+

इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि

२०८२ पुष  ५ गते १९:०४ २०८२ पुष ५ गते १९:०४
इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ।
  • कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा इस्ट बंगालले नेपाल एपीएफलाई ३-० ले हराएको हो।
  • इस्ट बंगालले प्रतियोगिताभर अपराजित रहँदै कुनै गोल कन्सिड नगरेको छ।

५ पुस, काठमाडौं । पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा नेपालको एपीएफलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

त्रिपेश्वरस्थित दशरथ रंगशालामा ८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले फाइनलमा इस्ट बंगालसामु खासै अवसर बनाउन सकेन । इस्ट बंगालका लागि कप्तान फजिला इक्वापुटले दुई तथा सिल्की देवी हेनानले एक गोल गरिन् ।

कप्तान फजिला इकापुटले २२औं मिनेटमा गोल गरेकी थिइन् । इस्ट बंगालकी सरिता युमनानको प्रहार मनमाया दमाईँले हेड मार्फत क्लियर गर्न खोजेपनि सफल नभएपछि फजिलाले बल पाइन् । उनले हानेको प्रहार गीता रानालाई लाग्दै गोल भएको हो ।

३५औं मिनेटमा असलतादेवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्स भित्रबाट हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफ सुरु भएलगत्तै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बंगाललाई ३-० ले अगाडि राखिन् । फजिलाले पेनाल्टी बक्सको बाहिरबाट गीता रानालाई छलाउँदै हानेको प्रहार गोल भएको हो ।

एपीएफकी गोलकिपर अन्जना राना मगरको गल्तीमा गोल भएको थियो । त्यसपछि कुनै गोल भएनन् र इस्ट बंगाल च्याम्पियन बन्यो ।

च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ । उपाधि जित्ने क्रममा इस्ट बंगाल अपराजित रह्यो । कुनै गोल समेत कन्सिड गरेन ।

उपविजेता एपीएफ एफसी

त्यसमा युगान्डा राष्ट्रिय महिला फुटबल टिमकी उपकप्तान समेत रहेकी फजिला काठमाडौंमा भएको प्रतियोगिताभर नै पूरा छाइन् । उनले कूल ९ गोल गरिन् ।

पहिलो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिज विरुद्ध दुई गोल गरेकी उनले नसरिन स्पोर्ट्स एकेडेमी विरुद्ध ५ गोल गरिन् ।

फजिला त्यस्ती खेलाडी हुन् जसले सन् २०१८ मा युईएफए महिला च्याम्पियनसिप लिग अन्तर्गत काजखस्तानको बिक काजीगर्टबाट खेल्दै बार्सिलोना विरुद्ध गोल गरेकी थिइन् ।

फाइनलअघि दुवै टोली अपराजित थिए । तर फाइनलमा इस्ट बंगालले आफू बलियो भएको प्रमाणित गर्यो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

साफ महिला क्लब च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय