News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या भदौदेखि घट्दै गएको छ, मंसिरमा ६५ हजार ७ सय ५ जना मात्र गएका छन्।
- मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या २९ हजार ६ सय १८ पुगेको छ, जुन कात्तिकको तुलनामा बढेको हो।
- यूएई जाने कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण शुल्क ५ सयबाट १४ हजार रुपैयाँसम्म पुगेको छ, जसले कामदारलाई प्रभावित पारेको छ।
१० पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या हरेक महिना घट्दो क्रममा छ ।
असोज, कात्तिकसँगै मंसिरमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जुन कात्तिकको तुलनामा ७ हजार ३ सयले कम हो । कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए ।
मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या भने बढेको छ । मंसिरमा २९ हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।
कात्तिकमा भने २२ हजार ५ सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
पुन: श्रम स्वीकृति लिनेको संख्या कात्तिकको तुलनामा मंसिरमा घटेको देखिन्छ । कात्तिकमा ५० हजार ५ सय ८० जनाले पुन: श्रम स्वीकृति लिएका थिए भने मंसिरमा ३६ हजार ८७ जनाले स्वीकृति लिएका थिए ।
जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको चाप बढे पनि प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् ।
पहिले कन्सुलर विभाग मार्फत प्रहरी प्रतिवेदनका लागि ५ सय रुपैयाँ लिने गरिएको थियो । तर, अहिले प्रमाणीकरण शुल्क यूएई दूतावास मार्फत गर्नुपर्ने व्यवस्था आएपछि करिब १४ हजार रुपैयाँसम्म पुगेको छ ।
मंसिरमा सबैभन्दा बढी साउदी अरब पुगेका छन् । साउदीमा ६ हजार ४ सय ४२ जना पुगेका छन् । त्यसपछि कतारमा ३ हजार ८ सय ६१, यूएई २ हजार ३ सय ४२ र मलेसियामा ३ हजार ४ सय ४० जना गएका छन् ।
प्रतिक्रिया 4