+
+
Shares
दल-दलमा जेनजी आन्दोलनको असर :

जेनजी आन्दोलनले धेरैथोक बदल्यो, नेताको नियत बदलिएन

समाजको अन्तरकुन्तर हल्लाएको गत भदौ अन्तिम साताको आन्दोलनले राजनीतिक दलमा पारेको वास्तविक प्रभाव थाहा पाउन भने आगामी निर्वाचनको परिणाम कुर्नै पर्दछ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ पुष ६ गते १४:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गराएको छ र ९० प्रतिशत भन्दा बढी पदाधिकारी ओली पक्षधर छन्।
  • नेपाली कांग्रेसले विशेष महाधिवेशनको तालिका सार्वजनिक गरेको छ र सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई सभापतिको अधिकार प्रत्यायोजन गरेका छन्।
  • जेनजी आन्दोलनपछि दलहरूको संख्या १४३ पुगेको छ र आगामी फागुन २१ को निर्वाचनका लागि दुई दर्जनभन्दा बढी नयाँ दल दर्ता भएका छन्।

६ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन जेनजी आन्दोलनपछिको एउटा ठूलो राजनीतिक घटना हो । भदौ २३ र २४ गतेको आन्दोलनपछि एमाले नेतृत्वको सरकार मात्र ढलेन प्रतिनिधिसभा पनि विघटन भयो । त्यही विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो, एमाले ।

जेनजी आन्दोलनबाट सबैभन्दा बढी आलोचना खेपेको एमालेको महाधिवेशनले कार्यकर्तामा ऊर्जा भरिदिएको छ । भलै आन्दोलनपछि नेतृत्व हस्तान्तरणको व्यापक बहसका बीच केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएर आए ।

त्यतिमात्र होइन, उनी पार्टीमा थप बलियो भएर आएका छन् । १९ सदस्यीय पदाधिकारीमा आफ्नो प्यानलका १७ जना सहित केन्द्रीय कमिटीमा ९० प्रतिशत भन्दा बढी ओली पक्षकै निर्वाचित भए । जबकी यसअघिको कार्यसमितिमा पदाधिकारीमध्ये १२ जना ओली पक्षधर थिए ।

एमालेको मूल नेतृत्व परिवर्तन नभए पनि २०८३ मंसिरसम्म कार्यावधि भएको पार्टीको एक वर्ष अगावै हुनुमा जेनजी आन्दोलन नै प्रमुख कारक रह्यो । यो आन्दोलनपछि एमालेले युवाको प्रतिनिधित्व बढाउन पहल गर्‍यो ।

देशभरीका निर्वाचन क्षेत्रबाट प्रत्येक चारमध्ये एक जना ४० वर्षभन्दा कम उमेरका हुनुपर्ने प्रावधान राख्यो । जसले गर्दा पहिलो पटक धेरै युवाहरूले महाधिवेशन प्रतिनिधि बन्ने मौका पाए । त्यस्तै, केन्द्रीय कमिटीमा ४.९८ प्रतिशत ४० वर्षभन्दा कम उमेर समूहको अनिवार्य प्रतिनिधित्वको निर्णय गर्‍यो, यसमा पनि त्यही आन्दोलनको करामत थियो ।

त्योभन्दा पनि ठूलो परिवर्तन त एमालेमा संस्थापन इतरलाई खुलैरै चुनौती दिनेहरू आए । ओलीको विरुद्ध लड्नेको हालत भीम रावल हुन्छ भन्दाभन्दै पाँच दशकदेखिका संस्थापन पक्षधर ईश्वर पोखरेलले ओली विरोधी खेमाको झण्डा बोक्ने आँट गरे ।

पोखरेलको समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईसहित डेढ दर्जन केन्द्रीय कमिटीमा निर्वाचित भए । उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पोलिट्ब्युरो सदस्य दलबहादुर राना लगायतले सक्रिय राजनीति छाड्ने घोषणा गरे ।

एमालेका नवनिर्वाचित सचिव डा. राजन भट्टराई आफ्नो पार्टीमा प्रमुख दुई वटा प्रभाव देखिएको बताउँछन् । एउटा युवाको प्रतिनिधित्व र दोस्रो सुशासनमा थप गम्भीर बन्न सचेत गराएको उनको विश्लेषण छ । उनी भन्छन्, ‘पार्टीका नेता–कार्यकर्तामाथि निर्धक्क अनुसन्धान भइराखेकै हो, शून्य सहनशीलताको नीति लिएका छौं तर सुशासनको विषयमा थप सचेत बन्नुपर्ने सन्देश चाहिँ दिएको छ ।’

युवा सहभागितालाई आफ्नो पार्टीले शुरुदेखि नै महत्त्व दिए पनि यसपटक नेतृत्वमा पुग्ने मध्ये एक तिहाई भन्दा बढी ६० वर्ष भन्दा कम उमेरका भएको भट्टराई बताउँछन् । ‘युवाको ठूलो सहभागिताका पछाडि प्रतिनिधि छनोट, उम्मेदवार चयन, युवाका लागि निर्धारित सिटले काम गर्‍यो,’ उनी भन्छन् ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन मात्र भएन, महाधिवेशन तालिका नै सार्वजनिक भयो । आन्दोलनका क्रममा निर्घात कुटिएका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई सभापतिको अधिकार प्रत्यायोजन गरे । कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, बद्री पाण्डे, राजेन्द्रकुमार केसी, रामनाथ अधिकारी, जीपछिरिङ लामा लगायतले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

यो पार्टीमा देखिएको सबैभन्दा ठूलो परिवर्तन संस्थापन विरोधी पक्षको उकासिएको मनोबल नै हो । पहिलो पटक सभापति निर्वाचित भए आए यता देउवालाई पार्टीभित्र अहिले जति दबाब सायद यसअघि कहिल्यै परेको थिएन । वास्तविक प्रभाव भने आगामी महाधिवेशन र आम निर्वाचनबाट मापन हुने नेताहरू बताउँछन् ।

कांग्रेस नेता डा. प्रकाशशरण महत जेनजी आन्दोलनले आफ्नो पार्टीमा सकारात्मक र नकारात्मक प्रभाव पारेको बताउँछन् । खासगरी भदौ २४ गतेको विध्वंश, सभापति दम्पतीमाथिको कुटपीट, निजी तथा सरकारी संरचनामाथिको भौतिक क्षतिलाई उनी नकारात्मक प्रभाव भन्न रुचाउँछन् ।

‘नेतृत्व हस्तान्तरणको बहस पनि राम्रो हो, भलै कतिपयले यसलाई आफ्नो निहित स्वार्थ पूर्ति गर्ने अवसरको रूपमा व्याख्या गर्ने गरेका छन्’ महत भन्छन्, ‘सबैभन्दा ठूलो कुरा सुशासनको मामिलामा गम्भीर हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’

पहिलो संविधानसभामा दोस्रो ठूलो कांग्रेस र तेस्रो ठूलो दल एमाले दुवैको भन्दा बढी सिट जितेको नेकपा माओवादी केन्द्र विघटित प्रतिनिधिसभामा ३२ सिट सहित तेस्रो स्थानमा थियो । यो पार्टीमा जेनजी आन्दोलनको संगठनात्मक र सैद्धान्तिक प्रभाव देखियो ।

जेनजी आन्दोलनपछि माओवादी, नेकपा एकीकृत समाजवादी लगायत डेढ दर्जन साना दलहरूसँग एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । भलै माओवादी र एकीकृत समाजवादीका सबै नेताहरू नवगठित नेकपामा अटेनन् ।

नेकपामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छाडेर आएका राजेन्द्र श्रेष्ठ, रणध्वज कन्दङ्वा लगायतका नेताहरू पनि नेकपामा समाहित भएका छन् । तर माओवादीका उपमहासचिव जनार्दन शर्मा, राम कार्की, गणेश साह, सुदन किराँती लगायत नेकपामा गएनन् ।

माओवादीले जेनजी आन्दोलनपछि माओवाद विचारधारा नै छोड्यो । माओवादी सहित एकता भएर बनेको नेकपाले मार्क्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने भनेको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त भएलगत्तै जेनजी आन्दोलनका घाइतेहरूले भेटे । उनले चुनावमा मिल्नुपर्नेहरूसँग अन्तिममा भए पनि मिलिछाड्ने बताएका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौंमा मेयर बालेन्द्र शाह लगायतसँग मिल्ने चर्चा चलिरहेबा बेला लामिछानेले यस्तो अभिव्यक्ति दिएका हुन् ।

लामिछाने कारागारमा हुँदै रास्वपाले विवेकशील साझासँग एकीकरण गरिसकेको छ । रास्वपा संसदीय सुमना श्रेष्ठ, सन्तोष परियार लगायतले पार्टी छाडे । परियारले माओवादीबाट बाहिरिएका जनार्दन शर्मा, राम कार्की, सुदन किराँती र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् ।

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दलको संख्या १४३ पुगेको छ । आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता आव्हान गर्दा दुई दर्जनभन्दा बढी नयाँ दल थपिए । त्यसमा पुनर्गठित, विभाजत र नयाँ गरी तीन थरी दलहरू छन् ।

स्थापित दलहरूले पुरानै नेतृत्वलाई निरन्तरता दिन चाहेको देखिन्छ । भर्खरै महाधिवेशन गरेको एमालेमा मात्रै होइन नेपाली कम्युनिष्ट पार्टी जस्ता दलको नेतृत्वमा पनि पटक-पटक प्रधानमन्त्री भइसकेका र ७० वर्ष नाघेका नेताहरूकै बाहुल्य छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा जस्ता पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरण कुन चरोको नाम हो थाहा छैन ।

विश्लेषक श्याम श्रेष्ठ जेनजी आन्दोलनपछि पनि दलका नेताहरूले पाठ सिकेको नदेखिएको बताउँछन् । देउवा सिंगापुरबाट फर्किएपछि कांग्रेस संसद् पुनर्स्थापनाको पछि लाग्नु त्यसैको एउटा उदाहरण हो ।

कतिपय नेताहरूको प्रस्तुति तीन महिना पहिले त्यत्रो आन्दोलन नै भएको थिएन कि जस्तो देखिएको उनको विश्लेषण छ । श्रेष्ठ भन्छन्, ‘ठूला साना सबै दलका नेतामा नेतृत्व हस्तान्तरणको रुची देखिएन । आर्यघाट नपुग्दासम्म पदमै बस्ने मनस्थितिमा रत्तिभर कमी आएन ।’

अर्का विश्लेषक कृष्ण पोखरेल मतदाताको मथिंगल खलबलिँदा समेत नेताहरूलाई परिवर्तनको बहसले नछोएको बताउँछन् । जेनजी आन्दोलनले दलहरूमा परेको खास असर आगामी निर्वाचनमा देखिने उनको विश्लेषण छ । उनी भन्छन्, ‘आन्दोलनको म्यान्डेटलाई नेताहरूले नजरअन्दाज गरिरहेका छन्, को कति पानीमा छ भन्ने आगामी निर्वाचनबाट थाहा भइहाल्छ ।’

लेखक
सन्त गाहा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?