News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा सांग्रिला लिटरेचर फेस्टिबलको तेश्रो ‘सांग्रिला संवाद’ सम्पन्न भयो।
७ पुस, काठमाडौं । ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा सांग्रिला लिटरेचर फेस्टिबलको तेश्रो ‘सांग्रिला संवाद’ शनिबार सम्पन्न भयो । संवादमा लेखकद्वय सम्राट उपाध्याय र प्रविण अधिकारीले आख्यान लेखन, शिल्प र विधिका विविध आयामहरूमाथि गहन विमर्श गरे ।
प्राध्यापक तथा लेखक सम्राट उपाध्यायले लेखक प्रविण अधिकारीसँग आफ्नो लेखन प्रक्रिया तथा सिद्धान्तबारे खुलेर कुरा गरे । उपाध्यायले लेखन प्रक्रियामा आफूले के-कस्तो कथा भन्न खोजेको हो त्यो कुरामा अगाडि क्लियर हुनुपर्छ भनेर बताए ।
अधिकारीले कुनै थिमको सीमामा रहेर लेख्नुहुन्छ वा लेख्दै जाँदा थिम पत्ता लगाउनुहुन्छ भनेर सोध्दा उपाध्यायको उत्तर थियो, ‘कम्तीमा पहिलो ड्राफ्टसम्म म थिमको बारेमा सोच्दिन, म त्यो लेख्दै जाँदा पाउँछु, मेरो लागि भन्ने कथा धेरै महत्वपूर्ण हुन्छ, त्यसैले पहिलो वा दोश्रो ड्राफ्टपछि मात्र म थिमको बारेमा सोचेर थोरै परिमार्जित गर्छु । उनले थपे, ‘थिम भनेको दोश्रो वा तेश्रो कुरा हो, कथा पहिलो हो ।’
उपाध्याय र अधिकारीको संवादपछिको दोस्रो सत्र कविता–वाचनमा ८ कविले आफ्ना प्रिय कविता सुनाएका थिए । कविहरू डा. नवराज लम्साल, भुवन थपलिया, हरिश अधिकारी, रजनीमिला, रमी प्रिया, अस्मिता वादी, देव व्रत र कृपा खनालले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे ।

कवि डा. नवराज लम्सालको ‘मौन विद्रोहमाथि विकासको जुलुस’, भुवन थपलियाको ‘व्हेर आर द रुट्स’, हरिश अधिकारीको ‘स्ट्याण्डिङ अन ड बोर्डर: २०१५’ र ‘ओ माइ आइज’, रजनीमिलाको ‘नोस्टालजिया’, रमी प्रियाको ‘चिसोले च्याप्दै लगेको सहर’, देव व्रतको ‘’तिमी गए पनि हुनेछ प्रेम’, अस्मिता वादीको ‘काब्राको रुख’, र कृपा खनालको ‘टु मिनेट्स’ कविताहरूले दर्शक–श्रोतालाई भावुक र मन्त्रमुग्ध बनाइरह्यो ।
कार्यक्रममा करिब १०० जना भन्दा बढी लेखक एवम् पाठकहरूको उत्साहजनक सहभागिता थियो । सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीका अनुसार काठमाडौं सांग्रिला फाउन्डेसनले आगामी केही महिनामा प्रथम फेस्टिबलको आयोजना गर्नेछ जसमा देश र विदेशका कलाकार, लेखक, चिन्तक, तथा बुद्धिजीवीहरू बीच विविध मुद्धामा गम्भीर विचार-विमर्श हुनेछ ।
प्रतिक्रिया 4