News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको सप्तकोसी किनारको गाउँमा विकास र सामाजिक सन्देशको पहुँच नपुगेपछि पितृसत्तात्मक सोचले छोरीहरूको शिक्षा र जीवनमा बाधा पुर्याएको छ।
- १३ वर्षीया बिनितालाई विजय साहले जबरजस्ती विवाहको दबाब दिएको र अस्वीकृत गर्दा उनले विष सेवन गरी आत्महत्या प्रयास गरेकी थिइन्।
- बिनिता भारतमा विवाहपछि घरेलु हिंसामा परेकी छन् र स्वतन्त्र जीवनका लागि आमाको काखमा फर्किन चाहन्छिन्, आमाले छोरी फर्काउन आर्थिक जोहो गरिरहेकी छन्।
सुनसरी जिल्लाको सप्तकोसी किनारको बालुवामाथि एउटा सानो रुग्ण गाउँ छ । गाउँको किनारमा बाँसको भित्ता र फुसको छानो भएको उस्तै एउटा घर । यो घरसम्म विकासका पूर्वाधार, राज्यको पहुँच कहिल्यै पुगेन । युएसएआईडीको सहयोगमा स्वास्थ्य मन्त्रालयमार्फत दशकौँसम्म पोस्टर, पम्पलेट, पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट प्रचार गरिएको ’दुई सन्तान ईश्वरका वरदान’ भन्ने नारा पनि कहिल्यै पुगेन।
न पुग्यो ’छोरा र छोरी बराबरी, यही हो हाम्रो जिम्मेवारी भन्ने अभियान । तर पुग्यो, पितृसत्ताको विषाक्त मनोदशा । छोराको आसमा ६ बहिनी छोरी जन्मिए । अन्तिममा जन्मिएको छोरा र बाआमा अनि हजुरआमा समेत गरी भएको १० जनाको ठूलो परिवार गाँस जुटाउन ढुंगामाटो र कृषि कर्ममै निर्भर थियो । र, सन्तानको उचित शिक्षादीक्षा हुन सकेन ।
छोरै आसमा वर्षेनी जन्मिएका छोरीहरूको लहरमा बिनिता छैटौं सन्तानका रूपमा जन्मिइन् । सातौं सन्तानका रूपमा उनको एउटा भाइ जन्मियो । बिनिताका बुबाआमा खेतिपातीकै काम गर्थे । कमजोर आर्थिक अवस्थाकै कारण उनका दिदीबहिनीहरूले विद्यालयको मुख देख्न पाएनन् । घरायसी काममै उनीहरूको दैनिकी बित्यो । तर बिनिता भने अपवाद थिइन् । सबै अभाव र कठिनाइबीच पनि उनी विद्यालय जाने गर्थिन् ।
आज, यही सामाजिक बेवास्ता र संरचनात्मक अन्यायको परिणामस्वरूप, बिनिता जीवन र मृत्युको बीचमा उभिएकी छिन् । उनी फर्किन चाहन्छिन् आमाको काखमा । उनी बाँच्न चाहन्छिन् स्वतन्त्र भएर ।
त्यतिबेला १३ वर्षीय बिनिता कक्षा ८ मा पढ्दै थिइन् । उनको घर नजिकैको खतेमा कुखुराको ठूलो नयाँ खोर बनाउने काम चलिरहेको थियो । दिउँसो स्कुल गए पनि साँझ बिहान कामदारहरूको चहलपहल, हथौडा र आरीको आवाजबीच बिनिता आमालाई पानी ल्याइदिने खाना, पकाउने, घरमा भएका लोकल कुखुरालाई दाना हाल्ने काम गर्थिन् ।
त्यहीं काम गर्न आएको १९ वर्षीय विजय साहको नजर बिनितामा पर्यो । बिनिताको घरबाट केही पर उसको घर थियो । सानैदेखि कुलतमा फसेका विजयले बीचैमा स्कुल छाडेका थिए । पैसा हुँदासम्म मोजमस्तिमा रमाउँथ्यो अनिपैसा सकिएपछि ज्याला मज्दुरी गर्थ्यो। पातलो जिउ र लामो कपाल भएकी बिनिता निकै सुन्दर थिइन् । बिनिताको सरल बोली, कलिलो निष्कपट हाँसोले उसको ध्यान आकर्षित गर्यो।
विजय बिनितालाई नियमित नियाल्न थाल्यो आकाशको जुन नियालेझैँ । तर त्यो जुनसम्म ऊ न त पुग्न सक्थ्यो, न त बोलाउन नै । बिनिता उसका लागि धर्तीमै भएकी जुन थिइन् जसलाई ऊ बोलाउन सक्थ्यो र छुन पनि सक्थ्यो । तर त्यो त्यति सहज भने थिएन । बिनिताको घरमा काम गर्न लागेको १० दिनभन्दा बढी भइसकेको थियो । अब काम सकिन बढीमा १० दिन बाँकी थियो ।
त्यसपछि एक दिन विजयले हिम्मत गरेर बहाना खोज्यो ‘बहिनी ! पानी छ ?’ बिनिताले पानी दिँदै गर्दा उनका कलिला औँलाहरू विजयले स्पर्श गर्न पायो । पानीको जग समाउने बहानामा जगसँगै बिनिताका औँला छोइएका थिए । विजयको छुवाइले बिनितालाई असहज महसुस भयो तर विजयलाई भने आफ्नो स्पर्शले उसमा पनि माया पलाउँछ भन्ने विश्वास थियो । त्यही विश्वास बोकेर ऊ काम सकेर घर फर्कियो ।
अर्को दिन फेरि विजयले बहाना बनायो, ‘बहिनी, त्यो इँटा यता राखिदेऊ न।’ इटा भुइँमा राख्दै गर्दा बिनिताका कलिला नाडीले उसलाई आकर्षित गर्यो । ती नाडी समाउन उसको मन भयो, तर त्यो सम्भव थिएन । ऊ आफैंभित्र मुस्कुराउन थाल्यो । काम सकेर घर पुगेपछि उसले बिनिताबारे सोच्न थाल्यो । रातपछि आउने उज्यालो पर्खँदै छट्पटियो ।
यसरी विजय बिनिताको एकोहोरो प्रेममा परिसकेको थियो । आफ्नै मनभित्र कथा बुन्न थाल्यो । उसलाई लाग्न थाल्यो, ‘बिनिता जस्तै केटी बिहे गर्न पाए जिन्दगी बन्छ ।
एक दिन उसले हिम्मत गरेर भन्यो, ‘बिनिता, तिम्रो नम्बर देऊ न !’
बिनिता, ‘घरमा एउटै त फोन त छ । ’ विजय, ‘काम सकिएपछि म फोन गर्छु तिमी उठाउन सक्छौ ? फोन त घरमै हुन्छ अरू काममा हुन्छन् घरमा हुने भनेकै मै हो मैले नउठाए कसले उठाउँ छ र ?
काम सकिएपछि म फोन गर्छु उठाउ है ! बिनिता हुन्छ दाई तर किन काम सकिएपछि ? विजयले जवाफ दिएन । खोरको काम सकिएपछि पनि विजयको कल आउन थाल्यो। ‘पढाइ कस्तो छ ?’ घरमा सबै ठीक छन् ?’ बिनिताले छोटो जवाफ दिन्थिन् । बिनितालाई हरेक दिन एक पटक फोन गर्थ्यो ।
एक दिन फोनमा विजयको स्वर फरक थियो, ‘एकछिन पिपलको रूखमुनि आऊ न, कुरा गरौँ ।’बिनिताको मुटु एकाएक जोडले धड्कियो । पिपलबोट जहाँ साँझपख कोही जाँदैनथे गाउँमा भनाइ थियो, ‘त्यहाँ बेलुका भूत आउँछ । ’बिनितालाई भूतको डर पहिलेदेखि नै थियो । अँध्यारो, सुनसान ठाउँ त्यसमाथि विजय । डर दुईतर्फबाट उनलाई घेर्दै थियो ।
‘म आउदिन’ उनले काँपिरहेको स्वरमा भनिन् । तर विजयले जिद्दी गरे ‘एकछिन मात्रै हो । तिमी आएनौ भने म रिसाउँछु ।’ बिनिताले नमानेपछि अन्ततः त्यो वाक्य आयो, जसले उनलाई सबैभन्दा धेरै डर लाग्यो, ‘हामी फोनमा बोलेका कुरा म सबैलाई भनिदिन्छु । ’अब बिनितासँग डरबाट भाग्ने बाटो रहेन डरकै काखमा पर्नुपर्ने भयो ।
साँझ करिब ७ बजेको थियो । घरमा सबै आ-आफ्नो काममा थिए । बिनिताले पछाडिको ढोकातिर हेरिन र त्यही ढोका, जहाँबाट खेततिर जाने साँघुरो बाटो थियो । पछ्यौराले टाउको छोपिन र चिसो मन बोकेर पिपलबोट पुगिन् ।
पिपलको रूख टाढैबाट देखियो ठूलो, कालो छाया । नजिकै थियो एउटा अर्को छाया । उनि सानो छाया नजिकै गइन्, ‘ए, तिमी आयौ’ विजयले भन्यो मानौँ यो स्वाभाविक भेट हो । बिनिता केही बोलिनन् आँखा भुइँतिरै थिए । विजयले भावुक स्वरमा भन्यो, ‘म तिमीलाई धेरै मन पराउँछु । ’ अरू केटीजस्तो छैनौ, तिमी फरक छेउ ।’
बिनिताले सुन्दै गइन्, तर ती शब्द प्रेम थिएनन् । ती शब्द असहजता थिए, दबाब थिए । उनको मनले एउटै कुरा दोहोर्याइरहेको थियो ‘म यहाँ किन आएकी हुँ ?’ त्यो पिपलमुनि उभिएको क्षण बिनिताको जीवनको पहिलो ठूलो डर थियो- जहाँ भूतभन्दा डरलाग्दो कुरा विजयको जिद्दी र धम्की थियो । त्यो भेट सकिएपछि बिनिता घर फर्किइन् । खेतको बाटो उस्तै थियो, तर मन उस्तै रहेन मन भारी थियो ।
घर पुगेपछि आमाले सोधिन्, ‘कहाँ गएकी थियौ ?’ बिनिताले सहज हुँदै भनिन्, ‘छिमेकीकहाँ ।’ त्यो झूट सानो थियो, तर उनको मन भारी बन्यो । त्यो रात उनी निदाउन सकिनन् । ‘म किन गएँ ? म नगएको भए के हुन्थ्यो ?’ यी प्रश्नहरूले उनको निद्रा खलबलियो । अर्को दिनदेखि विजयको अपेक्षा बदलियो । पहिले ऊ बोलाउँथ्यो, अब हक जमाउन थाल्यो । ‘हामी भेटिसक्यौँ । अब तिमीले बुझ्नुपर्छ । ’
फोनमा ऊ बारम्बार सोध्थ्यो, ‘हिजो के सोच्यौ ?, म मन पर्यो कि परेन ?’ बिनिता जवाफ दिन सक्दिनन् । तर त्यो मौनतालाई विजयले सहमति ठान्यो । बिनिताको दिनचर्या बदलिन थाल्यो । पढाइमा ध्यान जान छाड्यो । साथीहरूबीच बस्दा पनि मन कतै अन्तै हुन्थ्यो । विजयको फोन र भेटहरू बढ्दै गएसँगै बिनिताको मनभित्र असजिलोपन बस्न थाल्यो । फोन बज्दा उनको छाती अचम्मसँग कस्सिन्थ्यो ।
एक दिन बिजयले बिनितालाई हठात् भन्यो, ‘हामी बिहे गरौँ । अब त हामी धेरै पटक भेटिसक्यौँ, बोलिसक्यौँ ।’ बिनिताले भनिन् ‘म सानै छु । अहिले बिहे गर्दिनँ । ’विजयले रिसाउँदै भन्यो, यसको नतिजा नराम्रो हुनेछ, र फोन राख्यो ।
त्यसपछि भोलिपल्ट बिहानै विजय सिधै बिनिताको घर आइपुग्यो । घरअगाडि नै हल्ला गर्न थाल्यो । छिमेकीहरू जम्मा भए । सबैको सामु विजयले झुट बोल्यो, ‘बिनिता र म एक–अर्कालाई प्रेम गर्छौँ । यही कारण आमाले बिनितालाई यातना दिनुहुन्छ।’
उसका ती शब्दहरूले बिनिताको परिवारलाई अनाहकमा बदनाम हुने स्थितिमा पुर्याइदियो। त्यही रात, समाजको आँखामा परेको बेइज्जती सहन नसकेर बिनिताले विष सेवन गरिन् । त्यसपछि उनलाई तुरुन्त सुनसरी अस्पताल लगियो । १६ दिनको उपचारपछि होस आयो ।
गाउँमा पञ्चायत बस्यो । त्यहाँ विजयले उल्टै आरोप लगायो । ‘हामी फोनमा दिनहुँ बोल्छौ बेलुकी-बेलुकी सधैं भेट्छौ । प्रेम गर्छु तर मेरो खेत छैन त्यसैले आमा मलाई हेप्नुहुन्छ । बिनितालाई पिट्नुहुन्छ, मबाट टाढा बस्न भन्नुहुन्छ । ’
पञ्चायतमा सुनिने आवाज सबै एउटै थियो- छोरी मान्छे निर्दोष कहाँ हुन्छे र ? एक्लै केटासँग फोनमा बोल्ने, बाहिर भेट्ने, यस्तो उत्ताउलोपन भएपछि यस्तै हुन्छ ।’ उनी नाबालिग हुन् कि होइनन् । उनले अस्वीकार गरेकी थिइन् कि थिएनन, यी प्रश्न त्यहाँ कसैले सोधेनन् ।
पञ्चायतबाट विश्वास टुटेपछि राधा छोरी बिनितासहित प्रहरीसम्म पुगिन् । त्यो दबाब प्रहरीसम्म पनि पुगेको थियो । बिनिता प्रहरी कार्यालय पुग्दा शैली फरक थिएन । सुरुमै सोधपुछ गरियो । ‘तिमी किन फोनमा बोल्थ्यौ ? किन केटालाई भेट्यौ ? गाउँले त भन्छन्, गल्ती त बिनिता कै हो । ’
तर भाग्यवश, बिनिताको मोबाइलमा विजयले गरेको अन्तिम फोनको रेकर्ड थियो, जहाँ बिनिताले स्पष्ट भनिरहेकी थिइन् ‘म बिहे गर्दिन, म सानै छु ।’ विजय भने दबाब दिइरहेको थियो, ‘तिमी अरूसँग जान पाउदिनौं, बिहे त गर्नैपर्छ । रेकर्ड सुनाएपछि विजय पक्राउ पर्यो । सोधपुछमा विजयले बिनितामाथि जबरजस्ती गर्ने प्रयास गरेको तथ्य पनि खुलेपछि उसलाई जेल सजाय भयो ।
न्याय त भयो, तर समाजले बिनितालाई स्वीकार गर्न सकेन । न्याय दिन सकेन । छिमेकीहरूले उनलाई ‘बिग्रिएकी केटी’ भन्दै हेला गर्न थाले । यही शब्दहरूले उनलाई धेरै दुख दिन्थ्यो । मानसिक स्वास्थ्य अस्थीर बन्यो । काउन्सिलिङ लिनुपर्यो। दुई–तीन वर्षपछि उनी केही सम्हालिन थालिन् ।
गाउँका केही युवती, जो भारतमा काम गर्थे, उनले बिनितालाई पनि भारत पठाए राम्रो हुने सुझाव आमालाई दिए । राधाले पनि सोचिन् ‘यहाँको दुःख बिर्सिन सजिलो हुन्छ कि । मन कडा बनाइन् र केही समय भारत बस्न मञ्जुरी दिइन् । त्यसरी बिनिता भारतको केरलास्थित एउटा कपडा फ्याक्ट्रीमा काम गर्न गइन् । नेपालका घाउहरू बिस्तारै ओझेल पर्दै थिए ।
त्यही बेला एउटै कम्पनीमा काम गर्ने पटना घर भएका २२ वर्षीय राहुल (परिवर्तित नाम) सँग उनको चिनजान भयो । चिनजान भएको एक वर्षमै राहुलले बिनितालाई बिहे गर्न मनायो। ‘सायद यो चोटि राम्रो मान्छे भेटियो । बिहे गरेर गाउँ फर्कनु पनि पर्दैन, अतीत नेपालमै छोड्न सकिन्छ । यही सोचिन उनले त्यतिबेला । र प्रेमभन्दा पनि आशा रोजिन्।
बिहेले अतीतबाट छुटकारा दिलाउँछ भन्ने लागेर उनी राजी भइन् । राहुलले भारतको पटनामा गएर बिनिताको आधार कार्डमा उमेर १६ बाट १९ वर्ष बनाइदिए र अदालतमै गएर बिहे दर्ता गराए ।
बिहेपछि बिनिताले आमा राधालाई सबै कुरा बताइन् । राधाले त्यतिबेला भनेकी थिइन्, ‘तिमी खुसी छौँ भने ठीकै छ ।’ तर बिहेको ६ महिना नबित्दै राहुलको असली रूप बिस्तारै देखिन थाल्यो । दिनहुँ रक्सीको नशामा घर फर्किनु, सानो कुरामै चिच्याउनु, ‘तँ बिग्रिएकी केटी होस्’ भन्दै शब्द–शब्दले छुरा घोप्नु र कहिलेकाहीँ हात पनि उठाउनु ।
बिनिताले ती सबै सहिन उनलाई लाग्थ्यो- सायद सहन सकियो भने घर बच्छ, सम्बन्ध जोगिन्छ । तर पीडा दिनैपिच्छे भारी बन्दै गयो । अन्ततः एक दिन, उनले लुकेर आमालाई फोन गरिन् । काँपिरहेको स्वरमा उनले सबै सुनाइन । त्यसपछि राधाले राहुललाई सम्झाइन् । आमाको त्यो भरोसा पनि चकनाचुर भयो । त्यसपछि त अत्याचार झनै बढ्यो- मानौँ त्यो फोन कल नै अपराध थियो ।
अब आमालाई फोन गर्न पनि डर बिनितालाई । कहिलेकाहीँ लुकेर फोन गर्छिन्, तर फोन प्रायः राहुलकै हातमा हुन्छ । बिनिताले कमाएको तलब पनि राहुलकै मुट्ठीमा जान्छ। कहिलेकाहीँ उसले बिनितालाई भोकै सुत्न बाध्य बनाउँछ । बिदाको दिन, जब अरूका लागि आराम हुन्छ, बिनिताका लागि त्यो दिन मानसिक र शारीरिक यातनाको दोब्बर सजाय बन्छ ।
बिनिता आफ्नो त्यो नारकीय जीवनबाट मुक्त हुन चाहन्छिन् । उनी पहिलेकै खुला र स्वतन्त्र जीवन जिउन चाहन्छिन् । उनलाई थाहा छ त्यो भारतमा रहुन्जेल सम्भव छैन । त्यसैले त बिनिताले अन्तिमपटक आमासँग भनेकी थिइन्, ’आमा ! म बाच्न चाहन्छु, तपाईंको काखमा फर्किन चाहन्छु ।’
छोरीको यो आर्तनादपछि राधाले पनि छोरी फर्काउन पैसाको जोहो गरिरहेकी छन् । कसैले छोरीकोमा गएर आउन २० हजार लाग्छ भनेपछि उनी त्यसैको जोहोमा जुटेकी छन् । आम्दानीको पैसा घरखर्चमै सकिन्छ । हरेक पैसा चाहे थोरै किन नहोस्, उनलाई बिनितासँगको भेटको बाटो नजिक ल्याउने आशा बनिरहेको छ ।
bhumikabist43@gmail.com
प्रतिक्रिया 4