+
+
Shares

जब मिरज थाके, शान्त बन्यो माइतीघरको चार घण्टे लुकामारी

मिरजले ‘आजलाई थकाइ लाग्यो, अब भोलि ११ बजे फेरि आउनुपर्छ’ भन्दै भिडलाई सम्बोधन गर्न स्पिकर झिकाएका थिए ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष ७ गते २१:३०

७ पुस, काठमाडौं । न प्रशासनको अनुमति थियो, न प्रहरीसँग समन्वय । मिरज ढुंगाना समूहका जेनजी अगुवाहरू सोमबार ११ बजेतिर माइतीघरमा देखिन थाले ।

सर्वपक्षीय सरकारको माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको यो समूहले माइतीघरलाई दिउँसो करिब चार घण्टा आन्दोलनको केन्द्र बनाए ।

आन्दोलनका लागि प्रवक्ता तोकिएका प्रकाश शर्माका अनुसार यसमा ३० वटा समूह जोडिएका छन् ।

११ बजे भेला हुँदा करिब १५ जना जति युवा माइतीघरमा देखा परेका थिए । पछिसम्म केही नयाँ अनुहार थपिए । यो समूह र प्रहरीको लामै समय लुकामारी चल्यो ।

प्रहरीले पक्राउ गर्न खोज्थ्यो, केही पर नपुग्दै आन्दोलनकारी फुत्किएर यथास्थानमा आइहाल्थे । त्यसपछि केहीबेर प्रहरीबीच आपसी सल्लाह चल्थ्यो, फेरि आन्दोलनकारी नाराबाजी गरेकै ठाउँमा पुगेर धरपकड गर्न खोज्थ्यो । तर ताल उही । समाउने र फुत्किने क्रम लामै समय चल्यो ।

प्रहरीले धरपकड गर्नुको कारण थियो, आन्दोलनकारीले प्रशासनसँग अनुमति नलिनु । प्रहरीले सुरुवातबाटै माइतीघरमा मिरज समूहलाई लक्षित गरी माइकिङ गरिरहेको थियो, ‘यसरी प्रदर्शन गर्न स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्छ । तर तपाईंहरूले लिनुभएको छैन । त्यसैले यहाँबाट हट्न विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

प्रहरीले अनुमति नलिई प्रदर्शन गर्न आएकालाई हट्न पटकपटक अनुरोध गर्यो । तर आन्दोलनकारी टेर्ने पक्षमा थिएनन् । सानै समूहमा रहे पनि ज्यान नै छाडेर उनीहरूले प्रहरीको हातबाट फुत्किने प्रयास गरिरहे ।

आन्दोलनकारीका भनाइअनुसार उनीहरूले सोमबार बिहानै प्रशासनमा गएर अनुमति माग गरेका थिए । तर सीडीओले सल्लाह गर्छौँ भन्दै फर्काइदिए । ‘त्यसपछि सीडीओलाई हामीले विद्रोह भन्ने कुरा कानुनमा टेकेर हुन्न । हामी आन्दोलन गर्छौँ’ भनेर हिँड्यौँ,’ अनुमति माग्न गएका प्रकाश शर्माले अनलाइनखबरसँग भने, ‘खासमा हामीलाई अनुमति यो सरकारले दिँदैन भन्ने थाहा थियो । त्यसैले यता आएर थाल्यौँ ।’

यसरी सुरुवातबाटै धक्कामुक्की चलिरहँदा प्रदर्शनकारीको नाराबाजी थियो– सरकार तेरो पाराले, दु:ख पायो साराले ।

केहीबेर नाराबाजी चल्दा नचल्दै फेरि प्रहरी पुगिहाल्थ्यो । भिड तितरबितर हुन्थ्यो । आन्दोलनकारी समूहकै केही अगुवा प्रहरीबाट जोगिन भाग्दा उनीहरूसँग सडकमा आएकाले औँल्याउँदै भनिहाल्थे– यस्तो नि नेता हुन्छ, भाग्ने ?

अहिले अरूलाई भाग्नु हुँदैन भनेर बोलिरहेका यी जेनजी समूहका नाइके मिरज स्वयंलाई भदौ २३ गतेको जेनजी आन्दोलनबाट भागेको आरोप लाग्ने गरेको छ । डरधम्की आएकाले आफू त्यसबेला सडकमा नआएको बताए पनि सोमबार भने उनकै समर्थकले यस्ता कुराबाट डराउन नहुने बताइरहेका थिए ।

प्रहरीले एकातर्फबाट पक्रन खोज्थ्यो, उनीहरू अर्कोतिर समूह भेला बनाएर नारा लगाउन थालिहाल्थे, ‘हत्यारालाई कारबाही गर ।’ यी प्रदर्शनकारीले संकेत गरेका हत्यारा भदौ २३ गते सत्तामा रहेका अधिकारीहरूतर्फ थियो ।

प्रहरी अझै नजिक पुगेर माइकिङ गर्थ्यो । तर आन्दोलनकारी त्यो सुन्ने मुडमै देखिँदैनथे । प्रहरी फेरि सक्रिय भएर केही युवालाई समातेर पर पुर्याउँथ्यो, अनि त्यतै रुमाल्याएर फेरि छोड्थ्यो । यो लुकामारी सुरुवातबाटै चल्न थाल्यो । एक जना प्रदर्शनकारीको कोट नै दुई टुक्रा भयो । पछि यही कोट लौरोमा ठड्याएर यो समूहले प्रदर्शन गर्यो ।

आन्दोलनकारी र प्रहरीबीच सुरु भएको धक्कामुक्कीको केही बेरपछि आन्दोलनका नाइके मिरज आइपुगे । उनी माइतीघर प्रवेश गर्दा हुटिङ चल्यो ।

भिडबाट घेरिँदै उनी नाराबाजी भए ठाउँ पुग्थे । सबैले मिरजलाई घेरेर प्रहरीबाट हुने गिरफ्तारीबाट जोगाउँथे । नाराबाजी गरिरहेका प्रदर्शनकारीबाट घेरिएका उनले वैशाखी समाएका थिए । जेनजी आन्दोलनका घाइतेको सहानुभूति बटुल्न खोजेका मिरजले अन्तिमसम्म वैशाखी छोडेनन् । पाखुरा अड्याउने भागको कभर उडिसक्दा पनि उनले अन्तिमसम्म वैशाखी छोडेका थिएनन् । केही आन्दोलनका घाइतेलाई पनि सँगसँगै ल्याएका थिए, उनले ।

आन्दोलन सुरु भएको केही समयपछि राजावादी समूह निकट मानिने रविकिरण हमाल अनि सामाजिक सञ्जालमा भाइरल डा. निकोलस भुसाल पनि आइपुगे । विशेषगरी निकोलस आएपछिको माहोल भने अर्को बन्यो । उनलाई नेता मान्नेहरू पनि त्यहाँ देखिए । युट्युबरहरू पनि थप सक्रिय बने । कन्टेन्ट बनाए । त्यसपछि अन्य युवाहरू पनि अन्तर्वार्ता दिन थाले ।

मानौँ, माइतीघर नै एउटा स्टुडियो बनेको थियो । जताजतै अन्तर्वार्ता लिने र दिनेका लहर देखिए । यतिसम्म कि, बर्नहर्ट कलेजदेखि अन्य शैक्षिक संस्थाबाट आएका विद्यार्थी पनि अन्तर्वार्ता दिन सामेल भए । नाबालिग ती विद्यार्थीको अन्तर्वार्ता भ्युजकै नाममा त्यसरी लिनुहुँदैन भन्ने हेक्का पनि केही युट्युबर मिडियाकर्मीले लिएको देखिएन ।

आन्दोलनकारी र मिडियाबाहेक दर्शक पनि माइतीघरमा थिए । माइतीघरमा नियमित प्रदर्शन भइरहने सडकतर्फ थोरै संख्यामा रहेका आन्दोलनकारी थिए भने त्यसलाई घेर्ने मिडिया तीभन्दा धेरै थिए । अनि, रुखका फेदमुनि बसेर हेर्ने दर्शकको संख्या पनि कम थिएन । ती दर्शकका प्रतिक्रिया हुन्थे, ‘प्रहरीले जानाजान छोडिदिएको हो । आखिर समाते पनि भरे छोड्नुपरिहाल्छ । अनि आउने यहीँ हो । बरु यसैगरी थकाएको जाती ।’

प्रहरीसँग लुकामारी खेल्दै माइतीघरमा करिब चार घण्टा बिताएको मिरज समूहले यसलाई देशव्यापी आन्दोलनको सुरुवात भनेको छ ।

प्रहरी र प्रदर्शनकारीको लुकामारी चलिरहँदा पत्रकार र प्रदर्शनकारीबीच नै कुटाकुट भयो । प्रदर्शनकारीले सुरुमा हात हालेपछि आफूहरूले पनि प्रतिकार गरेको पत्रकारहरूको दाबी थियो ।

छरपस्ट माइतीघरमा प्रदर्शनकारी वल्लो छेउ र पल्लो कुनामा अन्तर्वार्ता दिँदै थिए । बानेश्वरतर्फको छेउमा मिरज केही युवाले घेरिएर अन्तर्वार्ता दिइरहँदा पल्लो छेउमा बोलिरहेका निकोलस भुसालका भनाइ मिडियामा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

‘विनाशकारी निर्वाचन चाहिँदैन’ भन्दै नाराबाजी गरेका उनीहरू केबल मिडिया खपतका लागि बोलिरहेका थिए भन्ने बुझ्न केही दृश्य बुझे पुग्छ ।

जस्तो, करिब साढे बाह्र बजेपछि प्रहरीले आन्दोलनकारी समाउन थाल्यो । रविकिरण हमाल लगायतका अगुवा पक्राउ परे । उनीसहित अन्य युवालाई पनि पक्रदै प्रहरीले भ्यानमा हाल्यो । प्रहरीबाट फुत्किन प्रयास गर्दै भ्यानसम्म पुगेका उनीहरू ‘मलाई के समाउँछस् ? ओलीलाई गोली हान्न सक्छस् ?’ भन्दै कराउँदै थिए । तर, भ्याननजिक पुगेपछि शान्त उनीहरू आफैँ भ्यानमा चडे ।

अगाडिसम्म बल गरिरहेका उनीहरू यसपछि भने आफैँ उक्लिएको दृश्य त्यहाँ देखियो । भित्र छिर्दासम्म शान्त उनीहरू त्यसबेलासम्म शान्त सुनिए, जतिबेलासम्म क्यामेरा अगाडि परेन । जब क्यामेरा अगाडि पर्यो, भित्रबाट भ्यानको जालीमा मुक्का हान्दै सुशीला सरकारको राजीनामा मागिहाले । त्यो जालीको प्वालबाट हेर्दै भित्र रहेका सबै एकैपटक नाराबाजी र प्रदर्शन गर्न थाले ।

‘यहाँबाट मिडिया मात्र गइदिए पनि यिनीहरू आफैँ जान्थे । क्यामेरा देखेर कराइरहेका हुन्, एटेन्सन पाउन,’ हामीसँगै रहेका एक युवाको तर्क थियो ।

यसरी केही युवालाई प्रहरीले पक्राउ गरेपछि मिरज सहितका अन्य जेनजी अगुवा भद्रकाली परिसर अगाडि पुगे । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलय अगाडि नै ब्यारिकेट लगाएर बाटो छेकेको थियो । केहीबेर हराएका निकोलस फेरि आइपुगे । हुटिङ र नाराबाजीसँगै उनले फेरि तीन राउन्ड अन्तर्वार्ता दिन भ्याइहाले ।

माइतीघरबाट भद्रकाली परिसर छिर्ने मुखैमा जम्मा भएका यी युवाको योजना थियो, सामूहिक गिरफ्तारी दिने । ‘हाम्रा साथीलाई कि त छोड्नुपर्यो, कि हामी सबैलाई समात्’ भन्दै दबाब बढाए । निरन्तर दबाब बढेपछि प्रहरीले रविकिरण हमाल सहितको टोलीलाई परिसर भित्रबाट भिडमै ल्याएर छोडिदियो । उनीहरूलाई परबाट प्रहरीले ल्याउँदै गरेको देखेपछि यता जम्मा भएकाहरू नाराबाजी गर्न थाले । र, प्रहरीबाट छोडिएका ती युवालाई साथै लिएर, निकोलस भुसाललाई काँधमा बोक्दै माइतीघर फर्किए ।

माइतीघर आएपछि केहीबेर नाराबाजी गरेको यो समूहमा एकाएक सानो स्पिकर आइपुग्यो । सोही स्पिकर समाएर मिरजले भिडलाई सम्बोधन गरे । उनीनिकट जेनजी अगुवाका अनुसार मिरजले ‘आजलाई थकाइ लाग्यो, अब भोलि एघार बजे फेरि आउनुपर्छ’ भन्दै भिडलाई सम्बोधन गर्न स्पिकर झिकाएका थिए । तर सानो भएकाले त्यसबाट निस्किएको आवाज भिडको कानसम्म पुगेन । उनले के बोले, अधिकांशले मेलो पाएनन् ।

त्यसपछि मिरज भिडबाट छलिँदै एकाएक निस्किए । कतिपयले त मिरज निस्किएको पत्तै पाएनन् । उनीसँगै आन्दोलनमा आएकाहरूले भन्दै थिए, ‘ए ! मिरज निस्किसकेको पो हो ? केही छैन, अब भोलि भेट्ने कुरो छ ।’

यसरी प्रहरीसँग लुकामारी खेल्दै माइतीघरमा करिब चार घण्टा बिताएको मिरज समूहले यसलाई देशव्यापी आन्दोलनको सुरुवाती दिनको झिल्को भनेको छ । र, अब मंगलबारबाट भने ‘ठूलो स्पिकर ल्याएर आफ्नो आवाज सरकारसम्म पुर्याउने’ वाचा आन्दोलनमा आएका अन्य युवासमक्ष गरेको छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?