२ पुस, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पहिलो केन्द्रीय समितिको बैठकमा शपथमा उल्लेखित एक शब्दावलीमा नेताहरूले प्रश्न उठाएका छन् ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी संरक्षक डा. बाबुराम भट्टराईले सहभागीहरूलाई शपथ गराएका थिए । केन्द्रीय सदस्यहरूलाई गराइएको शपथमा ‘सम्मुन्नत समाजवादप्रति प्रतिबद्ध रहँदै’ भन्ने वाक्यांश परेको थियो ।
संरक्षक भट्टराईले सपथ गराउने क्रममा वाचन गर्दैगर्दा केन्द्रीय सदस्य बामदेव क्षेत्रीले प्रश्न उठाएका थिए । वामदेवले शपथमा उल्लेखित ‘समुन्नत समाजवाद’ पार्टीको नीति भएको टुंगो लागिसकेको हो ? भन्दै प्रश्न गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार क्षेत्रीको प्रश्नमा अन्य केही नेताहरूले पनि समर्थन गरेका थिए । जसका कारण केहीबेर शपथ कार्यक्रम अवरुद्ध भएको थियो ।
त्यसपछि समुन्नत समाजवाद शब्दावलीबारे नेता राम कार्कीले प्रष्ट्याएका थिए । प्रलोपाको राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी पाएका नेता कार्कीले यसबारे प्रष्टाएका थिए । समुन्नत समाजवादबारे पार्टीभित्र बहस चलाउँदै जाने सहमति अनुसार शपथ लिने कार्यले निरन्तरता पाएको थियो ।
आज सकिने केन्द्रीय समितिको बैठकले नेताहरूको कार्यविभाजन, भावी कार्यदिशा लगायतमा निर्णय लिने नेताहरूले जानकारी गराएका छन् । सरकारले तोकेको समयमा चुनाव हुन सकेन भने त्यसबाट आउने संकटमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तय गरेर बैठक सकिने नेताहरूले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4