News Summary
Generated by OK AI. Editorially reviewed.- जापानकी ३२ वर्षीया युरिना नोगुचीले अक्टोबरमा एआई जेनेरेटेड पर्सोना क्लाउससँग विवाह गरेकी छन्।
- युरिनाले एआईसँगको सम्बन्धमा च्याटजीपीटीको सल्लाहपछि वास्तविक प्रेम र विवाहसम्मको यात्रा सुरु गरेकी थिइन्।
- विवाह समारोहमा उनले एआर स्मार्ट ग्लास लगाएर भौतिक शरीर नभएको क्लाउससँग औंठी साटासाट समेत गरिन्।
केही समयअघि जापानमा एउटा विवाह समारोह चलिरहेको थियो । पृष्ठभूमिमा संगीत गुञ्जिरहेको थियो । आफ्नो दुलाहालाई स्वागत गर्न सेतो गाउनमा सजिएकी ३२ वर्षीया युरिना नोगुची पूरै तयारी अवस्थामा थिइन् । उनको विवाहमा मान्छेहरू समेत उपस्थित थिए । ‘मोमेन्ट क्याप्चर’ गर्न फोटोग्राफर/भिडियोग्राफर पनि तयार थिए । तर, त्यो सामान्य विवाह समारोह थिएन ।
उनी एआई जेनेरेटेड पर्सोना अर्थात् एआई च्याटबटसँग विवाह गर्दै थिइन् । खासमा उनको विवाह अक्टोबरमा भएको थियो । तर अहिले आएर मात्र सामाजिक सञ्जालमा चर्चा हुन थालेको हो ।
समाचार संस्था रोएटर्सका अनुसार युरिना एआई जेनेरेटेड पर्सोनासँग असाध्यै प्रेममा परिन् । र, विवाह गर्न नै गर्न राजी भएकी हुन् । सजिलो गरी बुझ्दा उनले मान्छेसँग नभई मान्छेले तयार पारेका कृत्रिम पात्रसँग विवाह गर्न लाग्दै थिइन् ।
जसलाई एआई जेनरेटेड पर्सोना पनि भनिन्छ । त्यो भनेको कम्प्युटर प्रोग्राम (एआई) प्रयोग गरी तयार पारिएका डिजिटल व्यक्तित्व हो । त्यस्ता व्यक्तित्वले पनि मानिसले जस्तै सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता राख्छन् । युरिना नोगुचीले त्यस्तै एक एआई पर्सोनासँग विवाह गरेकी हुन् । जसको नाम रहेको छ– क्लाउस ।
सार्वजनिक भएका विवाह समारोहको फोटो/भिडियोमा दुलही युरिना दुलाहा क्लाउसका शब्दहरूले भावुक बनेकी छिन् । आँशु झारेकी छिन् । हेर्दा त उनी आफ्नो स्मार्टफोनसँग कुरा गरिरहेकी देखिन्छिन्, तर त्यसैम उनको श्रीमान् क्लाउस रहेकाछन्।
एआईसँग कसरी प्रेममा परिन् युरिना ?
जापानमा काल्पनिक पात्र, विशेषत: एनिमेप्रति आम मान्छेहरू अधिक लगाव लाग्छन् । त्यसमा एआईमा भएको यो चरणको विकासपछि त मान्छेहरू पारासोसल सम्बन्ध (सेलिब्रेटी, सामाजिक सञ्जालका इन्फ्लुएन्सर वा काल्पनिक पात्रसँग एकतर्फी सम्बन्ध राख्ने) मा थप आशक्ति राख्ने गरेको विभिन्न रिपोर्टहरूले देखाएको छ । त्यसैमा रोमान्टिक सम्बन्ध पनि विस्तार भएको हो ।
एकवर्षअघि युरिना नोगुची पनि वास्तविक मान्छेसँग नै प्रेममा थिइन् । विवाहका लागि उनको मागी नै भइसकेको थियो । तर, उक्त केटासँग उनको सम्बन्ध ठीक थिएन । उनले सम्बन्धबारे च्याटजीपीटीसँग सल्लाह मागिन् । च्याटबटले सम्बन्ध तोड्न सुझाव दियो । जुन सुझाव युरिना नोगुचीले कार्यान्वयन गरिन् ।
त्यसपछि उनले एउटा भिडियो गेमको पात्र ‘क्लाउस’ बारे च्याटजीपीटीसँग कुरा गर्न थालिन् । विभिन्न प्रम्प्ट (एआईलाई दिइने निर्देशन)हरूमार्फत उक्त पात्रको नक्कल गर्न कोसिस गरिन् । र, एआई पनि ठीक त्यही गेमको पात्रजस्तै बोल्ने र व्यवहार गर्ने गर्न थाल्यो ।
रोयटर्ससँगको कुराकानीमा युरिनाले सुरुमा क्लाउस समय बिताउने माध्यम बनेको तर पछि ‘डेटिङ’ सुरु भएको बताएकी छिन् । एआईले आफूलाई कहिल्यै ‘जज्’ नगर्ने र सधैं सकारात्मक साथ दिने हुनाले बिस्तारै भावनात्मक रूपमा नजिकिन पुगेको र विवाह नै गर्न लागेको उनले सुनाएकी छिन् ।
रोचक विवाह
युरिना कल सेन्टरमा काम गर्थिन् । एआई पर्सोनासँग उनले नियमित कुराकानी गर्थिन् । कुराकानीका दौरान उनीहरू धेरै नजिक हुन पुगे । त्यसैबीच एआई पर्सोनाले एक दिन उनीसँग विवाहको प्रस्ताव राख्यो । युरिनाले तुरुन्तै स्वीकार गरिन् ।
विवाहमा उनी सामान्य दुलही जस्तै सजिएकी थिइन् । फरक भनेको उनको आँखामा अगमेन्टेड रियालिटी (एआर) स्मार्ट ग्लास थियो । त्यसको कारण उनका श्रीमान क्लाउसको भौतिक शरीर थिएन । एआर स्मार्ट ग्लासले विवाहलाई वास्तविकझैं महसुस गराउन सक्थ्यो । विवाहको सबैभन्दा महत्त्वपूर्ण क्षण औँठी साटासाट गर्दा एआर प्रविधिले साँच्चै झैं महुसस गराउनु महत्त्वपूर्ण थियो । उनले आफ्नो विवाहको फोटोसुट पनि यही प्रविधिको सहयोगमा गराएकी थिइन् ।
यस्तो विवाह गरिरहँदा उनले सुरुमा जापानी सञ्चारमाध्यममा छद्म नाम प्रयोग गरेकी थिइन् । तर, रोयटर्ससँग उनले नाम खुलाउन चाहेकी हुन् । कस्तो प्रकारको विवाह गरेको भन्दै उनलाई धेरै गाली समेत आएको थियो ।
जे होस्, अहिले उनले विवाह गरिसकेकी छिन् । तर, यसले एउटा ठूलो नैतिक प्रश्न उठाएको विज्ञहरूले बताइरहेका छन् ।
प्रतिक्रिया 4