२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।
४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरुलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको गौतमले जानकारी दिए । त्यसको क्लस्टर तयार पार्न पार्टी नेतृत्वलाई जिम्मा दिइएको उनको भनाइ छ ।
‘अन्डर फोर्टी भनेर जो प्रतिनिधि आएका छन्, त्यसको क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ । पुराना विद्यमान क्लस्टरहरुमा युवाहरुको प्रतिनिधित्व गराउने कुरामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुको विशेष जोड छ,’ उनले भने, ‘त्यसमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझै भनेर भन्दा अन्डर फोर्टीको १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’
उनले यस विषयलाई छलफल गरेर अन्तिम निष्कर्षमा पुर्याउने बताए ।
नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गत भदौमा आयोजित विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । त्यसमा पहिलेको वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाइएको छ । कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।
केन्द्रीय कमिटीले गरेको सो निर्णय महाधिवेशनको बन्दसत्र हलबाट अनुमोदन गराइने छ ।
प्रतिक्रिया 4