+
+
Shares

नयाँ घर बनाउँदै हुनुहुन्छ ? यी १४ कुरामा ध्यान दिनुहोस्

लैला श्रेष्ठ लैला श्रेष्ठ
२०८२ पुष ६ गते १०:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घर बनाउनुअघि बजेट योजना बनाउनु अत्यावश्यक छ, जसमा जग्गा, सामग्री, मजदुरी र अप्रत्याशित खर्च समावेश गर्नुपर्छ।
  • घर निर्माणका लागि उपयुक्त जग्गा छनोट गर्दा आकार, भिरालोपना, वातावरण र पहुँचलाई ध्यान दिनुपर्छ।
  • घर निर्माणमा माटो परीक्षण, कानुनी अनुमति, अनुभवी आर्किटेक्ट र इन्जिनियरको छनोट अनिवार्य छ।

घर बनाउनु केवल चार पर्खाल खडा गर्नु मात्र होइन, यो परिवारको सुरक्षा, आराम र खुसीको आधार हो । जीवनभरको सपना साकार पार्ने यात्रा हो ।

घर पटक–पटक बनाइँदैन, त्यसैले यसमा राम्रो पूर्व तयारी र योजना आवश्यक पर्छ । ता कि, बनाइसके पछि पछुताउन नपरोस्।

नेपालजस्तो देशमा घर बनाउनु निकै चुनौतीपूर्ण पनि छ । किनकि जग्गाको मूल्य आकाशिएको छ, निर्माण सामग्री महंगो छ र भूकम्पको जोखिम सधैं रहिरहन्छ ।

तर सही योजना, धैर्य र सावधानी अपनाएमा सपनाको घर बलियो, सुन्दर, दिगो र आवश्यकता अनुसारको बनाउन सकिन्छ ।

१.बजेट प्लानिङ

घर बनाउनुअघि सबैभन्दा पहिले र महत्वपूर्ण काम बजेटको स्पष्ट योजना बनाउनु हो । पैसा नै घर निर्माणको मुख्य इन्धन हो, त्यसैले कुल खर्चको राम्रो अनुमान गर्नुपर्छ ।

जग्गा किन्ने रकम, डिजाइन शुल्क, निर्माण सामग्री, मजदुरी, नगरपालिकाको अनुमति शुल्क, इन्टेरियर र फिनिसिङ सबै जोडेर हिसाब निकाल्नुपर्छ ।

यसबाहेक अप्रत्याशित खर्च जस्तै सामग्रीको मूल्यवृद्धि वा निर्माणमा ढिलाइका लागि १० देखि २० प्रतिशत अतिरिक्त रकम छुट्याउनु बुद्धिमानी हुन्छ ।

अहिलेको बजार मूल्यअनुसार नेपालमा सामान्य सुविधा भएको साढे दुई तल्ले घर बनाउन २ हजार स्क्वायर फिटको घर बनाउँदा
प्रति स्क्वायर फिट ३,२०० रुपैयाँका दरले कुल लागत ६० देखि ६५ लाखसम्म पर्न सक्छ । यदि राम्रो ब्रान्डेड सामग्री र आकर्षक इन्टेरियर गर्नुहुन्छ भने खर्च सोही अनुसार बढ्न जान्छ ।

बजेट स्पष्ट नभई काम सुरु गरेमा घर अधुरो हुने वा ऋणको बोझ बढ्ने जोखिम रहन्छ, त्यसैले यो चरणमा धैर्य गर्नु उपयुक्त हुन्छ।

२.जग्गा छनोट

घरको आधार जग्गा हो, त्यसैले जग्गा छान्दा निकै सोचविचार गर्नुपर्छ । जग्गाको आकार आयताकार वा वर्गाकार हुनु राम्रो हुन्छ । किनकि, यस्तो जग्गामा डिजाइन गर्न सजिलो हुन्छ र कोठाहरू मिलाउन सहज हुन्छ ।

अनियमित आकारको जग्गामा ठाउँको सदुपयोग गर्न गाह्रो पर्छ । सकेसम्म घर बनाउनका लागि भिरालो जग्गा छनोट गर्नु हुँदैन। किनकि त्यहाँ पहिरो जाने जोखिम हुन्छ । यसको जोखिम नभए भिरालो जग्गामा घर निर्माण गर्दा बढी खर्च लाग्ने हुन्छ । त्यसैले, जग्गा सकेसम्म रुमाल जत्तिकै चार कुने समथर जग्गा उपयुक्त हुन्छ ।

वरपरको वातावरण पनि हेर्नुहोस्, जहाँ चारैतिर घरले घेरिएको अँध्यारो जग्गाभन्दा खुला र घाम लाग्ने ठाउँ राम्रो हुन्छ ।सडक पहुँच, बिजुली, पानीको सुविधा र बजारको नजिक पनि विचार गर्नुहोस् । पूर्व वा दक्षिण फर्केको जग्गा उत्तम मानिन्छ । किनकि त्यहाँ घाम र हावा राम्रोसँग प्रवेश गर्छ ।

३.माटो परीक्षण

जग्गा किनेपछि घर निर्माणका लागि माटो परीक्षण गर्नु अनिवार्यजस्तै हो । यो परीक्षणले माटोको प्रकार र बलियोपन थाहा हुन्छ । माटो परीक्षण गर्दा माटोले कति लोड थाम्न सक्छ त्यो पत्ता लगाएर मात्र सोही अनुसार फाउन्डेसन बनाउन सकिन्छ ।

यो नगरेमा पछि घर बांगोटिंगो हुने, भासिने वा चर्किने समस्या आउन सक्छ, जसले ठूलो नोक्सानी गराउँछ ।

४.कानुनी पक्ष तथा मापदण्ड

घर बनाउन कानुनी रूपमा सफा हुनुपर्छ । ठाँउअनुसारको नियम हुन्छ । त्यसैले, स्थानीय तहको मापदण्ड राम्रोसँग बुझ्नुहोस् । यसमा घरले कति क्षेत्र ओगट्न पाउने, चारैतिर कति दूरी छोड्ने (सेटब्याक), कति तला बनाउन पाउने लगायत नियम हुन्छन् ।

बिसर्न नहुने कुरा भनेको ‘बिल्डिङ परमिट’ हो । बिल्डिङ्ग परमिट भनेको स्थानीय सरकारबाट जारी हुने आधिकारिक अनुमति पत्र हो, जसले कुनै भवन निर्माण, नवीकरण, विस्तार वा परिवर्तन गर्ने काम कानुनी रूपमा सुरु गर्न अनुमति दिन्छ ।
यो बिना काम सुरु हुँदैन । डिजाइन मापदण्ड अनुसार नभए स्वीकृति नै पाइँदैन ।

५.आर्किटेक्ट र इन्जिनियर/कन्ट्र्याक्टर छनोट

माटो परीक्षण, कानुनी कागजात सबै पूरा भएपछि घरको डिजाइन र निर्माणको जिम्मा दिनुपर्ने हुन्छ । र, यो टिम छान्दा अनुभवी आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियर छनोट गर्नु उपयुक्त हुन्छ । त्यसका लागि अहिले सहज उपाय छन्।

कन्ट्र्याक्टर वा इन्जिनियरको पुराना काम र रिभ्यू हेरेर छनोट गर्न सकिन्छ । यी जानकारी आजभोलि निर्माण साइटमा पनि राखिएको हुन्छ ।

कन्ट्र्याक्टर छान्दा सस्तो होइन, उसको काम हेरेर छनोट गर्नुपर्छ । सस्तोमा लोभिएर कमसल कन्ट्र्याक्टर छानेमा सामग्री चोरी हुने वा काममा लापरबाही हुने जोखिम रहन्छ । राम्रो टिमले मात्र तपाईंको सपनालाई साकार बनाउन सक्छ ।

६.घरको उद्देश्य र आवश्यकता निर्धारण

घर कति जनाका लागि र कस्तो प्रयोजनको हो, यो स्पष्ट हुनुहोस् । परिवारमा कति सदस्य छन् ? कति बेडरुम चाहिने, कसलाई एट्याच बाथरुम ? लिभिङ रुम ठूलो वा सानो ? किचेन कस्तो डिजाइनको ?

यी सबै आवश्यकता लिखित रूपमा आर्किटेक्टलाई दिनुहोस् । यसले डिजाइन व्यवहारिक बन्छ, अनावश्यक कोठा वा ठाउँमा खर्च हुनबाट बचिन्छ ।

७.आर्किटेक्चरल र स्ट्रक्चरल डिजाइन

डिजाइनमा प्राकृतिक उज्यालो र क्रस भेन्टिलेसनलाई प्राथमिकता दिनुहोस् । कोठाहरू यस्ता हुनुपर्छ कि हावा र घाम राम्रोसँग छिर्न सकोस् ।

घरको संरचना विश्लेषण अनिवार्य छ जसले भूकम्प प्रतिरोधी बनाउँछ । यसले पिलरको साइज, डण्डीको संख्या र मोटाइ निर्धारण गर्छ । घरमा सबैभन्दा ख्याल कुरा गर्नुपर्ने भनेको भर्‍याङ हो । भर्‍याङ सधै सबै कोठाको बीचमा पर्ने हुनुपर्छ । र, भर्‍याङ क्लकवाइज घुम्ने हुनुपर्छ, खुड्किलो धेरै अग्ला बनाउनु हुँदैन ।

८.झ्याल ढोका

घरमा झ्याल–ढोका राख्दा मुख्य ध्यान प्राकृतिक उज्यालो, हावा खेल्ने (क्रस भेन्टिलेसन) र सुविधा भएको हुनुपर्छ । ढोका–झ्यालको संख्या जोर (२, ४, ६, ८) हुनुपर्छ ।

ढोका बलियो काठको, भित्रपट्टी खुल्ने र मुख्य ढोका सबैभन्दा ठूलो बनाउनु उपयुक्त हुन्छ । भेन्टिलेसनका लागि विपरीत दिशामा राख्नुपर्छ ।

मुख्य ढोका सहज प्रवेशका लागि अगाडि राख्न सकिन्छ । झ्यालहरू विपरीत पर्खालमा राखेर हावा राम्रोसँग बहने बनाउनुहोस् ।
उज्यालोका लागि पूर्व वा उत्तरतिर बढी झ्याल राख्नु उपयुक्त हुन्छ । कोठामा फर्निचर राख्न सजिलो हुने गरी प्लेसमेन्ट गर्नुहोस् ।
बाहिरी दृश्य र गोपनीयता पनि विचार गर्नु राम्रो हुन्छ । त्यस्तै, सम्भव भए झ्यालहरू बेडरुममा मध्यम र लिभिङमा ठूला राख्नु उपयुक्त हुन्छ ।

९.वास्तुशास्त्रको विचार

धेरै नेपालीले वास्तु मान्छन् । त्यसैले, अधिकांश ग्राहकको रोजाइ वास्तुमा आधारित घरकै हुन्छ ।यसले मानसिक शान्ति र सकारात्मक ऊर्जा दिने विश्वास रहेको छ । वास्तुअनुसार चाहना राख्नेहरुका लागि किचेन दक्षिण–पूर्वमा र पकाउँदा पूर्व फर्किने, मास्टर बेडरुम दिक्षिण–पश्चिम, पूजा कोठा उत्तर पूर्व र शौचालय पश्चिम वा उत्तर पश्चिममा राख्नु राम्रो मानिन्छ ।

प्रवेशद्वार पूर्व वा उत्तरतिर फर्केको उत्तम हुन्छ । त्यस्तै, अधिकांश झ्यालहरू उत्तर–पूर्व वा पूर्वतिर खुल्ने बनाउन सकिन्छ, मुख्य ढोका पूर्व वा उत्तर दिशामा राख्नु राम्रो उपयुक्त हुन्छ ।

१०.निर्माण सामग्री छनोट

निर्माण सामग्रीमा गुणस्तरमा सम्झौता नगर्नुहोस् । किनकी, घर जस्तो कुरा पटक–पटक बनाउन सम्भव हुँदैन । आफ्नो बजेट अनुसारको ब्रान्डको सिमेन्ट (ओपीसी ४३÷५३ ग्रेड), रातो इँटा, सफा बालुवा र ५०० ग्रेडको डण्डी छान्न सकिन्छ । बजार भाउ र टिकाउको जानकारी अनलाइन रिभ्यू र पुराना प्रयोगकर्ताबाट लिन सकिन्छ ।

टाइलहरू किचेन र बाथरुममा चिप्लो नहुने प्रकारको राख्नुपर्छ । ताकि, सहजै सफा गर्न सकियोस्, अनि चिप्लिएर लड्ने जोखिम नहोस् । बजेटअनुसार सामग्री छान्दा पनि बलियोपनमा ध्यान दिनुउपयुक्त हुन्छ ।

११.पानी र ढल निकास प्रणाली

घर बनाउँदा ध्यान दिनुपर्ने कुरा भनेको पानीको आपूर्ति र ढल निकास प्रणालीको योजना पनि हो । ढल निकास गर्दा चुहावट नहुने, जाम नहुने र गन्ध नआउने खालको बनाउनुपर्छ ।

त्यस्तै, पानीका लागि वैकल्पिक रूपमा अन्डरग्राउन्ड र ओभरहेड ट्यांक उपयुक्त ठाउँमा राख्न सकिन्छ । यसरी राख्दा वर्षातको पानी संकलन गरेर पुनःप्रयोग गर्न सकिन्छ, जसले पानी बचत गर्छ।

१२.भूकम्प प्रतिरोध र सुरक्षा

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्छ, त्यसैले नेपाल बिल्डिङ कोडअनुसार डिजाइन गर्नुपर्छ । त्यो मात्र होइन, आगलागीबाट बच्न सकिन्छ भने फायर सेफ्टीका लागि अग्निरोधक सामग्री र इमर्जेन्सी एक्जिटको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

१३.इन्टेरियर र फिनिसिङ

आजभोलि चल्तीमा छ, मोडुलर किचेन। यो खर्चको हिसाबले धेरै लाग्न सक्छ, तर स्पेस बचत गर्न, हेर्दा आकर्षक र सफा गर्न सजिलो हुन्छ।

कलरमा हल्का र वास्तुअनुकूल छान्न सकिन्छ । धेरै गाढा वा भड्किलो रङले कोठा साँघुरो देखाउन सक्छ । घर उज्यालो देखाउँदैन । फर्निचर र लाइटिङ भने आफ्नो रोजाइ र बजेट अनुुसारको गर्न सकिन्छ ।

१४.निर्माण प्रक्रिया र सुपरभिजन

डिजाइन स्वीकृत भएपछि मात्र काम सुरु उपयुक्त हुन्छ । हरेक चरणमा आफैं र फाउन्डेसन, स्ल्याब, फिनिसिङमा अनुभवी प्राविधिक व्यक्ति वा इन्जिनियरको निगरानी राखी फाउन्डेसन, स्ल्याब र फिनिसिङमा गुणस्तर जाँच गरेमा आफूले भने जस्तो घर बन्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?