२ पुस, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ३०औं कार्यकारिणी समितिका लागि मधेश प्रदेशको संयोजक रूपमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
डा. मगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी घोषणासँगै उनले ६बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
‘जागौं चिकित्सक, जागौं ! सबल र अब्बल एनएमए बनाउन लागौं’ भन्ने नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्दै डा. सिंहले चिकित्सकहरूका थाती रहेका तलब र सुरक्षा सम्बन्धी मुद्दालाई प्राथमिकता दिने बताएका छन् ।
उनले चिकित्सकहरूको अधिकार सुनिश्चितता, निजी संस्थामा कार्यरत चिकित्सकहरूको तलब, सुविधा र अन्य समस्याहरूको दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने, तीन दशकदेखि यथास्थितिमा रहेको दरबन्दी समयानुकूल बनाई रोजगारी सृजना गर्न सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी, पोस्ट ग्राजुएट गरेका तर दरबन्दी अभावमा बढुवाबाट वञ्चित चिकित्सकहरूका लागि सरोकारवाला निकायसँग पहल गर्ने, सरकारी नियुक्तिमा व्याप्त दलगत प्रवृत्तिको अन्त्य उनको प्रतिबद्धता छ ।
त्यसैगरी प्रदेशस्तरीय एनएमए शाखाहरूबीच समन्वय गरी सेवा, सुविधा, सुरक्षा र शैक्षिक क्रियाकलापहरू वार्षिक कार्यतालिका अनुसार सञ्चालन गर्ने पनि उनको प्रतिबद्धतामा उल्लेख छ ।
को हुन् डा. उदयनारायण सिंह ?
डा. सिंह कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरेका परिचित चिकित्सक हुन् ।
नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत उनी महामारीको समयमा कोभिड प्रमुखको रूपमा संक्रमितहरूको उपचारमा सक्रिय थिए । आफैं एम्बुलेन्स चलाएर संक्रमितहरूलाई अस्पताल पुर्याउने उनको भूमिकाले स्वास्थ्य क्षेत्रमा उनलाई थप लोकप्रिय बनाएको थियो ।
यसबाहेक, वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणमा पनि उनको भूमिका महत्वपूर्ण थियो । चिकित्सक संघ नारायणी शाखाको सदस्य तथा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका डा. सिंह विगत लामो समयदेखि नारायणी अस्पतालको प्रवक्ताको भूमिका छन् ।
सर्पदंश उपचार व्यवस्थापनमा समेत उनको योगदान अतुलनीय छ । तराईका जिल्लाहरूमा अत्यधिक सर्पदंशका घटनाहरू हुने गर्छन् । जसबाट धेरै नागरिकहरूले वर्षेनि ज्यान गुमाउँदै आइरहेका छन् । तर सर्पदंशबाट मानिसहरूको ज्यान जोगाउन उनको भूमिका प्रशंसा योग्य छन् । जसका कारण तराई-मधेशका ग्रामीण भेगमा डा. सिंह लोकप्रिय छन् ।
प्रतिक्रिया 4