९ पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गाडी प्रयोगको विषयलाई लिएर बीच सडकमा झगडा भएको छ ।
बुधबार अध्यक्ष नोमनारायण माझीले प्रयोग गरेको गाडी उपाध्यक्ष गुणवतीदेवी थारूले नियन्त्रणमा लिएपछि दुई पक्षबीच विराटनगरको सडकमै झगडा भएको हो ।
पार्टीको कार्यक्रमका लागि विराटनगर आएकी उपाध्यक्ष थारूले अध्यक्षले प्रयोग गर्ने गाडी देखेपछि चालकबाट चाबी खोसेकी थिइन् ।
सरकारी गाडी लिएर अध्यक्ष माझी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उपाध्यक्षले चाबी खोसेपछि अध्यक्ष रिसाए । विवाद बढ्दै जाँदा अध्यक्ष र एमाले कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । त्यसपछि स्थानीयले अध्यक्ष माझीलाई रोकेका थिए ।
यसअघि गत फागुनमा अध्यक्ष माझीले उपाध्यक्षसहित वडाध्यक्षको सवारी खोसेका थिए । गाडी खोसेपछि जनप्रतिनिधि आफ्नै सवारी प्रयोग गरिरहेका छन् ।
गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यकर्तालाई लिएर आएका कारण गाडी रोकिएको बताइन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय बाहिर दुई पक्षबीच विवाद भए पनि कार्यालयमा प्रवेश गरेनन् ।
‘उहाँहरूको झगडा भएको भिडियोमा देखियो तर कार्यालयमा छलफलका लागि आउनुभएन । गाउँपालिकामा नै छलफल गर्ने भन्दै जानु भएछ,’ उनले भने, ‘अरू विषय जानकारी भएन ।’
गत मंसिरमा भएको उपनिर्वाचनमा माझीले माओवादी केन्द्रबाट पालिकाका अध्यक्ष जितेका थिए । एमालेको बहुमत भएको पालिकामा अध्यक्ष माझी र उपाध्यक्षसहित एमालेका जनप्रतिनिधिबीच पटकपटक विवाद भइरहेको छ ।
अध्यक्ष माझीले पालिकाको काममा बाधा पुर्याउने नियतले जनप्रतिनिधिहरूले अनावश्यक विवाद सिर्जना गरेको बताए । आफूले बिलासिताका लागि नभई जनताको सेवाका लागि पदमा आएको बताउँदै उनले काम गर्नका लागि जनप्रतिनिधिले नै रोकेको गुनसो गरे ।
‘गाउँ सभा बोलाउँछु नोट अफ डिसेन्ट लेख्छन्, उपस्थित हुँदैनन् । कार्यपालिका बैठक बोलाउँछु, आउँदैनन् । अनि के गर्ने ? म भत्ता खान गएको त होइन नि । तलब-भत्ता खानको लागि म अध्यक्ष भएको होइन,’ उनले भने, ‘जनताको काम गर्नलाई म त्यहाँ गएको हो । अनि के गर्ने त ?’
आफूलाई काम गर्न नदिइएको उनको गुनसो छ । ‘आफू काम नगर्ने तर अरूको खुट्टा तान्ने, त्यो त भएन नि,’ उनले भने, ‘म भन्छु, उपाध्यक्षको काम गर्ने अधिकार के हो, म सम्मान गर्छु । वडाध्यक्षको अधिकार के हो, म सम्मान गर्छु । तर तपाईंहरूले पनि अध्यक्षको अधिकारको सम्मान गर्नुपर्यो नि ।’
माझीले गाउँ सभामै आएर छलफल गर्न आग्रह गरे । उनले भने, ‘विराटनगरका सडकमा झगडा गरेर जनताको प्रतिनिधि भइँदैन ।’
प्रतिक्रिया 4