१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् ।
यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो ।
बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।
सामाजिक सन्जालमा कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनलाई भेटेर छलफल गरेको कुराहरु सार्वजनिक भएका छन् तर भण्डारीले अनलाइनखबरसँग आफूले बालेनलाई नभेटेको बताए ।
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गरे । उनले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिए ।
उनले भने, ‘पुराना दलको विकल्पमा नयाँहरु एक भएर चुनावमा जाऔं भन्ने बालेनजीको प्रस्ताव थियो । हिजो एकसरो छलफल भयो । यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ ।’
आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् बालेन
गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।
बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । छलफलमा सहभागी स्रोतले भन्यो, ‘देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड बुझियो ।’
देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जितेका थिए ।
रविको नेतृत्व बालेनले नस्वीकार्ने संकेत
यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए ।
तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको संकेत गरे । ‘उहाँका कुराबाट के बुझियो भने रविसँग छलफल भए पनि पार्टीको नेतृत्व आफैंले गर्ने, अरुको नेतृत्वमा नजाने भन्ने हो,’ छलफलमा सहभागी एक नेताले भने ।
कमलपोखरी छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए ।
तर बुधबारको छलफलमा बालेनले रविको नेतृत्व नस्वीकार्ने संकेत गरेको एक नेताले बताए ।
चुनावी समीकरण मिलाउने प्रयास
बुधबार बेलुकी बालेनले जेनजीसहित विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेका छन् ।
कुमार बेनको घरमा भएको छलफलमा रक्षा बम, मिलन पाण्डेलगायतसँग बालेनले ‘वान टु वान’ छलफल पनि गरेका थिए ।
छलफलमा बालेनले अब आफू पार्टी राजनीतिमा आएको र त्यसको लागि सहयोग गर्न अनुरोध गरेका थिए । ‘अब म पार्टी राजनीतिमा आएँ । अब हामी सहकार्य गर्नुपर्छ । केही दिनमा यसको मोडालिटी टुङ्गिन्छ’, बालेनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
स्रोतका अनुसार बालेन बहुमत कसरी ल्याउन सकिन्छ र त्यसको इक्वेसन कसरी मिलाउन सकिन्छ भन्नेमा देखिन्छन् । ‘जेहोस्, यो प्रारम्भिक छलफल हो । कुलमान जी, बालेन जी, जेनजीलगायतका नेताहरू सँगै भएर अघि बढ्ने विषयमा कुरा अघि बढेको छ’, स्रोतले भन्यो ।
बालेनले ऋषि धमलालाई भने- म झापाबाट चुनाव लड्छु, तपाईं कहाँबाट ?
बालेनसँगको छलफलमा सहभागी पत्रकार ऋषि धमलाका अनुसार बालेनले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका थिए । झापाको क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ पनि उम्मेदवार सिफारिस भएका छन् ।
धमलाले अनलाइनखबरसँग भने, ‘बालेनले म झापा ५ बाट चुनाव लड्छु, तपाईं प्रत्यक्षमा लड्ने कि समानुपातिकमा बस्ने भनेर सोध्नुभयो ।’
‘अनि मैले म राजनीतिमा आएँ भने प्रत्यक्षमै लड्छु, समानुपातिकमा बस्दिनँ भनेँ,’ धमलाले बालेनसँग भएको कुराकानी सुनाए, ‘प्रत्यक्षमा कहाँबाट लड्ने भनेर सोध्नुभयो । मैले सोचेर भनौंला भनेको छु ।’
आज दिउँसो पनि बालेनसँग छलफल गर्ने सल्लाह गरेर छुट्टिएको धमलाले बताए ।
प्रतिक्रिया 4