२ पुस, जुम्ला । नेपाली कांग्रेस जुम्लाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले सभापति कर्णबहादुर शाही, विघटित प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम प्रतयक्षतर्फ सिफारिस गरेको हो ।
सेजुवाल नेपालकी पहिलो जननिर्वाचित महिला मेयर हुन् । उनी २० वर्षपछि भएकोस्थानीय तह निर्वाचन २०७४ मा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् ।
जुम्लाबाट समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ । जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, खस-आर्य समूहबाट धनबहादुर बस्नेत, गोविन्दबहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य र परेकलाल घर्ती सिफारिस भएका छन् ।
यस्तै दलिततर्फ गोरखबहादुर सुनार, महिला तथा दलिततर्फ माया नेपाली, महिलातर्फ नेत्रकला शाही र नविना केसी बडुवाल र अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लालबहादुर जिसी तथा रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ ।
जुम्लाबाट राष्ट्रियसभाका लागि चार जना आकांक्षीहरूको नाम केन्द्रमा पठाइएको छ । कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रियसभा उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन् ।
प्रतिक्रिया 4