५ पुस, चितवन । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।
शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले देश कुनै कुटी नभएको भन्दै जसले पनि खुल्न र ठप्प पार्न सक्छ भन्दै प्रश्न गरिन् ।
‘आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति नै गम्भीर शंकार लागिरहेको छ । अझ अचम्मको कुरा त के छ भने उहाँ पुन: नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ,’ विश्वकर्माले सम्बोधनको क्रममा भनिन्, ‘र, उहाँहरू भनिरहनुभएको छ कि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं । उहाँहरूले बनाउनुभएको कुटी हो र देश ? खुल्ने र ठप्प पार्नलाई ?’
वर्तमान अन्तरिम सरकारलाई एमालेले असंवैधानिक भन्दै आएको छ । तर, संविधानको पालना एमालेले नै नगर्ने हो भने अब उनीहरूलाई नेपाली भन्ने कि नभन्ने भन्दै प्रश्न गरिन् ।
‘जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भनिरहनुभएको छ, र संविधानको महिमाको कुरा गरिरहनुभएको छ । उहाँहरूले नै संविधानको पालना नगर्ने ? जसले संविधानको पालना गर्दैन हाम्रो मूल कानुनको पालना गर्दैन भने उहाँलाई चाहीँ हामीले यो देशको नागरिक मान्ने कि नमान्ने ? हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यक छ,´उनले सम्बोधनको क्रममा भनिन् ।
साथै, उनले मानविय संवेदना नभएको व्यक्तिले समाज र देशलाई कहाँ पुर्याउला भन्दै प्रश्न गरिन् ।
‘छोराछोरी र भाइबहिनी त हाम्रामात्रै मरेका रैछन् । उहाँहरूलाई त केही फरक नै परेको छैन रैछ । जो व्यक्तिमा लाज, घिन, शरम मानविय संवेदना नै बाँकी छैन,’ विश्वकर्माले भनिन्, ‘उक्त व्यक्तिले गरेको नेतृत्वले हाम्रो समाज र देशलाई कहाँ पुर्याउला ?’
प्रतिक्रिया 4