२७ मंसिर, काठमाडौं । देशकै सानो जिल्ला भक्तपुरको सल्लाघारीस्थित खुला मैदानबाट नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ । विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहित सल्लाघारी पुगेको जनसभाबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे ।
भाषणको शैली फेर्दै लिखित मन्तव्य प्रस्तुत गरेका ओलीले महाधिवेशनको सन्देश र अर्थ बुझाउने कोशिस गरेका थिए । ओलीको सम्बोधन सुन्दा यो महाधिवेशन एमाले जीवनको यो नियमित प्रक्रिया मात्र नभएर विशेष सन्देश दिन पनि महाधिवेशन गरिएको हो ।
‘सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू, जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो,’ ओलीले भने, ‘जति बेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो । र, एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।’
जेनजी आन्दोलनपछिका केही दिन ओलीले भनेजस्तै राजनीतिक दलहरुले बोल्न सक्ने स्थिति थिएन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनाउनु परेको थियो । तर कार्की नेतृत्वको नागरिक सरकार गठन भएपछि भने दलहरूले आफ्ना गतिविधि बढाएका छन् ।
जेनजी आन्दोलन दमनको आरोप लागेको सरकारको नेतृत्व गरेको एमाले र तत्कालीन प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिस्तारै गतिविधि बढाएका छन् । आजको जनप्रदर्शनलाई एमाले फेरि उठेको सन्देशका रुपमा बुझ्नुपर्ने ओली सहित एमाले नेताहरुले बताएका छन् ।

‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिदै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,’ अध्यक्ष ओलीले घोषणा गरेका छन् । ओलीकै जस्तो दाबी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि गरेका छन् ।
ओली सहित नेताहरुले यस्तो भाषण गर्ने तयारी गत कात्तिक दोस्रोबाटै सुरू भएको थियो । ओलीको अस्थायी निवास गुन्डुमा गत १५ कात्तिकमा बसेको सचिवालय बैठकबाटै सडक प्रदर्शनबाट राष्ट्रिय सन्देश दिने निर्णय भएको थियो । सडक प्रदर्शनलाई प्रतिनिधि सभा पुनर्स्थापना संविधान र लोकतन्त्रको रक्षा गर्न भनिए पनि पार्टीका पक्षमा महोल सिर्जना गर्ने उद्देश्य लुकेको थिएन ।
नभन्दै, सचिवालय बैठकको निर्णय बमोजिम एमालेले देशभर आफ्ना कार्यकर्ता उतारे । २२ कात्तिकमा सबै वडामा, २५ कात्तिकमा सबै पालिका र २९ कात्तिकमा सबै जिल्लामा जनप्रदर्शन गरेको एमालेले ६ मंसिरमा भृकुटीमण्डपमा जनप्रदर्शन गरेको थियो ।
६ मंसिरको जनसभा पछि नेताहरुले आजको मिति तोक्दै विशाल जनप्रदर्शन हुने बताउने गरेका थिए । ‘२७ गतेका दिन नेपालको इतिहासमै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ,’ गत १७ कात्तिकमा राजधानीमै आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले भनेका थिए ।
त्यो बीचमा नेशनल भोलियन्टर फोर्सको ब्यानरमा महेश बस्नेत सहितका नेताहरुले समेत केही ठाउँमा प्रदर्शन गरेका थिए । यद्यपि यो समूहको प्रदर्शन भने एमालेलाई प्रत्यूत्पादक बन्यो ।
अर्थात् आजबाट शुरु भएको एघारौं राष्ट्रिय महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र जत्तिकै महत्व राष्ट्रिय राजनीतिका निम्ति हुने पोखरेलको भनाई थियो । सार्वजनिक अभिव्यक्तिजस्तै आजको जनप्रदर्शनलाई अर्थपूर्ण बनाउन पार्टी नेता–कार्यकर्ता परिचालित भएका थिए ।

उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा जनपरिचालन समिति बनेको थियो । यो समितिले बागमती प्रदेशका जिल्लाहरुमा वडावडासम्म निम्तो पत्र बाँडिएको थियो ।
‘महाधिवेशनमा जनसहभागिता बढाउन हामीले वडावडासम्म पुगेर निम्तो दियौं, घरघर पुग्यौ,’ बागमी प्रदेश कमिटी सचिव नवराज सिलवाल भन्छन्, ‘अहिलेको प्रतिकुल अवस्थामा पनि जुन ढंगले वडावडासम्म पुग्यौं, त्यसले जनतामा आत्मविश्वास भरेका छौ ।’
जनप्रदर्शनका निम्ति विशेषगरी राजधानीका तीन जिल्ला र बागमती प्रदेशलाई प्राथमिकतामा राखिएको थियो । प्रदेशका इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुंगेल सहितका नेताहरु ब्यापक जनसहभागिता जुटाउने कार्यमै खटिएका थिए ।
बागमती बाहेक छिमेकी प्रदेशहरु मधेश, गण्डकी र कोशीलाई पनि जनसहभागिता जुटाउने दायित्व दिइएको थियो । राजधानी बाहिरबाट मान्छे ल्याउन संयोजन गर्ने काम सम्पर्क मञ्चहरुले गरेका थिए । नेताहरुका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकर्ताहरु ल्याउने विशेष दायित्व दिइएको थियो ।
‘कार्यक्रममा मान्छे ल्याउने प्रबन्ध एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दिइएको छ,’ एक नेता भन्छन् । जनसंगठनहरुको लगातार बैठक राख्दै मान्छे जुटाउने निर्देशन दिइएको थियो ।
जेनजी आन्दोलनपछि पनि पार्टीलाई असर नपरेको सन्देश दिने आजको जनपरिचालनलाई कति महत्व दिइएको थियो भन्ने बुझ्न ओलीकै नामबाट निम्तो पत्र बाँड्नुले प्रष्ट पार्छ । सल्लाघारीको सभामा भाग लिइदिन बागमती प्रदेशका टोलटोलसम्म ओलीको नाममा प्रकाशित पत्र बाँडिएको थियो ।
तर दावी गरिएजस्तो जनसहभागिता नभएको स्वंय ओलीले स्वीकारे । उनले सल्लाघारीको सभालाई प्रतिनिधित्वको संज्ञा दिए ।

‘नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं,’ ओलीले भने, ‘तर यिनै थोपाभित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।’
प्रचार प्रमुख गौतम, सल्लाघारीमा उद्घाटन भएको एघारौं महाधिवेशनले मूख्यगरी तीन सन्देश गएको बताउँछन् । ‘पहिलो सन्देश हो, एमाले जनताको साथी हो, जताको साथमा छ । आजको मानव सागरले त्यो प्रष्ट गरेको छ,’ गौतम भन्छन् ।
बाँकी दुई वटा सन्देश भने मुलुकको स्वाधीनता, संविधान र लोकतन्त्रको जोगाउने कार्यसँग जोडिएको उनी बताउँछन् । ‘राष्ट्र, राष्ट्रिय एकता, सार्वभौम सत्ताको रक्षक शक्ति एमाले हो भन्ने अनुमोदन सल्लाघारीबाट भयो,’ उनी भन्छन्, ‘तेस्रो सन्देश हो, संविधान र लोकतन्त्र जोगाउने एमालेको संकल्पलाई जनताले साथ दिनेछन् ।’
शुभकामना सन्देश दिन बोलाइएका अरु दलका नेताहरुबाट समेत एमालेलाई आफ्नो उद्देश्य पुष्टि गर्न सहयोग पुगेको देखियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बाहेक अरु दलका नेताहरुले मुख्य दलहरुलाई जोगाउनु नै मुलुकको हितमा हुने सार्वजनिक निष्कर्ष सुनाए ।
सम्बोधनको अन्त्यमा भने ओलीले पार्टीले लिएको लक्ष्य पुरा गर्न आन्तरिक एकतालाई जोड दिनुपर्ने निष्कर्ष पनि सुनाए ।
एघारौं महाधिवेशनमा रहेको दुई वटा एकलाई प्रतीक मान्दै ओलीले भने, ‘हामी प्रत्येक एक–एमालेले, अर्को एक–एमालेसँग हात मिलाउँदा, छुट्टा–छुट्टै एक रहँदैनौं, एउटै एघार बन्छौ, बलियो शक्ति बन्छौं ।’ तर एउटा एमाले र अर्को एमालेबीच रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरेमा साधरण एक मात्र रहने उनको निचोड छ ।
प्रतिक्रिया 4