+
+
Shares

मुकाम ज्वागल- दलका नेतादेखि जेनजीसँग बालेनले बिताए १२ घण्टा

जेनजी विद्रोहपछिको चुनावमा आफ्नो लोकप्रिय मत आउन सक्ने आकलन गर्दै बालेनले ज्वागलमा विभिन्न पार्टी नेतादेखि जेनजी युवा डाकेर आफूलाई साथ दिन दुई दिन लगातार प्रस्ताव राखे ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १० गते २१:५५

१० पुस, काठमाडौं । बालुवाटार, सिंहदरबार, बानेश्वर, बालकोट, खुमलटार, लाजिम्पाट, बुढानीलकण्ठ- पछिल्ला दुई दशक हामीले हरदिनका समाचारमा सुन्ने, पढ्नेगरेका शक्तिकेन्द्र हुन् ।

राजासहितको बहुदलीय प्रजातन्त्र र गणतन्त्रकालमा सुन्दै आएका यी ठाउँहरूको बीचमा अचानक कमलपोखरी, ज्वागलजस्ता नाम सुन्न थालिएको छ, जहाँबाट वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माणको शिलान्यास हुन थालेको छ ।

काठमाडौं मेयर बालेनले कमलपोखरीमा रवि लामिछाने भेटेको खबर सेलाउन नपाउँदै बिहीबार एकाएक ज्वागल चर्चामा आयो ।

राम्रोसँग पार्किङ स्पेस नभएको, अनि यअघि खासै चर्चामा नआएको ज्वागलस्थित कुमार बेन निवासमा बालेनले बुधबार दिनभर राजनीतिक कार्यकर्ता, अभियन्ता भेटे । बिहीबार राजनीतिक नेताहरूसँग उनको संवाद चल्यो । रास्वपा सभापति रवि लामिछानेलाई उनले त्यहीँ दोस्रोपल्ट भेटे ।

यसरी ज्वागलमा १२ घण्टा बिताएका बालेन यति बेला विभिन्न पक्षसँग सहकार्य वा एकताको बाटो हिँड्ने कि आफैं नयाँ पार्टीमार्फत् अघि बढ्ने चिन्तन र छलफलमा छन् ।

बालेनले आफू अब पार्टी राजनीतिमा सक्रिय हुने भन्दै भेटघाट थालेका हुन् । पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिमा आफूलाई उभ्याउनेगरी गृहकार्य थालेका हुन्, जसको झल्को बिहीबार ज्वालगस्थित कुमार बेनको घरमा पनि देखियो ।

जेनजीसहित विभिन्न पक्षसँग बुधबार बेलुकाबाटै थालेको भेटघाटलाई बालेनले बिहीबार पनि निरन्तरता दिए । बिहीबार दिनभर कुपण्डोलस्थित ज्वागलमा राजनीतिक चहलपहल बाक्लो बन्यो ।

यो भेटघाटको पृष्ठभूमि ७ पुससँग जोडिन्छ । त्यसदिन रवि र बालेनबीच करिब ७ घण्टा छलफल भएको थियो । बालेन र रबीबीच वान वान वान वार्ता मात्र करिब ५ घण्टा चलेको थियो ।

बालेननिकट स्रोतका अनुसार त्यसदिनको भेटपछि लामिछानेले देखाएको गतिविधिलाई लिएर बालेन आश्चर्यमा परेका थिए । सम्वादमा हुँदै नभएको विषयलाई बाहिर थपथाप पारेर भनिएको भन्दै रविसँग उनको असन्तुष्टि रह्यो ।

सुरुवाती चरणको भेटमै मिडियाबाजी धेरै गर्न खोजेको, गेटबाहिर युट्यूबरहरू बोलाइएको विषय पनि बालेनलाई चित्त नबुझेको निकट नेताहरूले भने ।

‘रास्वपाले आफूलाई पोस्टर ब्वाई बनाएर मत तान्ने खेल मात्र होकी भन्ने आशंका उहाँलाई भयो । त्यसपछि आफैँले इनिसियसन लिएर वैकल्पिक पार्टी सुरु गर्ने सोच बनाउनुभयो,’ स्रोतले भन्यो ।

रवि र बालेनबीच बिहीबारको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ । यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरूसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।

बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ । बालेन र रविको छलफलको मूख्य एजेन्डा भने आसन्न चुनावपछि आउन सक्ने बहुमत र त्यसपछि बन्न सक्ने सरकारको नेतृत्वमा केन्द्रित रह्यो ।

बालेनले समर्थन गरेको भनिएको देशविकास पार्टी, रास्वपा, कुलमानको उज्यालो नेपाल लगायत शक्तिहरूलाई एक ठाउँ ल्याउने प्रयासलाई कसले नेतृत्व दिने भन्ने बहस ज्वागलमा जारी थियो । बालेनले हर्क साम्पाङ, गोपी हमाल लगायत सबै शक्ति जोड्ने भन्दै त्यो आफूले नै पूरा गर्ने प्रष्ट गरेका छन् । रास्वपाले पहल गर्दा यी सबै जोडिन नसक्नेमा बालेन स्पष्ट देखिन्छन् ।

बालेनले आफूनिकट व्यक्तिमार्फत ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । सोही पार्टीबाट राजनीति गर्ने भन्दै उनले भेटघाटलाई तिब्रता दिन थालेका हुन् ।

बुधबारबाटै भेटघाट थालेका उनले पहिलो दिनमै जेनजी अगुवा रक्षा बम, विवेकशील नेता मिलन पाण्डे लगायतसँग वान टु वान वार्ता गरे । सँगसँगै विवेकशील कै नेता रमेश पौड्याल, युवा नेता सरोज गौतम, सुरजसिंह ठकुरी, ऋषि धमला लगायतलाई बोलाएर भेटे ।

यो सबै भेटघाट बालेननिकट कुमार बेनको निवास, ज्वागलमा भएको छ ।

आफूले भेटघाटमा बोलाएका व्यक्तिहरूलाई बालेनले आफू पार्टी राजनीतिमा आएको र त्यसको लागि सहयोग गर्न अनुरोध गरे । ‘अब म पार्टी राजनीतिमा आएँ । अब हामी सहकार्य गर्नुपर्छ । केही दिनमा यसको मोडालिटी टुङ्गिन्छ,’ बालेनलाई उदृत गर्दै स्रोतले भन्यो ।

योसँगै आफूले समानुपातिक उम्मेदवारको सूची पनि तयार पारिरहेको बालेनले भेटघाटको क्रममा बताएका छन् । यसको लागि सहकार्यको ढोका खुल्ला राख्दै सबैलाई एक हुन आह्वान गरिरहेका छन् ।

बिहीबार बिहान मात्र बालेनले करिब ११ बजे कुलमान घिसिङसँग भेटघाट गरे । वैकल्पिक राजनीतिलाई स्थापित गर्न आफूहरू सँगै रहनुपर्ने भन्ने आशयमा बालेनले कुरा गरेका थिए । यसबारे कुलमान घिसिङले भने कुनै प्रतिक्रिया दिएनन् ।

यस्ता विषयबारे निचोडमा पुगेपछि आफै बाहिर आउने प्रतिक्रिया अनलाइनखबरसँगको कुराकानी बताए । यद्यपि यसअघि नै भएको एक भेटघाटको फोटो हाल्दै कुलमानले सामाजिक सञ्जालमा लेखेका थिए, ‘देश बनाउने हकमा हामी सँगै छौँ ।’

स्रोतका अनुसार आगामी निर्वाचनमा बालेन बहुमत कसरी ल्याउन सकिन्छ र त्यसको इक्वेसन कसरी मिलाउन सकिन्छ भन्नेमा देखिन्छन् । भेटघाटका क्रममा निकटस्थसँग बालेनले भ्रष्टाचारजस्ता अभियोगले लतपतिएको मान्छे नल्याउने तर राम्रा छवि भएका व्यक्तिहरू एक हुनुको विकल्प नरहेको बताए ।

‘रवि जी नै हामीसँग आउँदा समस्या हुँदैन । भरसक सबै मिलेर जाने हो । जसरी पनि मिल्नुपर्छ,’ बालेनलाई उद्धृत गर्दै उनीसँग भेट गरेका एक नेताले भने ।

कुलमान घिसिङसँग भेटघाट गरेपछि पनि बालेन अन्य नेता र अभियान्ता भेट्न व्यस्त थिए । जो आउँथे, बालेनले भेट दिएका थिए । यसअघि खासै भेटघाट नरुचाउने बालेन यसरी सक्रिय देखिनुले अब दलीय राजनीतिमा उनको रफ्तार बढेको बुझ्न सकिन्छ ।

करिब १२ बजेको थियो, सागर ढकाल, नेपाली कांग्रेस नेता सुनील शर्मा पनि ज्वागल पुगे । त्यसअघि नै कलाकार पाँडे अनि अभियन्ता केपी खनालहरू त्यहाँ पुगिसकेका थिए । उनीहरू दिनभरजसो त्यहीँ बसे । तर डा. सुनील शर्मा भने १० मिनेटपछि त्यहाँबाट निस्किए ।

कांग्रेस नेता बालेनसँगको राजनीतिक भेटघाटमा आएको देखेपछि हाम्रो व्याङ्य मिश्रित स्वभाविक प्रश्न थियो – अब कांग्रेसबाट यता हो, डाक्टरसाब ?

अनलाइनखबरको प्रश्नमा शर्माले भने, ‘हामी त कांग्रेसमा १० वर्षपछि सभापति हुन्छौँ भनेर बसेको मान्छे हो । कहाँ पार्टी छोड्छौँ ? बरु यहाँ अहिले चाहिँ सांसद पुन:स्थापना गर्दा के हुन्छ वा हुँदैन भन्ने विषयमा हाम्रो छलफल भयो ।’

सभा १२ बजेतिर रास्वपा सभापति रवि लामिछाने पनि आइपुगे । उनीसँगै थिए, रास्वपा नेता असीम शाह पनि । लामिछाने ढिलागरी ज्वागल पुगेका थिए ।

रवि नआउँदासम्म बालेन घाम तापेर बसिरहेका थिए । वरपर थिए, सुदन गुरुङलगायतका जेनजी युवाहरू ।

रवि र बालेनले वान टु वान वार्ता थालेपछि कांग्रेस नेता सुनिल शर्मा निस्किए । यतिबेला साढे १२ भइसकेको थियो ।

भित्र रवि र बालेनबीच वार्ता लामै समय चल्यो । भित्र बाहिर वार्ता चल्दै गर्दा अन्य शुभेच्छुक र अभियान्ता र व्यवसायी पनि त्यहाँ देखिन थाले । पठाओका संस्थापक सिईओ असिममान सिंह बस्न्यात पनि वार्तास्थलमा देखिए । यतिबेला दिउँसोको साढे एक बजेको थियो ।

यसरी वार्ता चल्दै गर्दा जेनजी अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमा एउटा फन्डा गरे । उनले एउटा भिडियो पोस्टाउँदै ‘आजको वार्ता नमिलाई यहाँको ताला खोलिन्न’ भन्दै लेखे । जबकी त्यो ताला बालेनका सल्लाहकार सुनिल लम्सालले बाहिर भिड भएकाले भित्र कोही नछिरुन् भनेर लगाएको वार्तास्थलमा रहेकाहरूले बताए ।

यसबेलासम्म कुमार बेनको घरबाहिर चहलपहल बढिसकेको थियो । भित्र जेनजी अगुवा, कलाकार अनि अभियान्ताहरू हुँदा घरबाहिर मिडियाकर्मीको उपस्थिति बाक्लिसकेको थियो ।

मिडियाहरू जम्मा भएपछि कलाकार पाँडेले फिल्म ‘झरी पछिको इन्द्रेणी’को पोस्टर गेटको मुखमा राखिदिए । यसको संकेत थियो, त्यहाँ मिडियाकर्मीको उपस्थिति बालेन र उनी निकटस्थलाई मन परेको थिएन ।

तर भीड बाक्लिएपछि उनीहरूको केही सीप लागेन । बिहानपख फोटोसमेत खिच्न नदिएका उनीहरूले दिउँसो रोकेर रोकिने अवस्था थिएन ।

करिब सभा दुई बजेको थियो, पूर्वसांसद अमरेश कुमार सिंह पनि वार्तास्थलमा आइपुगे । कुनै प्रतिक्रिया नदिई मिडियाको भिड छिचोल्दै भित्र छिरे ।

सोही समयमा डिरेक्टर विशाल भण्डारी पनि वार्तास्थलमा देखिन थालेका थिए । यसअघि गुण्डुमा देखिएका भण्डारी ज्वागलमा एकाएक देखिँदा कतिपय उनको ट्रोल बनाएको दृश्य पनि यता समाजिक सञ्जालमा देखिन थालिसकेको थियो ।

करिब ३ बज्दा एकाएक वार्तास्थल बाहिर होहल्ला बढ्छ । बालेनसँग भेटघाट गरेर रवि लामिछाने निस्किएपछि मिडियाकर्मी नै चिच्याएका थिए । तर लामिछानेले कुनै प्रतिक्रिया दिन खोजेनन् । मिडियाबाट घेरिँदै भित्रको बाटो निस्किएर गाडी चडेर आफ्नो गन्तव्यतिर लाग्छन् । यसबेला मिडियाकर्मीले रविलाई सोधरहेका थिए– घण्टी बनाउने कि लौरो टेक्ने अब ?

त्यसमा एक वाक्यामा जवाफ दिएका रविले भने, ‘मेरो अनुहारमा के देखिन्छ ? बाँकी कुरा समयले बताउँछ ।’

उनका मुस्कुराहट अनुहारबाट मिडियाकर्मीले के बुझे थाहा भएन । तर रविनिकट मानिएर राजीब खत्रीले बाहिर निस्किएर प्रतिक्रिया दिए, ‘भरे फेरी भेटघाट गर्ने सर्तमा उहाँ निस्कनुभएको हो ।’

यही समयको छेकेको जेनजी अगुवा रक्षा बम, प्रदीप ज्ञवालीलगायतका जेनजी अगुवा पनि वार्तास्थलमा पुगे ।

रवि निस्किएपछि पौने चार बजेतिर रास्वपा नेता शिशिर खनाल पनि वर्तास्थलमा आए । करिब १५ मिनेटजति त्यहाँ रहेर उनी निस्किए । यो भेटघाटमा के भयो भन्नेबारे उनले खासै प्रतिक्रिया दिन चाहेनन् ।

साढे चार बजेतिर डा. अमरेश सिंह पनि वार्तास्थलबाट निस्कन्छन् । उनले विकास चाहने, भ्रष्टाचार निर्मूल पार्न चाहने शक्तिहरू मिलेर जाने विषयमा कुरा भएको बताए । ‘यो पुरानो र नयाँ शक्तिबीचको लडाईँको सुरुवात हो । अब रवि, बालेन, कुलमान, अमरेश सबै मिल्छन्, अहिलेलाई यत्ति बुझ्नु,’ उनले भने ।

यसपछि बालेनले रक्षा बमको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे । यतिबेला छलफल सकिने समयसम्म पौने पाँच भइसकेको थियो । जेनजी अगुवा युजन राजभण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि आग्रह गरे ।

‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै राजभण्डारीले अनलाइनखबरसँग भने ।

करिब साढे पाँच बजे डा. बाबुराम भट्टराई पनि बालेनसँग भेटघाट गरेर निस्किए । उनकाअनुसार बालेनले आफूहरू नयाँ शक्ति बनाएर अघि बढ्ने भन्दै बाबुरामसँग सल्लाह पनि मागेका थिए । छलफलबाट निस्किएपछि बाबुरामले भने, ‘मैले दश वर्षदेखि देखेको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ भन्ने । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको हो । विचार र एजेन्डामा सबै अब मिल्नुपर्छ, एक भएर जानुपर्छ ।’

त्यसपछि भित्र रहेका अभियान्ता खगेन्द्र सुनुवारसहितका अन्य अभियन्ता पनि क्रमश निस्कन थाले । यसपछि ज्वागल केही शान्त देखिन थाल्यो । यद्यपि, स्रोतका अनुसार बालेन, कुलमान र रविबीच अर्को चरणको वार्ता फेरी बस्ने योजना छ । त्यो वार्ता कहाँ, कहिले र कसरी बस्छ भन्ने नखुलाइए पनि दिनभरको ज्वागलको दृश्यले भन्छ – अब वैकल्पिक राजनीतिको केन्द्रमा बालेन देखिएका छन् ।

उनी यसैगरी विकल्पको केन्द्रमा रहिरहन्छन् या यो ठाउँ अरु कसैले लिनेछ भन्नेचाहिँ उनले यसपछि खेल्दैजाने भूमिकाहरूले तय गर्नेछन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?