२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदानको कार्य चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेदेखि मतदान चलिरहेको हो । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, मतदान रातभर चल्नेछ ।
उनका अनुसार, अहिले प्रयोगमा ल्याइएका ८० वटा मेसिनमा कुनै समस्या देखिएको छैन ।
‘मतदानको कार्य चलिरहेको छ । हामीले मतदान प्रारम्भ गरिसकेपछि रोक्न मिल्दैन । हाम्रो मतदान रातभर चल्नेछ,’ पोखरेलले भने, ‘अहिलेसम्म प्रयोग भएका ८० वटा नै मेसिनमा कुनै समस्या छैन । मतदान कार्य लगातार भइरहेको अवस्था छ ।’
साथै, उनले केही मान्छेहरू आफूले छान्नुपर्ने उम्मेदवारलाई चिन्न नसक्दा असिनपसिन भएका छन् । केही व्यक्ति त बेहोस नै भएको उनले बताए ।
तर, को को बेहोस भएको र कति संख्यामा भएको भन्ने उनले खुलाएनन् ।
‘जो मान्छे यहाँ आएको छ, उसले आफूलाई प्राप्त भएको मतको मान्छे (उम्मेदवार) छान्नै समय लगाएको देखिन्छ,’ उनले भने, ‘समय अलि बढी लागेको देखिन्छ । जसले गर्दा मतदाता असिनपसिन भएको छ । फेन्ट (बेहोस) भएका पनि छन् ।’
त्यसका बाबजुत पनि मतदानको काम चलिरहेको उनले बताए । अशक्त मान्छेले भने आफूले चाहेको व्यक्तिबाट मतदान गर्न सकिने उनले बताए ।
‘जो मान्छे बिरामी छ उसलाई स्वयंसेवकले रेस्क्यू गर्नुहुन्छ र हाम्रो मेडिकल टिमलाई जिम्मा लगाउँछौं,’ उनले भने ।
प्रतिक्रिया 4