुक्त भए चार मन्त्री ?

घोषित मितिमा चुनाव होला कि नहोला भनि संशय कायमै रहेको बेला शुक्रबार अकस्मात् मन्त्रिपरिषद् विस्तार भयो । के यो चुनाव सर्ने संकेत हो ? सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ मै हुन्छ । प्रधानमन्त्रीको कार्यभार घटाउन मन्त्री थपिएको हो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ मंसिर २६ गते २१:२५

२६ मंसिर, काठमाडौं । फागुन २१ गतेका लागि घोषित मिति परिवर्तन हुने विषयमा कहिँ कतै औपचारिक विचार नआइरहेका बेला चुनावी मिति सार्नपनि सकिने संकेत सहितको विचार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार बिहान सार्वजनिक गरे ।

बुधबार साँझ सरकार र जेनजीबीच भएको सहमतिको प्रसंगलाई उठाएर महामन्त्री शर्माले चुनावको मितिको विषय जोडेका थिए । उनी भन्छन्, ‘सरकार–जेनजी सहमतिलाई स्वागत ! दलहरू जोडको भोलिका लागि भरपर्दो’ बनाउन सरकार नचुक्नु पर्थ्यो । कार्यान्वयनमा यो करेक्सन जरुरी छ । फागुन २१ होइन, समाधान र संविधान मूल प्रश्न हो । जेनजी अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माण गर्न परमा वैशाख पुग्नुपरे केही बिग्रन्नँ ।’

महामन्त्री शर्माले यो लेखेको केही समयमा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेको सूचना आयो । मन्त्रिपरिषद्को संख्या ११ जना भन्दा बढी नहुने यसअघि प्रधानमन्त्रीको अभिव्यक्ति आइसकेको थियो ।

प्रधानमन्त्री कार्कीले पूर्व बोलीबाट पछि हट्दै मन्त्रिपरिषद्को आकार बढाएर संख्या १४ पुर्‍याएकी छन् । मन्त्रपरिषद् विस्तारका लागि भइरहेको भित्री प्रयासको सुइँको समेत नदिई अकस्मात मन्त्री नियुक्त गरिएको छ ।

शुक्रबार थपिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज अपरान्ह शपथ लिएका छन् । ९ कात्तिकमा तेस्रोपटक पनुर्गठन हुँदा १० सदस्यीय रहेको मन्त्रिपरिषद्लाई चौथोपटक विस्तार गरेर १४ सदस्यीय बनाइएको छ ।

सरकारले घोषणा गरेको मिति अनुसार चुनाव आउन अब तीन महिना पनि बाँकी छैन । कांग्रेस महामन्त्री शर्माको बोली र सरकारले घोषित मितिमा चुनाव गराउन ८२ दिन बाँकी रहँदा अकस्मात् मन्त्रिपरिषद् विस्तार गर्दा चुनावको मिति सार्ने आशंका थपिएको छ ।

तर, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव तोकिएको मितिमै हुने बताए । उनले मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीलाई चुनावमा झन् बढी फोकस हुनका लागि सहज होस् भनेर गरिएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू अलि बढी चुनाव केन्द्रित हुनका लागि उहाँको मन्त्रालयको कामको भार घटाउनका लागि मन्त्रिपरिषद् विस्तार भएको हो ।’

प्रधानमन्त्री कार्कीलाई मन्त्रीको संख्या थप्न जेनजी लगायतबाट दबाब थियो । सुदूरपश्चिम र कर्णालीबाट मन्त्री बनाउनुपर्ने माग भइरहेको थियो । प्रधानमन्त्री कार्कीले सम्हालेका मन्त्रालयको संख्या नै आठ थियो ।

परराष्ट्र; रक्षा; खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै काँधमा थियो ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले पनि सुदूरपश्चिम र कर्णाली क्षेत्रबाट मन्त्री बनाउनुपर्ने मागहरू उठिरहेको हुँदा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेको जानकारी दिए ।

रावलले अनलाइनखबरसँग भने, ‘सुदूरपश्चिम र कर्णाली लगायतका क्षेत्रबाट मन्त्रिपरिषद्मा सहभागिता नभएको हुँदा जेनजीहरूबाट चासो व्यक्त हुँदै आएको थियो । त्यो चासोलाई सम्बोधन गर्नपनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो ।’

प्रधानमन्त्रीले धेरै मन्त्रालय सम्हाल्दा चुनावी तयारी गर्न समेत असर हुने हुँदा मन्त्रालयको भार घटाइएको जानकारी गराइएको छ । चुनावी सरकार भएको हुँदा त्यसमै मूख्यगरी केन्द्रित हुनका लागि प्रधानमन्त्रीले आफूले सम्हालेका मन्त्रालय घटाएको बताइएको छ । यद्यपी, परराष्ट्र, रक्षा लगायतका मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मामा छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक रावलले सुदूरपश्चिम र कर्णालीबाट मन्त्री थपिएको दाबी गरेपनि यो विषय आगामी चुनावको मिति र केही मन्त्री चुनावी प्रतिस्पर्धामा जाने विश्लेषणले मन्त्रिपरिषद् विस्तार गरिएको  बुझाइ पनि छ ।

सरकारका विकासे मन्त्रालय सम्हालेका कुलमान घिसिङले चुनावी प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । कुलमान पदीय भूमिकामा नबसेर पूर्व सचिव अनुप उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरिसकेका छन् । उज्यालो नेपालको घोषणा सभामा उनी प्रमुख अतिथि बने ।

उज्यालो नेपाल पार्टीको बैठकमा सहभागी भएर उनले उम्मेदवारी दर्तासँगै मन्त्रीबाट हट्ने नेताहरूलाई जानकारी गराइसकेका छन् । महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्री चुनावी प्रतिस्पर्धामा उत्रँदा समेत प्रधानमन्त्रीलाई सरकार सञ्चालनमा कठिनाइ हुन नदिन शुक्रबार थप मन्त्री नियुक्त गरेको सरकारी उच्च स्रोत बताउँछ ।

कुलमानले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय सम्हालेका छन् । बहालवाला एक मन्त्रीका अनुसार, दुई जनाले चुनावी प्रतिस्पर्धा गर्न चाहेका छन् । ती मन्त्रीको दाबी अनुसार उर्जामन्त्री कुलमान र सञ्चार तथा सूचना प्रविधि जगदिश खरेल चुनावी प्रतिस्पर्धा गर्ने  संकेत प्रधानमन्त्रीले पाएकी छन् ।

अर्का एक मन्त्री भन्छन्, ‘दुई जना बाहेक अरु मन्त्रीले चुनावमा उम्मेदवार नहुने प्रतिबद्धता प्रधानमन्त्रीसँग गरिसकेका छन् । यदी दुई जनाले छोडे भने त्यसका लागि पनि प्रधानमन्त्रीलाई व्याकअप प्लान चाहियो नि ।’

चुनावीमा उम्मेदवार हुन दुईजना बाहिरिए प्रधानमन्त्री कार्कीले भने अनुसार मन्त्रिपरिषद्को आकार ११ वरपर नै रहन सक्छ ।

चुनाव तोकिएकै मितिमा गर्न र प्रभावकारिता बढाउन मन्त्रिपरिषद् विस्तार गरिएको सरकारी पक्षको भनाई छ ।  प्रधानमन्त्रीलाई मन्त्रालयको भार घटाउन, चुनावमा बढी केन्द्रीत हुन, भौगोलिकता अनुसार सन्तुलन मिलाउन मन्त्रिपरिषद् विस्तार गरेको जानकारी गराइएको छ ।

भौगोलिकता अनुसार छुटेका क्षेत्र समेट्न र विवादित नहुने व्यक्ति खोज्नका समय लगाएर तयारी गरेको एक मन्त्रीले सुनाए । उनी भन्छन्, ‘सुदूरपश्चिम र कर्णालीबाट जेनजी आन्दोलनमा मृत्यु हुने र घाइते धेरै भएका तर त्यहीका मन्त्री नहुँदा दिनहुँ आएर प्रधानमन्त्रीलाई भनिरहन्थे,’ सरकारका मन्त्रीले सुनाए, ‘आजको मन्त्रिपरिषद् विस्तारले प्रादेशिक सन्तुलन कायम भएको छ ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?