News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको बर्मिङ्घमस्थित क्लोभर स्पा एन्ड होटलले डिसेम्बर ३१ मा निर्वस्त्र नयाँ वर्ष उत्सव आयोजना गर्ने तयारी गरेको छ।
- कार्यक्रममा १८ वर्षमाथिका पाहुनाले मात्र भाग लिन पाउनेछन् र कुनै यौन गतिविधि अनुमति नदिइनेछ।
- होटलले स्पा सेवा, खाना, पेय पदार्थ र डिजे संगीतको व्यवस्था गरेको छ र अग्रिम बुकिङ अनिवार्य छ।
डिसेम्बर महिना सुरु भएसँगै क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारी विश्वभर सुरु हुन्छ । नयाँ वर्ष उत्सव मनाउका लागि मानिसहरूले अनेक थरीका योजना बनाउँछन् । त्यसै क्रममा बेलायतका केही प्रकृतिवादी (न्याचुरिस्ट) समुदायले निर्वस्त्र रुपमा, प्राकृतिक जीवनशैली अनुरूप क्रिसमस र नयाँ वर्ष मनाउने कार्यक्रम आयोजना गरेका छन् ।
बेलायतको बर्मिङ्घमस्थित क्लोभर स्पा एन्ड होटलले यस्ता प्रकृतिवादीहरूका लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ। डेली स्टारको रिपोर्टअनुसार होटलले डिसेम्बरको सुरुदेखि नै प्रकृतिवादी समुदायलाई लक्षित गर्दै विभिन्न क्रिसमस कार्यक्रमहरू आयोजना गरेको थियो । यसै क्रममा अब ‘न्युड न्यू इयर्स इभ पार्टी’ आयोजना गर्ने तयारी भइरहेको छ।
बर्मिङ्घममा रहेको सातकोठे सानो होटल क्लोभर स्पाले डिसेम्बरभर विभिन्न कार्यक्रमहरू आयोजना गर्यो । यसै क्रममा आयोजना गरिएको क्रिसमस पार्टी पनि विशेष रह्यो जहाँ पाहुनाहरूका लागि मसाज सेवा, टर्की र मिन्स पाई जस्ता परिकार उपलब्ध गराइएको थियो।

यही डिसेम्बर ३१ तारिखका दिन आयोजना हुने न्यू इयर इभ कार्यक्रममा चाहिँ होटलले प्रकृतिवादी पाहुनालाई निर्वस्त्ररूपमा उत्सव मनाउने अवसर दिँदैछ । कार्यक्रममा डिजे संगीत र पेय पदार्थको पनि व्यवस्था गरिनेछ ।
बुकिङ अनिवार्य, सीमित शुल्क
होटलले उक्त निर्वस्त्र नयाँ वर्ष साँझ कार्यक्रमको विज्ञापन गर्दै निमन्त्रणा पनि गरेको छ । जसमा ‘क्लोभरका साथीहरूसँग पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्न’ आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागी हुन अग्रिम बुकिङ अनिवार्य गरिएको छ।

कार्यक्रम डिसेम्बर ३१ साँझ ६ बजेदेखि सुरु हुन्छ । सुरुवातमा पाहुनाहरूले स्पा सुविधाको आनन्द लिनेछन् भने त्यसपछि खाना र पेयको व्यवस्था हुन्छ । साँझ ७ बजेदेखि राति १ बजेसम्म डिजे लियामको संगीतमा नृत्य र मनोरञ्जन हुनेछ । यी सबै गतिविधिमा पाहुनाहरू निर्वस्त्र भएर सहभागी हुनेछन् ।
होटलका मालिक टिम हिग्सका अनुसार १८ वर्षभन्दा माथिका व्यक्तिहरूले मात्र उक्त कार्यक्रमा प्रवेश पाउनेछन् । कार्यक्रमका क्रममा पूर्ण रूपमा सुरक्षित तथा मैत्रीपूर्ण वातावरण कायम गरिने उनले बताए । होटल प्रशासनका अनुसार यहाँ कुनै पनि प्रकारका यौन गतिविधिलाई अनुमति दिइँदैन । पाहुनाहरूबीच आपसी संवाद, पुराना मित्रसँग भेटघाट र नयाँ मित्रता निर्माणमै कार्यक्रम केन्द्रित रहने दाबी उनको छ ।
(एजेन्सी)
प्रतिक्रिया 4