+
+
Shares

अझै उस्तै छिन् सूर्यकुमारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करिष्मा मानन्धरले १५–१६ वर्षको उमेरमा फिल्म सन्तानबाट आफ्नो फिल्मी करियर सुरु गरिन्।
  • उनले मायालु, कस्तुरी, सपना, अरुणिमा, तपस्य, ट्रक ड्राइभर, साथी, यो मायाको सागर जस्ता थुप्रै फिल्म खेलेकी छन्।

नाममा कुनै सन्देह छैन, उनी सूर्यकुमारी नै हुन् । तर आम रूपमा उनलाई चिनाउने नाम हो, करिष्मा मानन्धर । करिष्मा नाम जति पृथक छ उत्तिकै मोहक पनि ।

तर, यहाँ नामको कुरा छैन । रुपको कुरा छ । आफ्नो जमनाकी सर्वाधिक सुन्दर अभिनेत्री हुन् उनी । कुनैबेला यस्तो लाग्थ्यो, हिरोइन भनेकै करिष्मा हुन् । बान्की परेको अनुहार र त्यसको चमकले उनलाई सधैं आकर्षणको केन्द्रमा राखिरह्यो ।

अहिले समय घर्किसकेको छ । करिष्मा अभिनित अन्तिम फिल्म नै ‘एकादेशको कथा’ जस्तै भइसकेको छ । अनि उनको उमेरले ५० वर्ष पार गरिसकेको छ । उमेर ढल्कँदैछ । तर उनको सौन्दर्य अझै उस्तै छ । अनुहारको आभामण्डलमा बुढ्यौलीको कत्ति पनि रङ उडेको छैन ।

आखिर हिरोइन जो परिन्, जसलाई सौन्दर्य र फेसनको तालमेल मिलाउन नआउने कुरै भएन । समयअनुसार फेसन गर्न माहिर छिन् उनी ।

हुन त करियरको उत्तरार्द्धमा उनी अभिनेत्री भन्दा बढी नेतृको भूमिकामा बढी देखिइन् । कहिले कुन राजनीतिक दलसँग त कहिले कुनसँग उनी कुम जोड्दै दौडिइन् । जोडतोडले राजनीतिमा लागे पनि त्यसले

उनमा खासै फलिफाप भएन । यसबीचमा बरू उनले छुटेको शैक्षिक यात्रालाई निरन्तारता दिइन् र सफलता पनि हासिल गर्दै गइन् । जे होस्, फिल्मबाट ओझेल भएपनि उनी ‘चिया गफ’का पात्र बनिरहिन् । चर्चा–परिचर्चा भइरह्यो ।

भनिहालौं, १५–१६ वर्षको उमेरमा करिष्माले फिल्मी करियर सुरु गरिन् । फिल्म सन्तानबाट करियर थालेकी उनले त्यसपछि मायालु, कस्तुरी, सपना, अरुणिमा, तपस्य, ट्रक ड्राइभर, साथी, यो मायाको सागर जस्ता थुप्रै-थुप्रै फिल्म खेलिन् । त्यसबीचमा उनी स्वयम्ले फिल्म निर्माण गरिन् । पछिल्लो फिल्म बाबुसाहेब बक्स अफिसमा असफल भएसँगै विरत्तिएकी उनी आफ्नो करियर चटक्कै छाडेर अमेरिका गइन् ।

करिब एक दशक अमेरिका बसाइपछि फेरि नेपाल फर्किएर कहिले फिल्म र कहिले राजनीतिमा सक्रिय भइन् । दुवैबाट उनले अपेक्षित सफलता हासिल गर्न सकिनन्। करियरको कुरा त त्यस्तै हो, उतार चढाव हुन्छ नै । यद्यपि उनले आफ्नो जीवनको लय भने गुमाएकी छैनन् । अझै उस्तै छिन्, करिष्मा । उस्तै सुन्दर, उस्तै चञ्चल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?