२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् ।
सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गरे ।
‘हामी पार्टीको महाधिवेशन समय अगावै सम्पन्न गर्नेगरी लागिरहेका छौं । अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण छ । त्यसलाई सामना गर्नको लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अघि बढ्न खोजिरहेका छौँ । त्यसका लागि मैले पार्टीको महासचिवमा दोहोरिने फैसला गरेको छु । यसअर्थमा यसलाई स्वभाविक अर्थमा लिनुपर्दछ । गर्न बाँकी काम आन्दोलनको विषय हो कुनै व्यक्तिको विषय होइन,’ उनले भने ।
उनले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरू सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू चल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
‘आन्दोलनले के कुराको माग गर्दछ ? कसरी अगाडि बढ्नुपर्दछ भन्ने आधारमा पार्टीले दिएका फैसलाहरूलाई कार्यकर्ताहरूले कार्यान्वयन गर्ने गर्दछौँ । यतिबेला हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प गरेका छौँ । र उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नुपर्दछ भन्ने भुमिकाका आधारमा हामी अगाडि बढ्न खोजेका छौं,’ उनले भने ।
उनले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरू सामना गर्ने संकल्प समेत आफूहरूले गरेको बताए ।
प्रतिक्रिया 4