मंसिर २६, काठमाडौं । ‘पुरै इतिहास हेर्नुस्, म जुन ठाउँमा उभिएँ, संस्थापन त्यही पक्ष भयो,’ यो भनाइ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हो । एउटा अन्तर्वार्तामा व्यक्त यही धारणा जस्तै छ, उनको पार्टी जीवन ।
एघारौं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका पोखरेलको राजनीतिक यात्रा २०२४ सालबाट शुरु हुन्छ । २०२७ सालमा नेकपा (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता लिएका उनले त्यसको तीन वर्षपछि भूमिगत राजनीतिक जीवन रोजे ।
अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माले) हुँदै अहिलेको एमालेसम्म आईपुग्दा पोखरेलले सीपी मैनाली, झलनाथ खनाल, मनमोहन अधिकारी, मदन भण्डारी, माधव नेपाल र केपी शर्मा ओलीको नेतृत्वमा बसेर काम गरे, संस्थापन पक्षमा रहेर । अर्थात् उनी जता उभिए बहुमत त्यतै देखियो । वा जता शक्ति सोझियो त्यसलाई चाल पाएर उनी पनि त्यतै मोडिए ।
२०१० सालमा ओखलढुंगामा जन्मेमा उनी २०३३ सालमा कोकेको केन्द्रीय कमिटी सदस्य बनेका थिए । २०३५ सालमा गठित मालेको संस्थापकमध्येका एक पोखरेलले २०३९ सालमा महासचिव सीपी मैनालीलाई कारबाही गर्दा बहुमत पक्षलाई नै साथ दिए ।
त्यतिबेला महासचिवबाट हटाईएका मैनाली भन्छन्, ‘त्यतिबेला राजीनामा अस्विकार गरेर मलाई बर्खास्त गरिएको थियो, मार्क्सवादी कोणबाट हेर्दा गलत निर्णय हुँदा पनि बहुमतको पुजारी बन्नु सही होइन ।’
२०४६ भदौमा सम्पन्न चौथों महाधिवेशनसम्म झलनाथ खनाल मालेको महासचिव रहे । त्यसपछि मदन भण्डारी महासचिव बने । माले र नेकपा (माक्र्सवादी) एकीकरण भएर बनेको एमालेको संस्थापक सदस्य हुन्, पोखरेल ।
मनमोहन अधिकारी अध्यक्ष र महासचिवमा पुनः भण्डारीलाई चयन गरेको पाँचौं महाधिवेशनमा पोखरेल केन्द्रीय कमिटीमै थिए । २०५१ मा अधिकारी प्रथम कम्युनिष्ट प्रधानमन्त्री बन्दा उनले प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी पाए ।
नेपालगन्जमा भएको छैठौं महाधिवेशनबाट उनी स्थायी कमिटीमा बढुवा भए । २०५४ को यो महाधिवेशनबाट अधिकारी अध्यक्षमा दोहोरिए भने माधव नेपाल नयाँ महासचिव बनेर आए । सातौं महाधिवेशनबाट नेपाल दोस्रो पटक महासचिव बन्दा पोखरेल स्थायी कमिटी सदस्यमै दोहोरिए । त्यतिबेला उनी भन्दा माथिल्लो वरियतामा महासचिव नेपाल र अर्का स्थायी कमिटी सदस्य अमृत बोहरा मात्र थिए ।

आठौं महाधिवेशनबाट बहुपदमा गएको एमालेमा केपी ओलीलाई पराजित गरेर झलनाथ खनाल अध्यक्ष चुनिए । त्यतिबेला पोखरेल खनाल पक्षबाट महासचिव निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा माधव नेपाललाई पराजित गरेर केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए । दोस्रो पटक महासचिव निर्वाचित हुँदा भने पोखरेल ओली पक्षमा पुगेका थिए ।
एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ सालमा भएको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भने उनी महासचिव रहेनन् । अघिल्लो महाधिवेशनबाट उपमहासचिव बनेका विष्णु पौडेल महासचिव बन्दा पोखरेल सचिवालय सदस्यमा घटुवा भए ।
चितवनमा सम्पन्न दशौं महाधिवेशनमा ओली र भीम रावलले अध्यक्षमा उम्मेदवारी दिए । ओलीलाई साथ दिएका उनी त्यही महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष चुनिए । ‘उहाँमा संधै बहुमत पुग्ने पक्षमा उभिने अदभुत क्षमता देखियो,’ कोकेदेखि नै पोखरेलसँग एउटै कमिटीमा रहेर काम गरेका एक नेता भन्छन् ।
भनिन्छ, बाह्र वर्षमा खोला फर्किन्छ तर पोखरेललाई संस्थापनको विपक्षमा मुख खोल्न पाँच दशक लाग्यो । गत असारमा पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई स्वागत गरेर उनले संस्थापनलाई चुनौती दिए । त्यसलगत्तै साउनमा बसेको सचिवालय बैठकमा त अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव नै अघि सारे ।
त्यसको चार महिनापछि उनले औपचारिक रुपमै अध्यक्षमा उम्मेदवारी घोषणा गरे । पोखरेलसँग कोकेदेखि एउटै कमिटी रहेर काम गर्दै आएका एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने वरिष्ठ उपाध्यक्षले अध्यक्ष दाबी गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् । उनको बुझाइमा पोखरेल निरन्तर संघर्ष गर्न सक्ने थोरै नेताहरू मध्येका एक हुन । न्यौपाने भन्छन्, ‘जनताको बीचमा रहेर लगातार काम गर्न सक्ने उहाँको क्षमताको म प्रशंसक हुँ ।’
पूर्व राष्ट्रपति भण्डारीले एक दशक अघि नै ओलीपछि पोखरेललाई अध्यक्ष बनाउने कुरा भएको बताएकी छन् । भण्डारीले दुई साताअघि कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्ता अनुसार २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा पोखरेललाई ओलीको टीममा ल्याउने क्रममा यो विषयमा छलफल भएको हो । पोखरेलले भने यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

पूराना सहकर्मीहरू उनलाई कर्मयोगी, विचार दिने तहको, अरुलाई नबिझाउने, कुशल संगठकको रुपमा समेत चिन्छन् । तीनै मध्येका एक राधाकृष्ण मैनालीका अनुसार पोखरेलसँगै प्रदीप नेपाल, मुकुन्द न्यौपाने, गोपाल शाक्य र वामदेव गौतमहरू मालेकालमै राम्रो संगठकको रुपमा परिचित थिए । उनी एमालेका अहिलेका नेताहरूमध्ये मुकुन्द न्यौपाने, अमृत बोहरा र पोखरेललाई सबैभन्दा राम्रा संगठक भन्न रुचाउँछन् । ‘मेरो विचारमा नीति निर्माण पक्षमा ओली र संगठन निर्माणको हिसाबले पोखरेल अब्बल छन्’, मैनाली भन्छन् ।
पञ्चायतकालमा करिब डेढ दशक भूमिगत जीवन बिताएका पोखरेल २०५४ मा राष्ट्रिय सभा सदस्य, २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । दुई पटक उपप्रधानमन्त्री बनेका उनले रक्षा, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलको नेतृत्व गरिसकेका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पोखरेल आपूर्ति मन्त्री थिए । त्यतिबेलाका स्वास्थ्य मन्त्री अशोक राईको मुल्यांकनमा पोखरेल धैर्यवान र संघर्षशील नेता हुन् । एक दशक पहिले एमाले छाडेर जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका राई भन्छन्, ‘अहिले चटपटे नेताको जमाना छ, उहाँ ताहुरमाहुर नगर्ने खालको नेता हुनुहुन्छ ।’
ईश्वर पोखरेल सँधैका संस्थापन पक्ष भएकाले एमाले जति बन्यो त्यसमा उनको पनि योगदान छ । तर जति बिग्रियो त्यसको भाग उनमा पनि लाग्छ । किनकी पार्टीभित्रको मूल नेतालाई चलाउने मुख्य जिम्मेवारीमा उनी सँधै रहेन्थे । उनी केपी ओलीकै समकालीन नेता हुन् । त्यसैले प्रत्येक राजनीतिक घुम्तीहरुमा उनी पनि सारथीको रुपमा जोडिएका छन् ।
केपी ओलीको दुई कार्यकालमा पनि उनी महासचिव र वरिष्ठ उपाध्यक्ष बनेर काम गरे । ओलीको पहिलो कार्यकालमा उनले महासचिवको रुपमा ओलीसँग नजिक रहेर काम गरे । ओलीको दोस्रो कार्यकालमा उनी वरिष्ठ उपाध्यक्षको रुपमा काम गरे । केही महिना अघिसम्म उनले ओलीका निर्णयहरुको रक्षा गरेकै हुन् । जब विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय भयो त्यसपछि चाहिँ उनी केही फरक कित्तामा उभिँदै गए । अहिले उनी जेनजी आन्दोलनपछि उठिरहेको नेतृत्व हस्तान्तरण र रुपान्तरणको एजेण्डा बोकेर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न उत्रिँदैछन् । यसपटक उनी जता उभिन्छन् त्यता बहुमत पुग्छ कि पुग्दैन त्यो भने महाधिवेशन प्रतिनिधिकै हातमा छ ।
प्रतिक्रिया 4