+
+
Shares

रवि-बालेन भेटले उत्साही जेनजी

वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि-बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका छन् । उनीहरू वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताउँछन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष ८ गते १९:५७

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले जेनजीलाई उत्साही बनाएको छ । वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि-बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका हुन् ।

रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रविबीच गएराति करिब ७ घण्टा वार्ता भएको थियो ।

वार्तापछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए । करिब पाँच घण्टा रवि र बालेनबीच ‘वान वन वान’ वार्ता भएको पनि स्रोतले अनलाइनखबरलाई बताएको छ ।

राजनीतिक एकताको गृहकार्यमा भएको सो वार्तालाई लिएर जेनजीहरू उत्साही देखिन्छन् । त्यसमाथि रवि र बालेनबीच प्रधानमन्त्रीसम्मकै बाँडफाँटको कुरा मिलेको समाचारले उनीहरू एकता नजिक रहेको संकेत देखिन्छ ।

रवि-बालेन वार्ताले आफूहरू उत्साही र आशावादी रहेको भन्दै द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले अब कुलमान घिसिङलाई पनि जोड्न पाए गज्जब हुने बताए ।

‘अब म आफैँले पनि रवि लामिछाने, बालेनज्यूलाई भेट्नुपर्छ, मिल्नुपर्छ भनेर दबाब दिएको हुँ । मैले मात्र पहल गरेर भेटाएको भन्दा पनि सहजीकरण गरेको हुँ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अब यसमा कुलमान घिसिङलाई पनि सँगै ल्याउनुपर्छ । त्यति गरेपछि मन अलि शान्त हुन्छ ।’

यदि रवि, बालेन र कुलमानहरू एक ठाउँमा आए भने आफूहरू पनि सोही पार्टीमा जोडिने सम्भावना प्रवल रहेको संकेत गुरूले गरे ।

‘यसरी एक हुनुपर्छ भनेर हामीले नै यो कदम चालेका हौं । प्रधानमन्त्रीमा बालेन हुनुपर्छ भनेर हामीले पनि जोडबल गरिरहेका छौँ, किनभने रवि लामिछानेको त विभिन्न ‘केस’ छन् नि त ! त्यसैले अब उनीहरू मिले भने त्यही पार्टीमा हामी जोडिने सम्भावना धेरै छ ।’

यिनै सुदनले यसअघि बालेन र ऊर्जामन्त्री कुलमान घिसिङ भेटाएको दाबी गरेका थिए । कुलमान घिसिङले ‘देश बनाउने हकमा हामी सँगै छौँ’ भनेर बालेनसँगको फोटो सार्वजनिक गरेपछि उनले यस्तो दाबी गरेका थिए । त्यसपछि नख्खु कारागारमै पुगेर रवि लामिछानेलाई भेटे र वैकल्पिक शक्ति एक हुनुपर्ने विषयमा छलफल गरे ।

त्यसबेला नै रविबाट सकारात्मक प्रतिक्रिया पाएका गुरुङले उनी जेलमुक्त भएपछि पनि भेटेर वैकल्पिक शक्ति एक बनाउने विषयमा सबै पक्षसँग छलफल गर्न दबाब दिए । ‘मैले मेरो मात्र पहल भन्न मिल्दैन । हामी धेरैको सहजीकरण, पहल र दबाबले पनि यो कोर्समा माहोल बन्दै गएको हो,’ गुरुङले अनलाइनखबरसँग भने ।

सोमबारको भेटपछि रविले पनि वैकल्पिक शक्ति एक हुने विषयमा छलफल प्रारम्भ भएको बताउँदै यो संवादमा ऊर्जामन्त्री कुलमान घिसिङ र द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङसँग पनि छलफल गर्ने बताएका छन् । यसरी तीव्र गतिमा छलफलहरू अघि बढ्दा आफूहरू उत्साही रहेको गुरुङले बताएका छन् ।

यसअघिबाट जेनजीका केही समूहले वैकल्पिक शक्ति एक गराउँन पटकपटक प्रयास गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि नै कुलमान, बालेन र रवि लामिछानेलगायतका शक्तिलाई मिलाउन यिनीहरुले प्रयत्न गरेका थिए । त्यसमा रास्वपाकी पूर्वनेता सुमना श्रेष्ठ, सागर ढकाललगायतका युवा पनि सामेल थिए ।

कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गर्नुपूर्व पनि यी समूहले सबैलाई मिलाउने प्रयत्न गरेका थिए । उक्त पार्टीको नाम नै उज्यालो नेपालभन्दा पनि ‘नेपाल जनसेवा पार्टी’ राखेर अघि बढ्नेसम्मको सहमति भइसकेको थियो ।

तर, अन्तिम घडीमा आएर उक्त नाममा सहमति नजुटेपछि सुमना श्रेष्ठहरु यसबाट बाहिरिएका थिए । यी शक्तिलाई मिलाउन सुरुबाटै प्रयत्नरत सुदन गुरुङ समूह भने अन्तिम समयसम्म कुलमानसँगै थिए ।

सोही पार्टीमा बालेनले आफ्नातर्फबाट केही नाम केन्द्रीय सदस्यको लागि पठाउनेसम्मका विषय चर्चामा थिए ।

तर, अन्तिममा बालेन पक्षधर पनि यसमा जोडिएनन् । सुमना श्रेष्ठलगायतका युवा पनि उज्यालो नेपालमा रहन सहमत भएनन् । त्यसपछि सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजीका प्रदेश संयोजकहरुले पनि केन्द्रीय सदस्यमा टिपाइसकेको नाम निकाल्न लगाएका थिए ।

कोशी प्रदेश संयोजक उपार्जुन चामलिङले भने असहमति जनाएर सुरुवातबाटै केन्द्रीय सदस्यमा नाम टिपाएका थिएनन् । यसबाहेक अन्य सबै प्रदेश संयोजकले नाम टिपाए पनि अन्तिम घडीमा सुदन गुरुङकै सहमतिमा उज्यालो नेपाल पार्टीको प्रस्तावित केन्द्रीय सदस्यको सूचिबाट नाम झिकेका थिए ।

यसपछि जेनजीहरु बालेन शाहसँग संवाद गर्न थाले । सुदननिकट जेनजी अगुवाका अनुसार बालेनलाई केन्द्रमा राखेर पार्टी ल्याउनुपर्ने भन्दै आफूहरु सक्रिय भए । वैकल्पिक शक्तिको लागि पटकपटक संवाद गरे । यो समूहले जेनजी मुभमेन्ट अलायन्स, जेनजी फ्रन्टसँग संवाद गरेको थियो ।

यता जेनजी फ्रन्ट पनि रक्षा बमलाई नेतृत्व मानेर वा रञ्जु दर्शनासहितलाई लिएर नयाँ पार्टी बनाउने भन्नेसम्मको छलफलमा थियो । यो समूहले पनि वैकल्पिक शक्तिको लागि संघर्षरत सबै पक्षसँग छलफल गर्न भ्यायो । अन्य जेनजी समूह पनि सबै पक्षसँग छलफलमा थिए ।

तर, पनि निचोड निस्किएको थिएन । सबैलाई मिलाउने जेनजी प्रयासले कुनै निकास दिनसकेको थिएन । यहीबीचमा एकाएक कुलमान र बालेनको फोटो सार्वजनिक भयो । यो भेटघाटलाई लिएर सुदन गुरुङले आफ्नो सहजीकरणले बल्ल सार्थकता पाएको आशयको टिप्पणी गरे ।

त्यसपछि अब आफूले रवि लामिछानेलाई पनि एक ठाउँमा ल्याउन भूमिका खेल्ने बताए । नभन्दै नख्खु कारागारमै पुगेर लामिछानेसँग उनले भेट गरे । लामिछानेबाट सकारात्मक लक्षण पाएका उनले अब कुनै हालतमा वैकल्पिक शक्ति मिलाउन लागि पर्ने वाचा गरे ।

जेनजी फ्रन्टका अगुवा युजन राजभण्डारीले वैकल्पिक शक्ति एक हुने विषयमा भएको छलफलको प्रारम्भलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताए । एउटा बलियो वैकल्पिक शक्तिको आवश्यकता देशमा रहेकाले त्यसतर्फ यसका प्रमुख नेताहरू छलफलमा बस्नुले आसाको सञ्चार गरेको उनले बताए ।

तर, यसरी एक हुँदै गर्दा केबल एकअर्काबीच तालमेल गर्नेभन्दा पनि दीर्घकाललाई हेरेर विचार-सिद्धान्तमा स्पष्ट भएर अघि बढ्न युजनको सुझाव छ ।

‘यसरी एक हुँदै गर्दा प्रोसेसअनुसार अघि बढेर दीर्घकालीन रूपमा शक्ति स्थापित हुनेगरी लाग्नुपर्छ । विचार–सिद्धान्तमा स्पष्ट भएर अघि बढ्नुपर्छ,’ युजनले भने, ‘यद्यपि, जे भए पनि अहिले यसरी छलफल प्रारम्भ हुनु नै एउटा सुखद कुरा हो । हाम्रो समाजलाई एउटा आसा चाहिएको छ । नयाँहरू एकठाउँ आउँदा आसाको सञ्चार भएको छ ।’

यसरी बनेको नयाँ दल र समूहहरूको गठबन्धनले जेनजीका मुद्दा स्थापित गर्न र सरकारसँगको सम्झौतालाई अत्मसात गरेर कार्यान्वयनमा जोड दिन पहल गर्नुपर्ने उनले बताए ।

यद्यपि, यो छलफलको प्रारम्भ आफैँमा निकै सकारात्मक कुरा रहेकाले थप तथ्य खुल्दै जाँदा आफूहरूले पनि आवश्यक निर्णय लिने युजनले बताए ।

‘यसरी बनेको शक्तिमा हामी जोडिने–नजोडिने विषयमा पहिला त उहाँहरूको मुद्दा, एजेन्डा, विचार लगायतका कुरा हेर्छौँ । त्यसपछि समूहमा छलफल गरेर योजना बनाउँछौँ । यद्यपि, राजनीतिक रूपमा अघि बढ्न वैकल्पिक शक्तिसँग छलफल गर्न हामी सधैँ सकारात्मक छौँ । यो शक्तिले युवालाई राम्रै स्पेस दिन्छ भन्ने अपेक्षा पनि छ,’ उनले भने ।

जेनजी अगुवा साङ्केन राई भने अहिले नै आशावादी भएर निचोडमा पुगिहाल्ने अवस्था नरहेको बताउँछिन् । आमजनताले रवि र बालेन दुवैलाई आशावादी दृष्टिले हेरे पनि आफूहरूले भने उनीहरूको भावी रणनीति, कार्ययोजना, शैली र आचरणलाई हेरेर मात्र टिप्पणी गर्नसक्ने उनले बताइन् ।

‘तत्कालको लागि केही नहुनुभन्दा यति हुनुलाई आशावादी भएर हेर्न सकिएला । तर अहिले नै यसबारे टिप्पणी गर्न हतार हुन्छ । उहाँहरूको आचरण, कार्यशैली र विचार लगायतका कुरा हेरेपछि थप बोल्न सकिन्छ,’ साङ्केनले अनलाइनखबरसँग भनिन्, ‘म व्यक्तिगत रूपमा उहाँहरू दुवैको फ्यान हैन । के उहाँहरू साच्चै बेस्ट अप्सन हो त ? जुन तरिकाको कार्यशैली बालेनजीको छ, त्यो शैली हाम्रो जस्तो लोकतान्त्रिक देशमा राम्रो हो त ? यसरी पनि सोच्नुपर्ला ।’

यद्यपि, पहिलाकै पुराना दलका पुराना नेता नै सत्तामा फर्कने कुराभन्दा यो वैकल्पिक गठबन्धन केही राम्रो भएको स्वीकार्दै उनले थप भनिन्, ‘अब उहाँहरुको शैली हेरौँ । राम्रो गर्दा हाम्रो साथ सधैँ हुन्छ । नभए अरुलाईजस्तै आलोचना नै गर्छौँ ।’
जेनजी अगुवा खेमराज साउद आमजनताले आस गरेका वैकल्पिक पात्रहरू एक ठाउँमा आउन संवाद अघि बढाएको विषयले निकै उत्साही बनाएको बताउँछन् । त्यसमाथि यी शक्तिले जेनजी आन्दोलनका माग र भावनालाई समेट्ने र आफ्नो म्यान्डेट कार्यान्वयनमा भूमिका खेल्नेबारे खुलेरै बोलिरहेकाले पनि झन् आसावादी रहेको तर्क उनको छ ।

यसरी नयाँ शक्तिहरू मिल्दै गर्दा नेपाली राजनीतिमा आसाको सञ्चार पनि भएको र यसले फ्रस्ट्रेट नागरिकमा ऊर्जा भरेको विश्वास पनि साउदले व्यक्त गरे ।

‘उहाँहरू हाम्रो म्यान्डेटलाई मानेर, नयाँ शक्ति एक भएर पुरानाहरूलाई परास्त गर्ने भन्दै संवादमा हुनुहुन्छ, जुन जेनजी आन्दोलनको चाहना पनि हो । तर अब यसमा कुलमानलाई पनि तान्नुपर्छ र तीन शक्ति एकठाउँ हुनुपर्छ भनेर थप दबाब हामीले दिइरहेका छौँ,’ उनले भने ।

यदि वार्ता सकारात्मक भएर तीन शक्ति एक ठाउँ आए आफूहरू पनि त्यसमा जोडिने साउदले बताए । जेनजी र सरकारबीच भएका सम्झौतालाई कार्यान्वयन गर्ने सर्त यी शक्तिले माने आफूहरू जोडिन तयार रहेको बताउँदै उनले थपे, ‘हामी जुन दल (पुरानाबाहेक) मा जोडिए पनि आफ्नो म्यान्डेट लिएर जान्छौँ । त्यो हुबहु मानेर कार्यान्वयनमा सघाउ पुर्याउनैपर्छ । त्यसैले उहाँहरूको छलफलमा पनि जेनजीका माग र म्यान्डेटलाई मान्छौँ भनेकाले हामी अझ सकारात्मक र उत्साही छौँ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?