+
+
Shares

विराटनगरको फोहर व्यवस्थापनमा ७ बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिकाले १ पुसदेखि सुरु गरेको फोहर व्यवस्थापन विवाद बर्जु गाउँपालिका र महानगरबीचको सहमतिपछि तत्कालका लागि टरेको छ।
  • दुवै पक्षबीच दुर्गन्ध नियन्त्रण, फोहर विसर्जन केन्द्रको सडक स्तरोन्नति, त्रिपालले गाडी छोप्ने र पर्खाल निर्माण गर्ने सात बुँदे सहमति भएको छ।
  • अनुगमन समिति गठन गरी सहमतिपछि फोहर व्यवस्थापन सुरु गरिएको छ र एसियाली विकास बैंकको सहयोगमा नयाँ विसर्जन केन्द्र निर्माणका लागि पहल गर्ने सहमति भएको छ।

१० पुस, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ पुसबाट देखिएको फोहर व्यवस्थापनको सकस तत्कालका लागि टरेको छ ।

ल्यान्डफिल साइट (फोहरमैला विसर्जन केन्द्र) स्थानान्तरणको विषयलाई लिएर छिमेकी सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दा र महानगरपालिकाबीच उत्पन्न विवाद बिहीबारको सहमतिपछि तत्कालका लागि टुङ्गिएको हो ।

विराटनगर महानगरपालिकाले एक दशकदेखि विराटनगर–६ स्थित ब्रह्मपुरामा फोहर विसर्जन गर्दै आएको थियो । तर उक्त स्थानमा पनि विवाद भएपछि महानगरले १ पुसदेखि वडा नम्बर १६ दरैयामा रहेको आफ्नै स्वामित्वको जग्गामाफोहर व्यवस्थापन सुरु गरेको थियो ।

दरैयामा फोहर फाल्दा त्यसबाट निस्कने दुर्गन्धले बर्जु गाउँपालिका–२ का बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै अवरोध सुरु गरेका थिए ।

स्थानीयको अवरोधका कारण पाँच दिनदेखि विराटनगर बजार क्षेत्रको फोहर संकलन भएको थिएन । बिहीबार फोहर बोकेका गाडी स्थानीयले रोकेर आन्दोलन गरेका थिए ।

महानगरपालिकाको दरैया आसपास मानव बस्ती नभए पनि छिमेकी गाउँपालिकाका बासिन्दाले हावाका कारण  फैलिने दुर्गन्ध र केसलिया खोलामा मिसिन सक्ने प्रदूषणले स्वास्थ्यमा असर गर्ने गुनासो गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा वार्ता

स्थानीयले फोहर फाल्न अवरोध गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलमा फोहरव्यवस्थापन गर्दा दुर्गन्ध फैलन नदिने र नदीमा फोहर मिसिन नदिने सहमति भएको छ ।

वार्तामा सहभागी स्थानीय प्रतिनिधि रोशन मण्डलका अनुसार, फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन सात बुँदे सहमति भएको छ ।

उनका अनुसार फोहर विसर्जन गर्दा निस्कने दुर्गन्ध नियन्त्रण गर्न दैनिक रूपमा केमिकल प्रयोग गर्ने, दुर्गन्ध फैलने खालका फोहरलाई माटोले पुर्ने, विसर्जन केन्द्रसम्म पुग्ने सडकलाई स्तरोन्नति गरी अग्लो बनाउने, फोहर ढुवानी गर्ने गाडीहरूबाट गन्ध नआओस् भन्नका लागि अनिवार्य रूपमा त्रिपालले छोप्ने, वर्षायाममा केसलिया खोलाको पानी विसर्जन केन्द्रमा पस्न नदिन खोला किनारमा पर्खाल निर्माण गर्ने सहमति भएको छ ।

फोहर व्यवस्थापन र सहमतिको कार्यान्वयन भए–नभएको नियमित अनुगमन गर्न विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिकाका वडा नम्बर २ र ३ का अध्यक्ष र स्थानीय प्रतिनिधि रहने गरी अनुगमन समिति गठन गरेको छ ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्ने भनिएको व्यवस्थित फोहरमैला विसर्जन केन्द्र निर्माणका लागि पहल गर्ने पनि सहमति भएको छ ।

सहमितअनुसार तत्काल काम सुरु नगरे पुन: आन्दोलन सुरु गर्ने स्थानीयको चेतावनी दिएका छन् ।

विराटनगर महानगरपालिकाबाट दैनिक औसत १०५ मेट्रिक टनसम्म फोहर संकलन हुन्छ । फोहर व्यवस्थापनका लागि महानगरले नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा सगरमाथा मल्टी सर्भिसेजलाई ठेक्का दिएको छ ।

शान्तिका लागि वातावरण नेपालका व्यवस्थापक एकराज खनालका अनुसार सहमतिपछि बिहीबारबाटै फोहर व्यवस्थापन सुरु भएको छ ।

तस्वीर सौजन्य : प्रेम देवान 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?