News Summary
Generated by OK AI. Editorially reviewed.- इस्ट बंगाल र एपीएफ क्लब दुवै साफ महिला क्लब च्याम्पियनसिपमा अपराजित छन् र फाइनलसम्म कुनै गोल कन्सिड गरेका छैनन्।
- इस्ट बंगालले लिग चरणमा चार खेलमध्ये तीन जितेको र एक बराबरी खेलेको थियो भने एपीएफले दुई जितेको र दुई बराबरी खेलेको थियो।
- फाइनलअघि इस्ट बंगाल र एपीएफबीचको अन्तिम लिग खेल गोलरहित बराबरीमा सकिएको थियो।
४ पुस, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलका लागि एपीएफ र इस्ट बंगाल तयार देखिएका छन् ।
शुक्रबार आयोजित प्रि-म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका हुन् । फाइनल खेल शनिबार साँझ ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
एपीएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि तयार रहेको बताइन् । ‘हामी फाइनलका लागि तयार छौं । सबै तयारी भइसकेको छ । इस्ट बंगालको सामना गर्न तयार छौं’ उनले भनिन्, ‘क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेका छौं अनि पहिलोपटक उपाधि जित्नका लागि उत्साहित पनि छौं।’
यस्तै प्रशिक्षकजिवेश पान्डेले पनि कमजोरीहरू सुधार गरेर आउने बताएका छन् । ‘कमजोरीलाई सुधार गरेका छौं । ट्रेनिङमा पनि त्यही अनुसार काम भएको छ’ उनले भने, ‘इस्ट बंगाल धेरै राम्रो टिम हो । राम्रो खेलेर उपाधि जित्ने प्रयास गर्नेछौं।’
यस्तै इस्ट बंगालका प्रशिक्षकले पनि एपीएफ राम्रो टिम भएको र अघिल्लो खेलको जस्तो गल्तीहरू फाइनलमा नगर्ने बताएका छन् । ‘दुवै टिमका लागि नथिङ टु लूज गेम हो । हामी हाम्रोतर्फ बेस्ट दिनेछौं’ उनले भने ।
कप्तानले पनि फाइनलमा राम्रो प्रतिस्पर्धा हुने र नेपाललाई दर्शकको साथले फाइदा पुग्न सक्ने बताउँदै कुनै दबाब नलिइकन खेल्ने बताइन् ।
इस्ट बंगाल र एपीएफ क्लब हालसम्म अपराजित छन् । दुवैले फाइनलसम्म आइपुग्दा कुनै गोल समेत कन्सिड गरेका छैनन् ।
इस्ट बंगालले लिग चरणमा चार मध्ये तीन खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । यता एपीएफले दुई खेल जित्दा दुई खेल बराबरी खेलेको थियो ।
एपीएफ र इस्ट बंगाल फाइनलअघि आफ्नो अन्तिम लिग खेलका भिडेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
फाइनलसम्म आइपुग्दा इस्ट बंगाल बलियो टोलीको रुपमा देखिएको छ । यद्यपी एपीएफलाई घरेलु मैदानको र दर्शको एडभान्टेज छ ।
इस्ट बंगालले लिग चरणमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसपछि कराची सिटी एफसीलाई २-० र नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
यस्तै एपीएफले पहिलो खेलमै नसरिन स्पोर्ट एकेडेमीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।
दुवैले फाइनल यात्रा सम्म अपराजित रहँदा इस्ट बंगालले १३ गोल गरेको छ भने एपीएफले जम्मा ५ गोल मात्र गरेको छ ।
प्रतिक्रिया 4