News Summary
Generated by OK AI. Editorially reviewed.- ज्योति विकास बैंकले बर्दिबासका कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार र आक्रमण भएको घटनाको घोर निन्दा जनाएको छ।
- कर्जाको किस्ता छलफलका लागि पुगेका कर्मचारीलाई ऋणी र सहयोगीले नियन्त्रणमा लिई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैंकले स्पष्ट पारेको छ।
- बैंकले आपराधिक कार्य विरुद्ध कडा कारबाही र सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।
२९ मंसिर, काठमाडौं । ज्योति विकास बैंक बर्दिबासका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति बैंकले निन्दा जनाएको छ ।
रुपनी शाखाबाट ऋण लिएका सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भन्दै बोलाएपछि क्षेत्रीय कार्यालय बर्दिबासका २ कर्मचारी फर्ममा पुगेका थिए ।
सो क्रममा फर्मका सञ्चालक तथा ऋणी र निजका परिवार तथा सहयोगीले कर्मचारीलाई नियन्त्रणमा लिई नियोजित रुपमा दुर्व्यवहार गर्दै आक्रमण गरेको बैंकले स्पष्ट पारेको छ ।
‘छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको आपराधिक घटनाको घोर भत्सर्ना गर्दछौं’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ।
अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट कर्मचारीलाई घन्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा यो घटना भएको बैंकको भनाइ छ ।
‘कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रीय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहीन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको छ’ बैंकले विज्ञप्तिमा भनेको छ ।
पछिल्लो समय विभिन्न अराजक तथा अपराधिक गतिविधिको निशानामा बैंक तथा वित्तीय संस्थाहरू परिरहेका छन् । यस्ता आपराधिक कार्यहरूको घोर निन्दा तथा भत्सर्ना गर्दै अपराधीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न बैंकले माग गरेको छ ।
साथै आपराधिक मनसायले गरिने कार्यविरुद्ध ज्योति विकास बैंकले सधैं कडा रूपमा उभिने प्रतिबद्धता जनााएको छ ।
प्रतिक्रिया 4