+
+
Shares

खाद्यले किन्यो सवा लाख क्विन्टल धान, कोटाभन्दा बढी थप्न छैन बजेट

यो वर्ष किसानले निजी क्षेत्रबाट धान खरिद मूल्य कम पाउँदा खाद्यले नै धान किनिदिनुपर्ने माग राख्दै आएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ।
  • कम्पनीले यस वर्ष १ लाख ८० हजार क्विन्टल धान खरिद लक्ष्य राखेको छ र ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३ र मध्यम धानको ३६२८ तोकेको छ।

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ ।

यो खरिदमा ३८ देखि ३९ करोड रुपैयाँ बराबर लगानी भएको कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।

खाद्यले ११ कात्तिकदेखि किसानसँग धान खरिद कार्य सुरु गरेको थियो । कम्पनीले यस वर्ष १ लाख ८० हजार क्विन्टल धान खरिद लक्ष्य राखेको छ । यसका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खरिद विभाग प्रमुख पोखरेलका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर र तुलसीपुरमा धान खरिद कार्य सम्पन्न भइसकेको छ । नेपालगञ्जमा पनि खरिद लगभग अन्तिम चरणमा पुगेको छ ।

‘हाल भैरहवा, वीरगञ्ज, जनकपुर, विराटनगर र बिर्तामोडमा भने धान खरिद कार्य जारी छ,’ उनले भने, ‘यद्यपि, पोखरा र जुम्लामा भने हालसम्म खरिद प्रक्रिया सुरु हुन सकेको छैन ।’

बजारमा धान उपलब्ध भए पनि बजेट अभावका कारण लक्ष्यभन्दा बढी खरिद गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

कम्पनीले हालसम्म खरिद गरेको सबै धान किसानसँग सिधै खरिद गरिएको र उनीहरूले भुक्तानी पनि पाइरहेको पौडेलले बताए ।

किसानले आफ्नो उत्पादन उचित मूल्यमा बेच्न नपाएको वा कम मूल्यमा बेच्नुपरेको गुनासो सम्बोधन गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

तथापि, सबैलाई सम्बोधन गर्न आर्थिक पक्ष र बजेट व्यवस्थापन आवश्यक रहेको उनले बताए । ‘हामी १ लाख ८० हजार क्विन्टलसम्म त पक्कै पग्छौं नै,’ उनले भने, ‘त्योभन्दा माथि त फेरि हाम्रो क्षमताको कुरा पनि भएन ।’

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ तोकेको छ ।

गत वर्ष कम्पनीले १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । गत आव निजी क्षेत्रले धेरै धान खरिद गरेका कारण कम्पनीलाई सबै धान खरिद गर्नुपर्ने दबाब आएन ।

तर, यो वर्ष किसानले निजी क्षेत्रबाट धान खरिद मूल्य कम पाउँदा खाद्यले नै धान किनिदिनुपर्ने माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?