२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।
डिजल र मट्टीतेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।
समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजल/मट्टीतेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजल/मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया 4